बिस्तारै गाडी रोक्दा दुर्घटना हुँदैन 

विश्वव्यापी रूपमा वस्तुको भाउ बढ्यो । पेट्रोलियम, खानेतेल, प्लास्टिक, धातुलगायत अधिक आयात हुने वस्तुको मूल्य दोब्बर हाराहारी नै भएपछि नेपालको आयात परिमाण धेरै भयो । त्यसले भुक्तानी सन्तुलनमा असर गर्‍यो । नेपालमा रेमिट्यान्स आय अपेक्षित हुन सकेन । कोभिडका कारण पर्यटन आय पनि घट्यो । निकासी फितलो नै छ । यस्ता कारणले हाम्रो शोधनान्तर घाटामा गयो । भुक्तानी सन्तुलन मिलाउन राज्यले आयातलाई बन्देज गर्ने तथा निरुत्साहित गर्ने नीति लियो । यो स्वाभाविक पनि हो ।

महँगी बढेपछि उपभोक्ताको खर्च बढ्यो अनि बचत कम भयो । बचत नभएपछि बैंकमा पनि पैसा कम भयो । डिपोजिट पनि बढेन र जनतासँग बचत पनि भएन । उपभोक्ताको खर्च गर्ने क्षमता कम भएपछि स्वाभाविक रूपमा माग घट्यो । यही परिस्थितिमा केन्द्रीय बैंकले मुद्रास्फीति कम गर्न ब्याजदर वृद्धिको नीति लियो । त्यसले झन् माग घटायो ।

अर्थतन्त्रमा मन्दी छाएका वेलासमेत अर्थ मन्त्रालयले राजस्वको टार्गेट पुर्‍याउन निर्देशन दिन्छ । उद्योग व्यापार नै नभए कसरी टार्गेट पुग्छ ? राष्ट्र बैंक पनि आफ्नो मौद्रिक नीतितिरै बढी ध्यान दिन्छ । वित्त नीतिमा उसले खास ध्यान दिएको छैन । अर्थतन्त्रमा देखिएको समस्या समाधानमा गम्भीरता देखिएको छैन

कोभिडपछि केन्द्रीय बैंकले लिएको नीतिले बजारमा तरलता अधिक भयो, ब्याजदर ६–७ प्रतिशतमा झर्‍यो, पैसा सस्तो भयो, अनि सस्तो पैसा उपयोग गरेर सेयर तथा घरजग्गामा समेत लगानी भयो । तर, पछिल्लो समय सेयर र घरजग्गामा समेत मन्दी छाएपछि प्रणालीमा पैसा फिर्ता आउन सकेन । जसको असर पनि तरलता र ब्याजदरदेखि वस्तु तथा सेवाको मागसम्म जोडिन पुग्यो । समग्रमा भन्नुपर्दा विभिन्न कारणले माग घट्यो र त्यसले गर्दा उद्योग व्यवसायमा मन्दी छायो, जुन राम्रो होइन ।

यी सबै परिस्थितिको पछाडि हाम्रो नीति, अझ भनौँ मौद्रिक नीतिको बढी भूमिका रहेको मेरो विश्लेषण छ । तपाईं ११० को स्पिडमा गाडी चलाइरहनुभएको छ भने एक्कासि झ्याप्प ब्रेक लगाएर गाडी रोक्न खोज्दा दुर्घटना निम्तिन्छ । बिस्तारै गियर डाउन गरी न्युट्रलमा ल्याएर गाडी रोक्दा दुर्घटना हुँदैन । मैले भन्न खोजेको कोभिडपछिको अर्थतन्त्र पुनरुत्थानका लागि राष्ट्र बैंकले विभिन्न सुविधा दिएर जुनखाले खुकुलो नीति अवलम्बन गरेको थियो, त्यसलाई एकैपटक रोक्न हुँदैनथ्यो । बिस्तारै–बिस्तारै क्रमशः सुविधाहरू कटौती गरेको भए पनि यो समस्या सिर्जना हँुदैनथ्यो जस्तो लाग्छ । खुकुलो नीतिबाट एकैपटक कसिलो नीति लिँदा अर्थतन्त्रमा समस्या आएको मेरो आफ्नो बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *