चार्जिङ स्टेसन निर्माणको सम्झौता गरिँदै
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
March 2, 2021

नेपाल विद्युत् प्राधिकरण विद्युतीय सवारी साधन चार्जिङ स्टेसन निर्माणको सम्झौता गर्ने अन्तिम तयारीमा छ।
एक वर्षअघि बोलपत्र आह्वान गरेको प्राधिकरणले अबको एक हप्तामा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउने भएको छ । करिब ६० करोड रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डरको आह्वान भएको थियो ।
प्राधिकरणका विद्युतीय चार्जिङ स्टेसन परियोजना प्रबन्धक सागर ज्ञवालीले भने, “बोलपत्रको मूल्याकङ्न सकिएर सम्झौता गर्ने तयारी भएको छ, अब एक हप्तामा सम्झौता हुन्छ । ”
उनका अनुसार देशभर ५० वटा स्टेसन निर्माणका लागि १३ वटा कम्पनीले परियोजना प्रस्ताव दिएका थिए । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एउटा चार्जरको मूल्य करिब ३० लाख रुपैयाँ पर्छ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् । ५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच/पाँचवटा काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा आवश्यकता भएका स्थानहरूमा राखिनेछ ।
प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ । एकै पटकमा तीनवटा सवारी साधन चार्ज गर्न मिल्ने गरी स्टेसन निर्माण हुनेछन् । ५० वटा स्टेसनलाई विद्युत् आपूर्तिको अवस्था हेरी सञ्चालन गरिँदै जाने प्राधिकरणको योजना छ ।