चितवनका अटोमोबाइल व्यवसायीहरुले गरे खाद्यान्न वितरण
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
May 2, 2020

चितवनका अटोमोबाइल व्यवसायीहरुले जिल्लामा रहेका यातयात मजदुर, मेकानिक्स, श्रमिक लगायतलाई खाद्यान्न वितरण गरेका छन् ।

चितवन अटो मेकानिकल व्यवसायी संघ र अटोमेकानिकल वचत तथा ऋण सहकारी संस्था, नारायणढको सहकार्यमा एकसय घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष एवं चितवन चेम्बरका उपाध्यक्ष गोपाल भट्टराईले यातायात एवं अटोमोबाइल क्षेत्रमा रहेका मजदुर, मेकानिक्स, चालक, सहचालकलाई दैनिक जीवनयापन गर्न कठिन भएकोले राहत सामाग्री वितरण गरिएको बताए । ‘उनीहरुमाथि नत राज्यको आंँखा पर्यो नत स्थानीय सरकारको नै’ उनले भने, ‘काम र माम नपाएकालाई हामीले राहत वितरण गरेका हौं ।’ उनका अनुसार त्यस्ता घर परिवारलाई तीन हप्तालाई पुग्ने चामल, दाल, पिठो, चना, सोयाबिन लगायतका खाद्य सामाग्री वितरण गरिएको छ ।

खाद्यान्न वितरण कार्यक्रममा बोल्दै अटोमेकानिकल बचत तथा ऋण सहकारीका अध्यक्ष नारायणप्रसाद कँडेलले भारत र जिल्ला बाहिर घर भएर यहांँ अटोमोबाइल क्षेत्रमा काम गर्ने मजदुरलाई लक्षित गरी राहत सामाग्री वितरण गरिएको बताए । उनका अनुसार लकडाउनका कारण यातायात क्षेत्र अस्तव्यस्त रहेको र यसको टुंगो निश्चित नरहेकोले यो क्षेत्रमा आश्रितलाई राहत सामग्री वितरण गरिएको हो ।

हाल संस्थाले जिल्लामा रहेका जोकोही यातायात मजदुर, श्रमिक, मेकानिक्सलाई राहत लिन आउन आग्रह गरेको छ । राहत वितरण कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने कँडेलको भनाई छ ।

उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको ३६ वटा बस्तुगत संघले लकडाउन शुरु भए देखि नै राहत वितरण र खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए ।