अटोमोबाइल व्यवसायीहरुले ब्याज तिर्न नसक्ने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 29, 2020

कुृष्णप्रसाद दुलाल
अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन

अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसनको सम्पन्न अनलाइन बैठकले हाल कायम रहेको लकडाउन आगामी बैशाख २५ गते पश्चात सतर्कतापूर्वक खोलिनुपर्ने र अटोमोबाइल व्यवसायीहरुलाई विभिन्न प्रकारको सहुलियत प्रदान गर्नका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको बताए ।

दुलालले भने, ‘आगामी बैशाख २५ गते पश्चात जसरी पनि लकडाउन खोल्न र बैंकको ब्याजदर, सरकारलाई तिर्नुपर्ने कर, भन्सारमा भएका गाडीहरु छुटाउने कार्य आदिमा केही सहुलियतको व्यवस्था गरी विस्तारै वर्कसपहरु पनि खोल्ने मानसिकताका साथ व्यवसाय अगाडि बढाउने गरी सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौ ।’

यो वर्ष अटोमोबाइल व्यवसायीहरुले ब्याज तिर्न नसक्ने अवस्था भएकोले ब्याजदर समेत घटाउनुपर्ने र तिर्ने समय समेत एक वर्ष सार्नुपर्ने बताए । त्यसैगरी सरकारलाई बुझाउनुपर्ने विभिन्न प्रकारको कर यही बैशाख २५ गतेसम्म तिर्ने समय बनाइएकोमा हाल त्यो सम्भव नभएकाले यसलाई समेत सार्नका लागि सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।

विभिन्न भन्सारमा गाडीहरु छुटाउन बाँकी भएको र हाल छुटाउन सकिने अवस्था समेत नभएकाले यसका लागि समेत समय बढाउन माग गरिने, अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारीलाई लकडाउनको समयको तलब पुरै दिन नसकिने अवस्था भएको र यसका लागि के गर्ने भन्ने वारेमा समेत छलफल भएको तथा सरकारी निकायसँगको समन्वयमा यसको निर्णय गरिने पनि उनले बताए ।

बैशाख २५ पश्चात विस्तारै सवारी साधनहरु पनि चल्ने र यसका लागि वर्कसपहरु समेत खुल्नु आवश्यक भएकाले यसका लागि वर्कसपमा कार्यरत कर्मचारीहरु आफै सचेततापूर्वक कार्य गर्ने मानसिकताका लागि तयार हुन समेत आग्रह गर्ने निर्णय गरिएको छ ।