साउन १ गतेदेखि बैंकको ब्याजदर घटबढ हुने

निक्षेपको ब्याजदर साउन १ गतेदेखि बैंकको वित्तीय सूचकको अवस्थाअनुसार घटबढ वा स्थिर हुने भएको छ।

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभाव हुँदा वाणिज्य नेपाल बैंकर्स संघले भद्र सहमतिमार्फत समान निक्षेपको ब्याजदर निर्धारण गर्दै आएका थिए।

अब प्रणालीमा अधिक तरलता भएकाले भद्र सहमति तोडेर वाणिज्य बैंकहरूले आफूखुसी निक्षेपको ब्याजदर निर्धारण गर्ने निर्णय गरेका हो।

संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार बैंकको सूचकको अवस्था, तरलताको पोजिसन, आगामी वर्षको व्यावसायिक योजना के कस्तो छ ?

सोही आधारमा निक्षेपको ब्याजदर निर्धारण गर्न सक्छन्। कसैको टन्नै लगानीयोग्य पुँजी (तरलता) होला, कसैलाई तरलता चाहिएको होला यसकैअनुसार अब ब्याजदर निर्धारण हुन्छ।

असारसम्ममा निक्षेपको ब्याजदर एकल अंकमै छ। यद्यपि असारसम्ममा सबैभन्दा बढी मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ।

केन्द्रीय बैंकले निक्षेपको ब्याजदर एक्कासि घटबढ गर्न नपाउने तर मासिक १० प्रतिशतको सिलिङमा रहनुपर्ने व्यवस्था गरेको छ।

यसैले अब बैंकको अवस्थाअनुसार ब्याज बढाउन परेमा अधिकतम करिब ११ प्रतिशत हाराहारी र घटाउन परेमा न्यूनतम करिब ९ प्रतिशत आसपास रहने आकलन गर्न सकिन्छ।

संघको बिहीबार बसेको २१ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगको बैठकले निक्षेपको ब्याजदर आफूखुसी थपघट गर्ने टुंगो लागेको छ।

संघका कार्यकारी निर्देशक शर्मा बैंकसँग तरलता प्रशस्त छ र कर्जाको माग पनि कम भएकाले अहिले निक्षेपको ब्याजदरलाई बैंकको अनुकूलअनुसार निर्धारण गर्ने निर्णय भएको बताउँछन्। ‘पहिला तरलता अभावमा ब्याजदर माथि जाला भनेर भद्र सहमति गर्दै आएको हो। तर अब बजारको स्थितिअनुसार आ–आफ्नो हिसाबमा समायोजन गर्ने भनिएको हो।

चौतर्फी दबाबमा होइन तथ्यांकले जे देखाउँछ सोहीअनुसार ब्याजदर निर्धारण हुन्छ,’ उनले भने, ‘तरलता कम भएकाले बढ्ला भनेर बजारमा स्थायित्व कायम गर्न पनि भद्र सहमतिबाट काम गरेका थियौं। अब यसको जरुरी रहेन।’

यसअघि खुला बजार अर्थतन्त्रमा ब्याजदरमा कार्टेलिङ भएकोमा विरोधसमेत हँुदै आएको थियो।

तर अबको निर्णयले भने यसको अन्त्य भएको छ। बैंकहरू आफ्नो अनुकूल ब्याजदरमा प्रतिस्पर्धी हुने देखिन्छन्।

राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार पछिल्लो तीन महिनाको औसत दरअनुसार कर्जाको ब्याजदर निर्धारण हुन्छ ।

यसर्थ अब साउनमा कर्जाको ब्याजदर निर्धारण वैशाख, जेट र असारको तथ्यांकअनुसार हुनेछ। यसअघिको महिना जेठमा कर्जाको ब्याजदर औसत १२.५३ प्रतिशत हाराहारीमा थियो।

यो दर अनुसार साउनमा केही न केही घट्न सक्ने बैंकर्स  संघका कार्यकारी निर्देशक शर्मा बताउँछन्। कतिले घट्ने यकिन नभए पनि करिब कर्जाको ब्याजदर औसत १२ प्रतिशत हाराहारीमा आउने उनको अनुमान छ।

पछिल्लो अवस्था हेर्दा वैशाखमा कर्जाको ब्याजदर औसत १२.६५ प्रतिशत थियो।  जेठमा  १२.५३ प्रतिशत भयो। यसबीचमा ०.१२ प्रतिशतले घट्यो। यसैको हाराहारीमा ब्याजदर घटेर कर्जाको ब्याजदर औसत १२.३५ वा १२.४ प्रतिशतको हाराहारीमा हुन सक्छ। व्यवसायीहरू भने चर्को ब्याजदरकै कारण कर्जा लिन अग्रसर नभएको गुनासो गर्दै आएका छन्।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल अब साउनमा कर्जाको ब्याज घट्दै गएपछि निजी क्षेत्रको मनोबल बढ्ने र कर्जा लिन सक्ने अवस्थामा पुग्ने अपेक्षा राख्छन्।

यतिबेला बैंकिङ प्रणालीमा अधिक तरलता छ। केही महिना अघिसम्म कतिपय बैंकको ९० प्रतिशतको सीडी रेसियो सीमा नाघेको थियो। अधिकांशको कसिलो अवस्था हुँदा कर्जा दिन सकेका थिएनन्।

बैंकमा अधिक रकम थुप्रिँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.६९ प्रतिशतमात्रै छ। खुकुलो सीडी रेसियोका कारण हाल बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी ४ खर्ब रुपैयाँ हाराहारीमा छ।

पछिल्ला हरेक दिन प्रणालीमा निक्षेप बढेको छ। पछिल्लो समय वाणिज्य बैंकमा मात्रै कुल निक्षेप ५० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। कर्जाको माग कम हुने तर तरलता बढ्ने स्थितिले राष्ट्र बैंकले पनि रिभर्स रिपोलगायतका उपकरणमार्फत प्रणालीबाट अर्बौं रुपैयाँ तानिरहेको अवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *