Skip to content
सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेल आगामी २३ फागुन (६ मार्च)मा ‘ब्रेक थ्रु’ गरिने भएको छ ।
आयोजनाको दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको छ ।
दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग भने २३ फागुनमा ब्रेक थ्रु गर्ने तयारी गरिएको हो ।
शुक्रबारसम्मको प्रगतिअनुसार मुख्य टनेलमा अब ४५.६ मिटर खण्ड मात्रै खन्न बाँकी छ ।
दैनिक औसत चार–पाँच मिटरसम्म सुरुङ खन्न सकिन्छ । त्योअनुसार लगातार काम गरेमा दुई हप्तामै सुरुङमार्ग ब्रेक थ्रु गर्न सकिन्छ ।
तर, साइत हेराउँदा २३ फागुनमा सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्न उपयुक्त हुने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले नेपाल सरकार र जापानका उच्च अधिकारीहरूको उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रु गरिने बताए ।
ब्रेक थ्रु समारोहमा भौतिक पूर्वाधारमन्त्री, नेपालका लागि जापानी राजदूतलगायतका उच्च व्यक्तित्वहरू उपस्थित गराउने योजना छ ।
रेस्क्यु टनेलको ब्रेक थ्रु भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका थिए ।
ठेक्का प्राप्त गरेपछि जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले डिसेम्बर ०२० (पुस ०७७) देखि सुरुङ खन्न सुरु गरेको थियो ।
त्यसको तीन वर्षपछि मुख्य ब्रेक थ्रु हुन लागेको मुख्य टनेलको ब्यास ९.५ मिटर रहेको छ, जहाँ दुई लेन सडक हुनेछ ।
यसको उचाइ भने ८.३ मिटरको रहेको छ । रेस्क्यु टनेलको ब्यास भने ४.५ मिटर हुनेछ, जहाँ सिंगल लेन सडक हुनेछ ।
मुख्य टनेलमा मात्रै सवारीसाधन आवतजावत गर्न पाउनेछन् । मुख्य टनेलमा हुन सक्ने दुर्घटनाको उद्धार गर्न रेस्क्यु टनेल बनाइएको हो ।
जहाँ सुरक्षाकर्मीको गाडी, एम्बुलेन्स, वारुण यन्त्रजस्ता सवारीसाधन जान पाउनेछन् । बीच–बीचमा क्रस प्यासेज बनाएर मुख्य र रेस्क्यु टनेललाई जोडिएको छ ।
दुईपांग्रे (मोटरबाइकलगायत), पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्रक र ठूला आकारका गाडीबाहेक सबै प्रकारका सवारीसाधनलाई टनेलमा खुला गरिनेछ ।
यद्यपि, त्यसका लागि शुल्क भने तिर्नुपर्नेछ, त्यस्तो शुल्क निर्धारण गर्न अहिले आवश्यक अध्ययन भइरहेको छ ।
Post Views: 132