इलेक्ट्रोनिक सामाग्रीको अन्र्तराष्ट्रिय प्रदर्शनी, निक इलेक्ट्रो टेक २०१८ भृकुटीमण्डपमा
Auto Nepal
December 22, 2018

काठमाडौँ — राजधानीस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि विद्युतीय सामाग्रीको अन्तर्राष्ट्रिय स्तरको वृहत प्रदर्शनी ‘निक इलेक्ट्रो–टेक २०१८’ सुरु भएको छ । विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक तथा वाह्य व्यापारको सहजीकरण एवं प्रर्वद्धधनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजना तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तको उद्घाटनमा पुष ६ गतेदेखि सुरु भएको प्रदर्शनी पुष १० गतेसम्म चल्नेछ ।

विद्युतीय कार (बीवाईडी इसिक्स) चढेर आएका मुख्य अथिति पुनले स्थानीय व्यापारी र तिनका उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने बताए । ‘हामी हरेक सामान जाँच गरिरहन सक्दैनौं,’ उनले भने, ‘विश्वासको आधार बलियो हुनुपर्छ ।’ व्यापारी गुणस्तरीय सामग्री निर्माणमा गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रर्वद्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्ता वर्गलाई यस सम्बन्धी जानकारी गराउन सहयोग पुर्याउने कार्यक्रमको लक्ष्य रहेको आयोजकले बताएको छ ।

निक इलेक्ट्रो टेक २०१८ मा हल भित्र ५१ वटा ब्लकहरु र हल बाहिर २६ वटा स्टलहरु गरि जम्मा ७७ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबुल एवं कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ्ग, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिएको छ ।

अहिले १ खर्बको पेट्रोलियम पदार्थ, ४० अर्बको ग्याँस र १८ अर्बको विद्युत् आयात हुँदै आएकोमा विद्युत् उत्पादन र त्यसको खपत बढाउन सके उक्त आँकडा कम हुने उद्घाटन समारोहमा सहभागी विद्युत् व्यापारमा संलग्नहरूको भनाइ थियो ।

विद्यूत् व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेल, नेपाल च्याम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, प्रदर्शनीका संयोजक तथा महासंघका प्रथम उपाध्यक्ष सुदर्शन प्रसाद पौड्याल लगायत विभिन्न उद्यमी, पत्रकार तथा विश्लेषकहरुको उपस्थिति रहेको नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीको उक्त उद्घाटन समारोहमा व्यवसायीहरूले वैकल्पिक ऊर्जालाई विद्युतले प्रतिस्थापन गर्न सकिने बताएका थिए ।