एमजीको इलेक्ट्रिक कार लन्च हुने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 29, 2021

मोरिस ग्यारेजले टु डोर इलेक्ट्रिक स्पोर्ट्स कार एमजी साइबरस्टरको टिजर सार्वजनिक गरेको छ । कम्पनीको पहिलो इलेक्ट्रिक कारको रुपमा साइबरस्टरलाई आगामी मार्च ३१ मा विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

एमजीको सो इलेक्ट्रिक कारको अलग अलग भागलाई देखाइएको छ । कारको डिजाइन र लुक हेर्दा लन्चिङ पश्चात इलेक्ट्रिक कार बजारमा ठुलो प्रतिस्पर्धा गर्न सक्ने अनुमान गर्न सकिन्छ । महत्वपूर्ण फिचरले भरिएको एमजी साइबरस्टर कारमा फाइभजी कनेक्टेड फिचर उपलब्ध छ ।

स्पोर्ट्स कारको पहिचान कायम गरेको एमजी साइबरस्टर साइड बडी प्यानलमा सार्प आकर्षक लाइन दिइएको छ । कारको फ्रन्टमा स्लिम ग्रिल डिजाइन, म्याजिक आई इन्टरेक्टिभ हेडलाइट, एलईडी लाइट जस्ता विभिन्न फिचर छन् । पछिल्लो भाग च्यापिएको र अलि तल झुकेको जस्तो लाग्छ ।

एमजी साइबरस्टरको एरोडाइनामिक पर्फमेन्स राम्रो हुने बताइएको छ । यसको ह्विल कम्बाइन्ड सेन्ट्रल लकिङ सिस्टमका साथ आएको छ । हाई पर्फमेन्स मोडलमा मात्र पाइने यो फिचर साइबरस्टरमा समेत उपलब्ध गराइएको छ ।

एमजीले साइबरस्टरलाई संसारकै पहिलो प्योर सुपर कार भनेको छ । एमजी साइबरस्टरमा गेमिङ ककपिट दिइएको र डिजाइन लुकले युवा कार प्रेमीलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।