अन्तर्राष्ट्रिय कम्पनी निशानले पूर्ण रुपमा परिक्षण नगरी मार्केटमा पठाएका डेढ लाख कार फिर्ता लिने भएको छ । कम्पनीले विज्ञप्ती सार्वजनिक गर्दै बजारमा गैसकेका डेढ लाख कार पुनः फिर्ता लिई अनुसन्धानका लागि पठाउने घोषणा गरेको हो । सन् २०१७ देखि अक्टोबर २०१८ को बीचमा उत्पादन भएका विभिन्न कारहरु चेकजाँचका लागि फिर्ता लिने विज्ञप्तीमा उल्लेख गरिएको छ । कम्पनीले संसारका विभिन्न अटो बजारबाट झन्डै डेढ लाख कार फिर्ता लिन सक्ने अनुमान लगाएको छ ।
एसेम्बली प्लान्टमा निर्माण भएका विभिन्न कारहरुको स्पीड, ब्रेक, सुरक्षा, पर्फमेन्स लगायतका प्रणालीमा राम्रो परिक्षण नभएको पाइएकाले कम्पनीले ती गाडीहरु परिक्षणका लागि फिर्ता लिन लागेको हो । उक्त समयमा बनेका निशानका लिफ, मार्च, क्युब, नोट लगायतका विभिन्न १० वटा मोडलका कारहरु कम्पनीले फिर्ता लिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ती कारहरु परिक्षण पश्चात परिक्षणमा पास भए मात्र बजारमा पुनः पठाइनेछन् भने नत्र पुन निर्माण गरिनेछन् । कम्पनीको उपाध्यक्ष सेइडी होन्दाले आर्थिक हिनामिनाको आरोप लागेका कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोसनले आफ्नो कार्यकालमा मूल्य कटौती गरी निर्यात गर्ने क्रममा परिक्षणमा त्रुटी भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । विगत केही समय देखि विविध समस्याहरु झेलिरहेको निशानलाई यो घटनाले थप समस्या जोड भएको छ ।