आयात प्रतिबन्ध र नगद मार्जिनको व्यवस्था हटे पनि वैदेशिक व्यापारमा त्यसको असर कायमै, उच्च ब्याजदरले माग बढेन
शोधनान्तर र विदेशी मुद्रा सञ्चिति सहज देखिएपछि सरकार र राष्ट्र बैंकले माघदेखि आयातमाथिको सबै किसिमका रोकथाम नीति फिर्ता लिए पनि त्यसको असर वैदेशिक व्यापारमा कायम देखिएको छ ।
भन्सार विभागको चालू आवको सात महिनाको तथ्यांकले माघमा आयात घटेको देखाएको छ ।
माघमा एक खर्ब २६ अर्ब रुपैयाँका वस्तु आयात भएका छन् । अघिल्लो महिना पुसमा आयात एक खर्ब २७ अर्ब थियो । माघको आयात चालू आर्थिक वर्षकै हालसम्मको न्यून आयात हो ।
यद्यपि, गत आर्थिक वर्षको माघमा पनि आयात अघिल्ला महिनाहरूको तुलनामा कमजोर देखिएको थियो । गत आर्थिक वर्षको माघमा एक खर्ब ४८ अर्बको वस्तु आयात भएको थियो ।
विभागका अनुसार चालू आवको पहिलो सात महिनामा नौ खर्ब १९ अर्बको वस्तु आयात भएका छन् । यो गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा २० प्रतिशतले घटेको हो ।
सरकारले गत वैशाखदेखि पुस मसान्तसम्म आयातमाथि लगाएको प्रतिबन्धले आयात खुम्चिएको हो ।
पुस मसान्तबाट लागू हुने गरी सरकारले आयातमाथिको सबैखाले प्रतिबन्ध हटाएको थियो । त्यस्तै, केन्द्रीय बैंकले पनि विलासिताका वस्तु आयातका लागि शतप्रतिशत अनिवार्य नगद मार्जिनको व्यवस्था हटाइसकेको छ । यद्यपि, उद्योग–व्यवसायमा देखापरेको मन्दीले आयात अझै बढ्न सकेको छैन ।
बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको ब्याजदर उच्च भएकाले उद्योग–व्यवसायमा मन्दी छाएको अर्थशास्त्रीहरूको टिप्पणी छ ।
आयातका लागि लामो प्रक्रिया लाग्ने भएकाले सरकारले प्रतिबन्ध खुकुलो बनाउँदैमा तत्काल आयात नबढ्ने अर्थशास्त्री पोषराज पाण्डेले बताए ।
सरकारले लिने नीतिको असर बजारमा देखिनका लागि अझै दुई–तीन महिना लाग्ने उनको भनाइ छ । उनले भने, ‘प्रतिबन्ध र नगद मार्जिनको असर अहिले पनि बजारमा कायमै छ । किनभने आयात भनेको आजको भोलि नै हुने विषय होइन । यसको असर हेर्न अझै दुई–तीन महिना पर्खिनुपर्छ ।’
त्यसबाहेक बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको ब्याजदर महँगो भइरहेको समयमा आयातलाई वृद्धि गर्न अझै समय लाग्ने देखिन्छ । ब्याजदर वृद्धिका कारण बजारमा माग बढ्न नसकेको अवस्थामा आयात तत्काल नै बढ्न नसक्ने अर्थशास्त्री पाण्डेको भनाइ छ ।
सरकारले लिएको रिभर्स पोलिसीको असर माघ महिनामा नदेखिए पनि भन्सार बिन्दुमा देखिन थालेको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए ।
आयातका लागि प्रतीतपत्र खोल्ने क्रम बढेको वा नबढेको विषयमाथि वाणिज्य बैंकहरूलाई बढी जानकारी हुने भए पनि भन्सार बिन्दुमा केही चहलपहल बढेको उनको भनाइ छ । उनले भने, ‘भन्सार नाकाहरूमा चहलपहल बढेको रिपोर्टिङ पाइरहेका छौँ । पक्कै पनि बढेको हुनुुपर्छ ।’
पछिल्लो समय प्रतीतपत्र खोल्ने क्रम बढ्न थालेको बैंकरहरूले पनि जानकारी दिएका छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सरकारले रिभर्स पोलिसी लिएयता त्यस्ता वस्तुको आयातका लागि प्रतीतपत्र खोल्ने क्रम बढेको बताए । यद्यपि, सामान्य अवस्थाजस्तो ठूलो संख्यामा नबढेको उनको भनाइ छ ।
धेरै आयात र निर्यात भएका वस्तु
मूल्यका हिसाबले सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको छ । चालू आर्थिक वर्षको सात महिनामा एक खर्ब ६९ अर्बको पेट्रोलियम आयात भएका छन् ।
त्यसमा ८४ अर्ब ६१ करोडको डिजेल, ३८ अर्ब ७३ करोडको पेट्रोल, ३३ अर्ब ३४ करोडको खाना पकाउने ग्यास र १२ अर्ब ९७ करोडको हवाई इन्धन आयात भएको छ ।
यसबीच ५३ अर्बको कच्चा खानेतेल आयात भएको छ । जसमा २६ अर्ब ४२ करोडको भटमासको कच्चा तेल, १७ अर्ब ७६ करोडको पाम कच्चा तेल र आठ अर्ब ८३ करोडको सूर्यमुखी कच्चा तेल आयात भएको छ । यस्ता कच्चा तेल नेपालका खानेतेल उद्योगहरूले प्रशोधन गरी निर्यात गर्ने प्रयोजनका लागि आयात गर्छन् ।
त्यसैले, यस्ता कच्चा तेल घट्दा निर्यातसमेत घट्ने गरेको छ ।
नेपालले निर्यात गर्ने प्रमुख वस्तु पनि खानेतेल नै हो । २२ अर्ब ४३ करोड रुपैयाँबराबरको खानेतेल निर्यात गरिएको छ ।
जसमा आठ अर्ब २७ करोडको भटमासको तेल, २३ करोड २८ लाखको सूर्यमुखी तेल र २० अर्ब ८३ करोड रुपैयाँको पाम तेल र पामोलिन निर्यात भएको छ ।
त्यस्तै, १४ अर्ब ७६ करोडको स्मार्टफोन आयात भएका छन् । तीन अर्ब ६० करोडको ल्यापटप र नोटबुक आयात भएका छन् ।
सात महिनामा १२ अर्ब ५७ करोडको सुन आयात भएका छन् ।
Post Views: 78