आठ वर्षअघि नै ठेक्का पाएर पप्पु कन्स्ट्रक्सनले बिगारेको तिनकुनेस्थित बागमती नदी जोड्ने दुईवटा आर्क ब्रिजको काम जगदेखि नै थालिएको छ ।
पप्पुले फाउन्डेसन र सबस्ट्रक्चर निर्माण गरिसके पनि पुरानो स्ट्रक्चर गुणस्तरीय नभएकाले भत्काएर पुनः बनाउन लागिएको हो ।
पुरानो ठेकेदार कम्पनीको लापरबाहीले आर्क ब्रिजको काम गुणस्तरहीन भएको पाइएपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रियाबाट सुरु गरिएको हो ।
यसअघि ०७१ मै पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएर पुल निर्माण कार्य सुरु गरेको थियो । तर, सबस्ट्रक्चर र र फाउन्डेसनको काम बिगारेपछि सरकारले पप्पुलाई काम रोक्न निर्देशन दिएको थियो ।
विभागको टोलीले गरेको अनुगमनका क्रममा ठेकेदारको लापरबाही देखिएपछि सडक विभागले ठेक्का नै तोड्यो । सडक विभाग सडक विस्तार आयोजनाअन्तर्गत नयाँ ठेक्का प्रक्रियाका लागि काम सुरु भएको हो ।
०७१ मा ठेक्का पाएको पप्पु कन्स्ट्रन्सनले पुल फाउन्डेसन र सबस्ट्रक्चरको काम सकिएको दाबी गर्दै दुई वर्षअघि माथिल्लो भागको ढलान गर्ने तयारीसमेत गरेको थियो ।
तर, जमिन र सबस्टेसनको भाग कमजोर बनाएको पाइएपछि काम रोक्न निर्देशन दिइएको थियो ।
पुरानो फाउन्डेसन नै गलत भएकाले नयाँ ठेक्काबाट काम गर्दा पुरानो स्ट्रक्चर काम नलाग्ने उपत्यका सडक विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझाले बताए ।
उनका अनुसार २४ करोड ५९ लाख ६७ हजार रुपैयाँमा वाइपी किराँतेश्वर जेभीमार्फत पुल निर्माण कार्य थालिएको हो ।
४२ महिनामा सक्ने गरी ६ महिनाअघि ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।
हाल पुरानो फाउन्डेसन र सबस्ट्रक्चर भत्काएर नयाँ बनाउने कार्य सुरु भएको ठेकेदार कम्पनीले जनाएको छ ।
‘अब समयमै काम सकिने गरी ठेक्का लगाएका छौँ,’ उनले भने, ‘४२ हप्तासम्म काम नसकिए भुक्तानी चुक्ता नगर्न निर्देशन पनि दिएका छौँ ।’
उनका अनुसार एकापट्टिको स्ट्रक्चर भने काम लाग्ने देखिएको छ । तर, अन्य स्ट्रक्चर भने काम नलाग्ने भएकाले भत्काएर फाल्नुपर्ने उनको भनाइ छ ।
तिनकुने बागमती नदीमा चार लेनको दुईवटा मात्रै पुराना पुल छन् । तर, दायाँबायाँ दुवैतर्फका आर्क ब्रिज नबन्दा पिक–आवरमा सवारी जामको सास्ती हुने गरेको छ ।
ठेकेदार कम्पनीले काम सुरु गरेर लापरबाही गरेपछि सरकारले दुई वर्षअघि नै पप्पुसँग ठेक्का तोडेको थियो । त्यसपछि पुनः ठेक्का प्रक्रिया अघि बढाइएर काम सुरु गरिएको हो ।
यसअघि ०७१ मा सडक विभागले तिनकुने र बिजुलीबजारको आर्क ब्रिज एकै समयमा निर्माण थालेको थियो । तर, बिजुलीबजारको पुलको काम करिब चार वर्षअघि नै सकिएर सञ्चालनमा आए पनि तिनकुनेको भने ठेकेदार कम्पनीको कारणले अलपत्र थियो ।
ठेकेदार कम्पनीले फाउन्डेसन र सबस्ट्रक्चरको काम गरे पनि गुणस्तरीय नभएपछि सरकारले रोकेको थियो । त्यतिवेला २१ करोड लागतमा ठेक्का लगाइएको थियो ।
Post Views: 68