एमभी अगस्टाको ४ नयाँ मोडलहरु मूल्य ५७ लाख ९० हजारसम्म
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
December 18, 2020

नेपालमा प्रिमियम स्पोर्ट्स बाइकको क्रेजलाई मध्यनजर गर्दै एमभी अगस्टा ब्रान्डको आधिकारिक वितरक भेलोसिटी प्रालिले एमभी अगस्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्र्याएको छ ।

एमभी अगस्टाले ब्रुटाले ८००आरआर, ड्रयागस्टर ८००आरआर पिरेली (लिमिटेड एडिसन), टुरिज्मो भिलभ ८०० र ड्रयागस्टर ८००आरआर अमेरिका (लिमिटेड एडिसन) नेपाली बजारमा उपलब्ध गराएको बताएको छ ।

८०० सीसी इन्जिन क्षमता भएका यी बाइकमा १४० बीएचपी पावर र ८७ एनएम टर्क रहेको छ । नेपाली बजारमा ब्रुटाले ८००आरआरको मूल्य ४८ लाख ९० हजार, ड्रयागस्टर ८००आरआर पिरेली (लिमिटेड एडिसन) को मूल्य ५९ लाख ९० हजार र ड्रयागस्टर ८००आरआर अमेरिका (लिमिटेड एडिसन) को मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ ।

त्यसैगरी टुरिज्मो भिलभ ८०० मा भएको ८०० सीसीको इन्जिनले ११० बीएचपीको पावर र ८० एनएमको टर्क जेनेरेट गर्छ । निलो र डार्क ग्रे रङमा उपलब्ध यो बाइकको मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
एमभी अगस्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाइन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ टेक्नोलोजी प्रयोग गरिएको छ । एमभी अगस्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको कम्पनीको भनाइ छ ।