आजदेखि केरुङ नाका पुनः सञ्चालनमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
March 1, 2021

काठमाण्डौ – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका आजदेखि पुनःसञ्चालन भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका आजदेखि खुलेको हो ।

सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनः सञ्चालनमा आउन लागेको हो ।

रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुपरेको थियो ।

यसअघि रसुवा भन्सार कार्यालयको एकल प्रयास पहलबाट नाका खोल्न नसकिने जानकारी उसले माथिल्लो निकायलाई दिइसकेको थियो । परराष्ट्र मन्त्रालयले यहाँस्थित चिनियाँ दूतावास एवं बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरूमार्फत नाका खोल्न अथक प्रयास गरेको थियो ।
PHOTO: Agency