टोयोटा कोरोला क्रसको बिक्री शुभारम्भ
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 5, 2020

नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नेपालमा टोयोटा कोरोला क्रस एसयुभिको बिक्री वितरण प्रारम्भ गरेको छ । वर्तमान अवस्थालाई मध्यनजर राखेर कम्पनीले सो बिक्री शुभारम्भ समारोह पहिलो पटक भर्चुअल प्रविधिको सहायताले सम्पन्न गरेको छ ।
टोयोटा नेपालको औपचारिक एवं आधिकारिक फेसब्क÷इन्स्टाग्राम पेजमा उक्त समारोहको प्रत्यक्ष प्रसारण गरिएको छ ।
टोयोटा कारहरु नेपालमा अत्यन्त रुचाइएको जापनिज कार हुन् । विश्वप्रसिद्ध यस टोयोटा कारको नयाँ संस्करण क्रस एसयुभि थाइलैण्डमा निर्माण गरिएको हो । यो ४ सिलिण्डरको कार टिजिएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्य क्षमतालाई समर्थन गर्दछ । यो सिभिटि ट्रान्समिसन कार हो । यस किसिमको नयाँ ट्रान्समिसन कार भएको कारण यो क्रस एसयुभि गति छिटो लिने, न्यून उत्सर्जन पैदा गर्ने खालको छ भनें यो हलुका सवारी साधन पनि बनेको छ । कारको बाह्य बनौटमा रहेको फ्रन्ट ग्रीलले राम्रो लुक दिन्छ र यो कार कच्ची सडकहरुको लागि समेत चलाउन उपयुक्त छ । यस्तै गरी कारको सम्पूर्ण बडीमा रहेको एसेन्ट लाइनहरुले गाडीलाई आकर्षित स्वरुप दिएको छ । कोरोला क्रसमा सबैभन्दा लामो व्हीलबेस छ, जसले कारलाई खास गरेर सडकमा उच्च गतिमा दौडिरहेको समयमा अधिक स्थिरता तथा आरामदायी सवारी प्रदान गर्दछ ।
टोयोटा कोरोला क्रस एसयुभि भित्री रुपमा पनि सुविधाजनक एवं आरामदायीक छ । यसको भित्र फराकिलो स्थान छ भनें खुट्टा राख्नको लागि सुविधादायक स्थान छ । यस्तै यस कारमा रहेको मूनरुफ को सहायताले भित्र थप उज्यालो प्राप्त गर्न मद्दत पुग्नेछ ।
यो कारमा न्यून ५.२ मिटरको मोडाउन मिल्ने व्यास छ, जुन यस श्रेणीको कारहरुमा उत्कृष्ट श्रेणीको हो । कार हाँक्ने चालकलाई अधिकतम सुविस्ता प्रदान गर्नको लागि कोरोला क्रस एसयुभी नवीन टर्सन बीम सस्पेन्सनका साथ निर्माण भएको छ । यसैगरी डाइनामिक क्रुज नियन्त्रण, स्वःचालित उच्च बीम लाईट, Back Monitor, ABS का साथ EBD, Hill start Assist control, Emergency stop Signal आदि पनि यस कारका विशेषताहरु हुन् ।
कारको भर्चुअल बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै वैद्यज अर्गनाइजेशन अफ ईण्डष्ट्रिज एण्ड ट्रेडिङ्ग हाउसका अध्यक्ष सुरज वैद्यले भन्नुभयो सर्वप्रथम तः म आजको विषम परिस्थितिका बावजुद पनि अरुको सुरक्षाका लागि अहोरात्र खटिएर अग्रमोर्चामा सेवारत स्वास्थ्यकर्मीहरु, डाक्टरहरु, बैंकरहरु, सञ्चारकर्मीहरु, सेना, प्रहरी जवानहरु, व्यवसायीहरु लगायत अन्य सबैमा आभार व्यक्त गर्दै उहाँहरुको सेवाभावको नमन गर्दछु । परिस्थिति हिजोको भन्दा केही सहज बन्दै गएको छ, र यसले एकदिन अवश्य पनि नयाँ दिशाा, नयाँ गति लिनेछ भन्ने अपेक्षा हामी सबैको छ ।
यही अपेक्षाबीच हामीले अन्तर्राष्ट्रिय जगत्मा ख्याति कमाएको टोयोटा कोराला क्रस एसयुभिलाई अहिलेको परिस्थिति अनुकूल हुने गरी भर्चुअल प्रविधिका साथ यहाँहरु समक्ष प्रस्तुत गरेका छौं । सम्पूर्ण नयाँ प्रविधिको यो कारले तपाईंहरुको जीवनमा एक नयाँ गति दिनेछ भन्ने विश्वास हामीले लिएका छौं । क्रस एसयुभि सेक्सनको नयाँ मोडेल हो, जुन तपाईंको चाहना अनुकूल बनेर आएको छ ।
समारोहलाई उद्द्योषण सुरज गिरीले गरेका थिए । साथै समारोह संगीतमय बनाउन चर्चित गायक रोहित जोन क्षेत्रीले आफ्नो साँगीतिक प्रस्तुति दिनु भएको थियो । साथै टोयोटा कारोला क्रसको बारेमा कम्पनीका प्रबन्ध निर्देशक ऋतु सिंह, वैद्य र सूर्याँश वैद्यले आ–आफ्नो धारणा राख्नुभएको छ ।