आज देखि खुल्ने वर्कशप र कार्यालयहरुले नाडाको गाइडलाइन पालना गर्नुपर्ने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
May 8, 2020

यससँगै विभिन्न अटोमोबाइल क्षेत्रसँग सम्बन्धित वर्कशपहरु आज देखि खुल्ने छन् । यो अवस्थामा आफ्नो उद्योग व्यवसाय, वर्कशप, सर्भिस सेन्टर र स्पेयर पार्ट्स लगायत विभिन्न अटोमोबाइल सम्बद्ध सामग्री डेलिभरी गर्दा सुरक्षाका विधिहरु अपनाउन नाडाले अनुरोध गरेको छ ।
यसका लागि नाडाले कोरोना संक्रमणबाट बच्न आफ्नो उद्योग, व्यवसाय, पसल, वर्कशप र कार्यालयहरुमा पालना गर्नुपर्ने गाइडलाइन तयार गरेको छ । प्रथमतः आफु सुरक्षित हुने तत्पश्चात आफनो व्यवसायलाई पनि सुरक्षित गर्दे सरकारको कदमलाई पुर्णतः सहयोग गर्नु पर्ने व्यवस्था गरिएको छ ।

१. खाना, खाजा र चिया सम्भव भएसम्म घरबाटै ल्याएर खाने । सम्भव भएसम्म केक, आइसक्रिम र अण्डाको प्रयोग नगर्ने । चिया कफी खाँदा डिस्पोजेवल कपको प्रयोग गर्ने । पानीका लागि साना प्याकेज वोटलहरु मात्र प्रयोग गर्ने ।

२. पैसा, चेक, कागजपत्र लगायतका लेनदेनमा अनिवार्य रुपमा पञ्जा र सेनिटाइजरको प्रयोग गर्ने ।

३ कुनै पनि सामान वा बस्तु पञ्चा लगाएर मात्र छुने । तत्पश्चात पनि साबुन पानीले वा सेनिटाइजरले राम्रोसँग हात धुने । साबुन पानीको प्रयोग गर्दा साधारणतया २० सेकेण्डसम्म दुईवटा हात रगडेर धुने ।

४. संक्रमणबाट बच्न उच्चतम उपायको रुपमा मानिएको र ठानिएको सोसल डिस्टेन्सिङलाई कडाइकासाथ पालन गर्ने । हाच्छिउ आउदा रुमाल वा आफनो बाहुलाले नाक छोप्ने । सोसल डिस्टेन्सिङको दुरी १.५ मिटर हुनु पर्ने । कामको हरेक चरणमा सोसल डिस्टेन्सिङलाई कडाइका साथ पालन गर्ने । दुई सिटको बीचमा पर्याप्त दुरी कायम राख्ने ।

५. हरेक काममा मास्क र पञ्जा अनिवार्य रुपमा प्रयोग गर्ने । सामान छुनु अगावै र सामान गन्तव्यमा राखेपछि सेनिटाइजर प्रयोग गर्ने । सञ्चारको मुख्य साधनको रुपमा मोबाइल र कप्युटरको अधिकतम प्रयोग गर्ने ।

६. स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, ब्याट्री, एसेसरिज, टुल्स र मेसिनहरु लगायतका विभिन्न बस्तुहरु छुदा अनिवार्य रुपमा पञ्जा वा सेनिटाइजरको प्रयोग गर्ने । सकेसम्म डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने र घरमा फर्के पछि घर वाहिरको डष्टविनमा राख्ने वा जलाउने । वर्कशपहरुमा सकेसम्म एसीको प्रयोग नगर्ने र अधिकतम रुपमा भेन्टिलेसनको व्यवस्था गर्ने ।

७. सकेसम्म आफनो हातले आँखा, कान, नाक र मुख नछुने । कसैसँग पनि हात नमिलाउने र नमस्कार मात्र गर्ने ।

८. घरमा लगेको खानेकुरा वा अन्य सामानहरु तातो सावुन पानीले वा सेनिटाइजरले धुने र ४र५ घण्टा वाहिर घाममा सुकाउने । धुन र पखाल्न मिल्ने वा पकाएर खान मिल्ने खानेकुराहरु मात्र प्रयोग गर्ने ।

९. आफुले दिन भर पसल, वर्कशप र अफिसमा लगाएको लुगा घर वाहिरै राखेर धुने । सरसफाईलाई उच्च प्राथमिकता दिने ।

१० वर्कशप, पसल वा अफिसहरुमा सकेसम्म आलोपालो गरेर बस्ने । अफिसका ढोका, ह्यान्डिल, वासरुम सेनिटाइज्ड गर्ने ।

११. आफनो निजी सवारी साधनहरुलाई पनि सेनिटाइज्ड गर्ने अर्थात डिस इन्फेसनाइज्ड गर्ने ।

१२. कार्यालय, पसल र वर्कशपमा आउने ग्राहकहरुले पनि अनिवार्य रुपमा मास्क र पञ्जाको प्रयोग गरेको हुनु पर्ने । त्यस्तो व्यवस्था नगरेको ग्राहकलाई प्रवेशमा नै रोक लगाउने । गाडी वासिङ गर्ने कर्मचारीले हर समय पिपिई लगाउने ।

१३ सकेसम्म कम्तिमा ३ दिनसम्म गोदाममा स्टक राखेर मात्र स्पेयर पार्ट्स वा अन्य सामानहरु बिक्री गर्ने ।

१४. वर्कशपहरुले ढोकैबाट सेवा दिने र त्यहीबाटै आउन जान सकिने व्यवस्था मिलाउने । मेकानिक्सले विशेष सुरक्षा अपनाउने ।

१५ काममा जाने सवैले टाढैबाट प्रयोग गर्न मिल्ने इन्फ्रारेड थर्मोमिटरको प्रयोग गर्ने यदि आफनो शरीरको तापक्रम ९९ फरेनहाइट भन्दा बढी रहेछ भने घरमै बस्ने अथवा डाक्टरलाई देखाउने ।.र

१६. विक्रेता र उपभोक्ता दुवैले साथमा सेनिटाइजर राख्ने । विक्रेताहरुले र वर्कशपहरुले अगाडि ढोकामा नै सेनिटाइजर राख्ने व्यवस्था गर्ने ।