नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसार ठूला तथा सार्वजनिक सवारीले ६–६ महिनामा तथा साना तथा मझौला साधनले एक वर्षमा एकपटक सवारीको प्राविधिक जाँच गराउँदा प्रदूषण जाँच पनि गराउनुपर्छ ।
परीक्षण पास नभए रुट इजाजत निलम्बन, सवारी गुडाउन नपाउने, आवश्यक मर्मत–सम्भारपछि पुनः प्रदूषण चेकजाँचका लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने व्यवस्था छ ।
सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । वायु प्रदुषण नियन्त्रणको उदेश्यले सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा कडाई गर्न थालेको हो ।
वातावरण विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार १ पुसबाट विभागले छड्के जाँच गरी कारबाही गर्न लागेको हो । छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदूषण फ्याँकेको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना गरिने उनले बताए ।
वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने र सवारी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था छ ।
प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन् । ‘अहिले पनि छड्के जाँच भइरहेको छ । तर, जरिवाना गरेका छैनौँ । सवारीको प्रदूषण जाँचपास गराएपछि ब्लुबुक दिने गरेका छौँ,’ उनले भने, ‘१ पुसबाट भने हामी जरिवाना गर्छाैँ ।
पहिलोपटक पाँच हजार र पटक–पटक गरी एक लाखसम्म जरिवाना हुनेछ ।’ छड्के जाँचको क्रममा कैयौँ सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएपछि वातावरण विभागले मंसिर मसान्तभित्र सवारी मर्मत गरेर दुरुस्त राख्न यसअघि नै निर्देशन दिएको थियो ।
काठमाडौंमा सवारी प्रदूषण कार्यालय थप दुईवटा स्थापना गर्ने लक्ष्य ०७६ मै लिइए पनि कार्यान्वायन गरिएको छैन । मन्त्रिपरिषद्बाट स्वीकृत भएको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना ०७६ ले एक वर्षभित्र कम्तीमा पाँचवटा सवारी प्रदूषण मापन केन्द्र स्थापना गरी सञ्चालन गर्ने लक्ष्य लिए पनि कार्यान्वयन भएको छैन ।
कार्यान्वयन गर्ने निकाय यातायात व्यवस्था विभाग भनिएको छ, तर विभागका सूचना अधिकारी पनेरूले अनभिज्ञता जनाए ।
विभागले कारबाहीको चेतावनी दिएसँगै सरकारी, सार्वजनिक र निजी सवारीसाधनधनी सवारी जाँचपासका लागि यातायात कार्यालय धाउन थालेका छन् ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूका अनुसार सवारी जाँचपास नियमित काम भए पनि वातावरण विभागको सूचनापछि थपिएका छन् ।
काठमाडौं उपत्यकामा यातायात व्यवस्था कार्यालय, एकान्तकुना ठूलो भर्याङ र सल्लाघारी (भक्तपुर)मा सवारीको प्रदूषण जाँचपास हुनुका साथै हरियो स्टिकर दिइन्छ ।
सवारीसाधन प्रदूषण जाँचका लागि टेकुमा केन्द्रीय कार्यालय रहेको छ ।
जस मातहत हेटौँडा, इटहरी, बुटवल र अत्तरियामा कार्यालय छन् । त्यसबाहेक देशभर रहेका यातायातका प्रदेश कार्यालयमा पनि सवारी प्रदूषण जाँच हुने गरेको पनेरूले बताए ।
पेट्रोल तथा ग्यासबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँको मात्रा ग्यास एनालाइजरमार्फत नापिन्छ, सवारीसाधनमा धुवाँको मात्रा हजार पिपिएम र कार्बन–मनोअक्साइडको मात्रा तीन प्रतिशत हुनुपर्ने मापदण्ड छ ।
डिजेलबाट चल्ने सवारीसाधनले फाल्ने धुवाँ जाँच ‘डिजेल स्मोक मिटर’मार्फत गरिन्छ, यसमा धुवाँको मात्रा २.४४ एचएसयु हुनुपर्ने मापदण्ड छ ।
Post Views: 175