नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखा, टेकुको आयोजनामा हालै काठमाण्डौंमा कम लागतमा सडक सुरक्षा सम्बन्धी गोष्ठि सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालमा पछिल्लो अवस्थामा सडक दुर्घटनामा भएको वृद्धि प्रति सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औंल्याइएको थियो ।
दुइपाँग्रे सवारीसाधन चलाउनेले हेलमेट र चारपाँग्रे सवारीसाधन चलाउनेले सिटवेल्टको प्रयोग अनिवार्य गर्नुपर्ने बताउँदै हेलमेटको गुणस्तरमा पनि ध्यान दिनुुपर्ने बताइएको छ ।
निम्न गुणस्तरको हेलमेटको प्रयोगले दुर्घटनामा घाइतेको बच्ने चान्सेस कम देखिएको कार्यक्रममा औंल्याइएको थियो । त्यसैगरी तीब्र गती र मादक पदार्थ सेवन गरी सवारी चलाउनु पनि दुर्घटनाको प्रमुख कारण भएको बताइएको थियो ।
यसका अलावा डाइभिङ्ग लाइसेन्स वितरण प्रणाली, प्राविधिक रुपमा कमसल गुणस्तरका हेलमेट तथा सवारीसाधनको आयात, जनचेतनाको कमि लगायतका कारणले दिनानुदिन सडक दुर्घटनामा वृद्धि भइरहेको बताइएको छ ।
सडकको खराब अवस्था, सडक चिन्ह तथा माकिङ्ग स्पष्ट नहुनु, तराइ क्षेत्रमा हुस्सु लगायतक कारणले पनि सडक दुर्घटनामा वृद्धि भएको औंल्याइएको थियो ।
नेपालमा सँचालित अधिकाँश डाइभिग सेन्टरहरुमा सवारीसाधन चलाउन सिकाउँदा देखि नै सवारीसाधन चलाउने सँगसँगै सडक सुरक्षा सम्बन्धी ज्ञान दिनुपर्ने बताइएको थियो ।
कार्यक्रममा प्राध्यापक भगवती सेडाईले कम लागत प्रणालीमा सडक सुरक्षा सम्वन्धी कार्यपत्र प्र्रस्तुत गर्नुभएको थियो भने नासाका कार्यकारी निर्देशक गोविन्द भटराईले सम्वन्धित बिषयमा आफ्ना अनुभव र भावी योजना प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठिमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, उपत्यका ट्राफिक प्रमुख, वरिष्ठ चिकित्सक, विज्ञ तथा सँचारकर्मिहरुको सहभागिता रहेको थियो ।