त्रिभुवन विमानस्थलमा यती एयरलाइन्सको विमान दुर्घटना
Auto Nepal
September 2, 2018

भाद्र १७, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको जहाज दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको हो । विमान धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको छ ।
दुर्घटना लगत्तै राति पौने ९ बजेदेखि विमानस्थलमा आन्तरिक तथा वाह्य सबै उडान अवतरण ठप्प भएको थियो । दुर्घटनाका कारण विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन ।
सो क्षेत्रबाट अहिले उक्त दुर्घटनाग्रस्त विमान हटाउने प्रयास भइरहेको छ ।

विमानस्थल स्रोतले दिएको जानकारीअनुसार अबको केहि समय पछि विमानस्थल सुचारु हुने छ । विमानस्थल बन्द भएपछि काठमाडौंबाट जाने र काठमाडौं आउने यात्रुहरु अलपत्र परेका छन् ।
विराटनगर, चितवन, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका एयरपोर्टहरुमा यात्रुहरुको चाप अत्यधिक छ । उनीहरु काठमाडौंको एयरपोर्ट खुल्ने प्रतिक्षामा बसिरहेका छन् ।

नेपालगञ्जबाट शनिबार साँझ काठमाडौं आएको यती एयरलाइन्सको जेट स्ट्रीम जहाज अवतरणको क्रममा चिप्लिँदा अगाडिको पांग्रा भाँचिएको थियो । सो क्रममा पाँच जना यात्रु सामान्य घाइते भएका छन् । विमानमा २१ यात्रु थिए ।