पुरानो बाईक किन्दै हुनुहुन्छ ? के, कसरी छनौट गर्ने ?

आजभोली बाईक तथा स्कुटर आम आवश्यकताको साधन भैसक्यो । सामान्य गुजारामुखी व्यवसाय गर्ने देखि माथिल्ला स्तरका व्यक्तिलाई समेत बाईक तथा स्कुटर नभै नहुने साधनको रुपमा देखिएको छ ।

घरमा राम्रो कार भए पनि शहरको भिडभाडलाई छिचोल्दै समय मै गन्तव्यमा पुग्ने हो भने पनि बाईक वा स्कुटरको आवश्यकता खड्किन्छ ।

त्यसैले आजभोली नयाँ मात्र नभई पुरानो बाईक वा स्कुटरको किनबेच निक्कै बढेको छ । हरेक शहर बजारमा पुराना बाईक र स्कुटर बिक्री गर्ने रिकण्डिसन हाउसहरु पनि धेरै खुलिसकेका छन् ।

पुरा समय बाईक वा स्कुटी चलाईरहन नपर्ने, केहि समय चलाईसके पछि बिक्रि गर्नुपर्दा खासै घाटा नहुने, रकमको कमि वा छिटोछरितो आवागमनका लागि आजभोली बाईक वा स्कुटीको प्रयोग बढेको हो ।

तर पुरानो साधन बेच्न चाहने र किन्न चाहने बीचको सम्पर्क थलो नहुने हुँदा रिकण्डिसन व्यवसायीहरुको कारोवार बढेको मान्न सकिन्छ ।

हुन त आजभोली विभिन्न सामाजिक सञ्जालहरुको कारणले क्रेता र बिक्रेता बीचको सम्पर्क तथा सम्बन्ध हुने वातावरण पनि बनेको छ ।

जे जसरी भए पनि पुराना त्यस्ता सवारीसाधन खरिद गर्दा भने धेरै कुरामा बिचार पुर्याउनु पर्ने हुन्छ ।

त्यसैले विभिन्न प्राविधिक, मेकानिक तथा व्यवसायीहरुको अनुभव एवं स्वयं हाम्रो आफ्नै स्वअभ्यासको आधारमा त्यस्ता पुराना बाईकहरुको चेकचाँज कसरी गर्न सकिन्छ भन्ने बिषयमा आज चर्चा गरिँदैछ ।

पुरानो बाईक चेकजाँच गर्दा निम्न कुराहरु ख्याल गर्नु जरुरी हुन आउँछ ।
ब्लु बुकको चेकिङ्ग
पुरानो बाईकको चेकजाँच गर्दा सबैभन्दा पहिला ब्लुबुकको चेक गर्नु जरुरी हुन्छ ।

ब्लुबुकमा नविकरणको मिति, कर तिरेको मिति, सवारी दर्ता नंबर, आयातको विवरण, बनेको साल आदि उल्लेख गरेको हुन्छ ।

कतिपय बाईकको दर्ता नंबर नयाँ, तर बाईक चाहिँ पुरानो पनि हुन सक्छ । त्यस्तो अवस्थामा अर्को अञ्चलको दर्ता नंबर भएको बाईकलाई सरुवासहमति (अञ्चलीकरण) गर्दा नयाँ नम्बर पाएको पनि हुन सक्छ ।

अञ्चलीकरण गर्दा नयाँ नम्बर पाईने हुनाले त्यस्ता बाईकको बनेको साल हेर्नुपर्ने हुन्छ ।

त्यसै गरी उक्त बाईक सिधै कम्पनीबाट आएको हो वा भन्सारमा लिलाम भएर आएको हो भन्ने कुरा पनि ब्लुबुकमा उल्लेख गरेको हुन्छ ।

ओडोमिटरको चेकिङ्ग
बाईकको ब्लुबुकमा सबै कुरा चित्त बुझ्दो भए पनि सामान्य भन्दा धेरै कुदेको बाईक पनि हुन सक्छ ।

त्यसको लागि बाईकको ओडोमिटर हेर्नुपर्ने हुन्छ । जसमा आजसम्म कति किलोमिटर कुदेको छ भन्ने देखाएको हुन्छ ।

कतिपयले मिटर घटाएको पनि हुनसक्छ, त्यसको लागि मिटरबक्सको चारैतिर ध्यान पुर्वक हेर्नुहोला, मिटरबक्स खोल्दा कतैतिर स्क्रयाच लागेको वा खुकुलो अवस्था देखिन सक्छ ।

त्यस्तो शंका लागेमा मिटर घटाएको हुन पनि सक्छ ।

फ्रेसनेसको चेकिङ्ग
झट्ट बाहिरबाट हेर्दा बाईक कस्तो देखिन्छ भनेर हेर्नुहोला ।

बाईकको पेट्रोल टैंकि, अगाडिको हेडलाईट बडी, सिट, साईड तथा टेल प्यानेलहरु, ईण्डिकेटरहरु आदि कुच्चिएको, खोस्रिएको, फुटेको वा भाँच्चिएको छ छैन चेक गर्नुुहोला ।

चेसिसको चेकिङ्ग
कुनै दुर्घटनामा परेको बाईक भए चेसिस बाँगिएको हुन सक्छ । बाईकलाई सिधा राखेर अगाडि र पछाडिबाट हेर्नुहोला ।

एकपटक बाँगिएको चेसिस भएको बाईक सुरक्षाको दृष्टिकोणले खतरा मानिन्छ ।

टायर तथा चेन स्प्राकेटको चेकिङ्ग
बाईकको महँगो सामान मध्ये टायर तथा चेन स्प्राकेट पनि भएकाले यसको चेक गर्न नभुल्नुहोला ।

टायर कत्तिको खिईएको वा नरम भएको छ भन्ने कुरा चेक गर्नुहोला । साथै चेनको स्प्राकेटको दाँती कत्तिको खिईएको छ भन्ने कुरा पनि चेक गर्नुहोला ।

बाईकलाई डबल स्टेण्डमा राखेर पछाडिको पाँग्रा उल्टो घुमाउँदा बढी नै आवाज आउँछ भने त्यो बिग्रेको चेन स्प्राकेट सेट हो भन्ने बुझ्न सकिन्छ ।

स्टार्ट कण्डिसनको चेकिङ्ग
बाईकको महत्वपुर्ण कुरा भनेको स्टार्ट गर्दा समस्या नहुनु पनि हो । चावी अन गरेपछि सेल्फ थिच्दा सजिलो गरि स्टार्ट भएमा त्यसको बेट्री लगायतका सिस्टम राम्रो नै छ भनेर जान्न सकिन्छ ।

शुरुमा स्टार्ट गर्दा एक्सिलिरेटर नघुमाइकन स्टार्ट गर्ने प्रयास गर्नुहोला । स्टार्ट गर्दा चावी र चावी छिराउने ठाउँ (ईग्निसन स्विच) पनि चेक गर्नुहोला ।

ईन्जिनको आवाज र अवस्थाको चेकिङ्ग
स्टार्ट गरिसकेपछि एक्सिलिरेटर घुमाउँदा कस्तो आवाज आउँछ भन्ने कुराको पनि चेक गर्नुहोला ।

ईन्जिनको नजिकै कान लगेर भित्रबाट आउने आवाजको परीक्षण गर्नुहोला । अतिरिक्त आवाज आएको खण्डमा साईलेन्सर तिर चेक गर्नुहोला ।

साईलेन्सरबाट धुवाँ पनि आउँछ र ईन्जिनमा आवाज पनि आउँछ भने ईन्जिन खोलेर बनाउनुपर्ने पनि हुन सक्छ ।

साईलेन्सरमा सेतो खालको धुवाँ आउँछ भने त्यो मोविलको र कालो धुवाँ आउँछ भने त्यो पेटोलको धुवाँ हो भनी बुझ्नु पर्दछ र त्यसै वमोजिम बाईकको चेकजाँच गर्नुपर्ने हुन्छ ।

ईन्जिन ब्लकको बाहिरी भागको पनि राम्ररी चेकजाँच गर्नुहोला ।

पहिले खोलेको हो वा होईन भन्ने पनि थाहा हुन्छ भने कतै मोविल वा अन्य तरल पदार्थ चुहिएर रसिलो भएको वा फोहर भएको छ भने पनि ईन्जिन खोलेर बनाउनुपर्ने समस्या हुन सक्छ ।

बाईक चलाएर हेर्ने
बाईकको चेकजाँचको अन्तिम काम भनेको बाईक चलाएर हेर्नु हो । बाईक चलाउँदा निम्नानुसारको कुराहरु चेक गर्नुहोला ।

पिकअप (क्लच प्लेटको अवस्था) 

बाईक चलाउँदा तान्न सक्ने क्षमताको चेक गर्नुहोला । सकेसम्म उकालो बाटो वा कच्चि बाटोमा चेक गर्दा उत्तम हुनेछ ।

ब्रेकिङ्गको अवस्था ः

ब्रेक लगाउँदा तुरुन्त लाग्छ कि लाग्दैन भन्ने कुरा चेक गर्नुहोला । अगाडि र पछाडिको ब्रेक प्याड तथा ब्रेक शुको चेक पनि गर्नुहोला ।

अतिरिक्त आवाजको परिक्षण 

बाईक चलाउँदा बाईकका अन्य पार्ट्सको अतिरिक्त आवाज आउँछ कि आउँदैन भन्ने चेक गर्नुहोला ।

हेण्डिलको चेक

बाईक चलाउँदा हेण्डिल सजिलो, सोझो हुनु जरुरी हुन्छ । हेण्डिल बाँगो वा कडा भएमा बाईक चलाउँदा दुर्घटना हुने सम्भावना बढी हुने तर्फ सचेत हुनुहोला ।

अन्तमा,
माथि उल्लेख गरिएका सबै कुराको राम्रोसँग चेकजाँच भैसकेपछि हातमा फेरी ब्लुबुक लिएर मोलमलाई गर्नुहोला ।

बाईकको सम्पुर्ण अवस्थाको चेकजाँच गरिसकेको हुनाले तपाईलाई मोलमलाई गर्न सजिलो पनि हुन आउँछ ।

पुराना बाईकको नयाँ बाईक झैं फिक्स मुल्य नहुने हुनाले पनि मोलमलाई गर्नु जरुरी हुन आउँछ ।

– शंकर शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *