हाल नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसार युरो–३ मापदण्डका इन्जिन भएका सवारीसाधन सञ्चालनमा छन् । तर, इन्धन (डिजल) भने युरो–६ मापदण्डको छ ।
सरकारले ०७७ मै सवारीसाधनमा युरो–६ मापदण्ड इन्जिन लागू गर्न खोजेको थियो । त्यतिखेर कोभिडका कारण भन्दै निर्णय हुन सकेको थिएन ।
सरकारले ०६९ मा सवारी प्रदूषण मापदण्ड लागू गरेर त्यसको दुई वर्षमै युरो–४ मा जाने उल्लेख गरेको थियो । तर, त्यो निर्णय कार्यान्वयन भएन ।
यसअघि मोटरसाइकल तथा स्कुटर र कार आयातमा युरो–६ र कमर्सियल सवारीमा युरो–४ मापदण्ड लागू गर्ने भनिएपछि पछिल्लोपटक सरकारले सबै सवारीसाधनलाई युरो–६ मा लैजाने तयारी गरेको हो ।
वन तथा वातावरण मन्त्रालयलाई सवारीसाधनमा युरो–६ मापदण्डको इन्जिन लागू गर्नेसम्बन्धी निर्णय गर्न हम्मेहम्मे परेको छ । दुई वर्षअघि नै सरकारले सवारीसाधनमा युरो–६ मापदण्ड इन्जिन लागू गर्न खोजे पनि कोभिड– १९ लाई कारण देखाएर यथास्थितिमा राखिएको थियो ।
पछिल्लोपटक निवर्तमान वन तथा वातावरणमन्त्री प्रदीप यादवले युरो–६ मापदण्ड लागू गर्न मन्त्रिपरिषद्मा फाइल लैजाने खोजेका थिए । तर, वन मन्त्रालयभित्रकै असहयोगका कारण उनले निर्णय गराउन सकेनन् ।
वन मन्त्रालयका एक उपसचिवका अनुुसार सबै प्रकारका सवारीसाधनमा युरो–६ मापदण्ड लागू गर्ने गरी प्रस्तावका लागि यातायात मन्त्रालय र अर्थ मन्त्रालयको राय मागिएको छ ।
‘प्रक्रियाका कारण केही ढिलो भएको हो, अब उताबाट राय आएपछि प्रस्ताव मन्त्रिपरिषद्मा जान्छ,’ उनले भने, ‘युरो–६ मा जाँदा इन्जिन महँगो हुन्छ भनियो । मुस्किलले दुई लाख महँगो हुने रहेछ । प्रदूषणका कारण हुने क्यान्सरले मान्छे मरिरहेका छन् । तर, इन्जिन महँगो हुन्छ भनेर किन युरो–६ लागू नगर्ने ?’
भारतमा हाल बिएस ६ (युरो–६ सरह)का सवारी उत्पादन तथा दर्ता गर्न पाइने व्यवस्था छ । काठमाडौं उपत्यकामा वायु प्रदूषणको कारकमा सवारीसाधनको भूमिका ३० प्रतिशत रहेको वातावरण विभागको ०७० को अध्ययनले देखाएको थियो ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीबाट कार्बन–मोनोअक्साइड, हाइड्रोकार्बनजस्ता हानिकारक धुवाँ निस्कन्छ । युरो–३ भन्दा युरो–४ तथा त्यसभन्दा पनि युरो–६ का सवारीले प्रदूषण कम गर्ने गरेको विज्ञहरू बताउँछन् ।
काठमाडौंको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डभन्दा १० गुणा बढी छ । डब्लुएचओले पिएम–२.५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौंमा यो मात्रा ५०.९ पुग्छ ।