पशुपति मुरारका, पूर्वअध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
निर्माणजन्य उद्योगको अहिलेको समस्या भनेको माग नहुनु नै हो । निर्माण सामग्रीको पहिलो र ठूलो खरिदकर्ता सरकार हो । अघिल्लो वर्षदेखि नै नेपालको विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि सरकारले आयात निरुत्साहनको नीति लियो । त्यसले पैसाको अभाव छ भन्ने पनि बुझियो ।
त्यसपछि गाडी, मदिरालगायत लक्जरी वस्तुको आयात रोकियो । बढी राजस्व तिर्ने यस्ता वस्तुको आयात रोकिएपछि राज्यको राजस्व गुम्यो । चालू आर्थिक वर्षको तीन महिनामा सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन, राजस्व संकलन गएको वर्षको सोही अवधिको तुलनामा अझ घटेको छ । आन्तरिक राजस्वबाट साधारण खर्च मात्रै धान्ने हो । यस्तो अवस्थामा विकास निर्माणका कार्य अघि बढ्ने कुरा भएन । निर्माणका नयाँ टेन्डरहरू आएनन् । यस्तै, दोस्रो खरिदकर्ता भनेका तपाईं–हामीजस्ता आमउपभोक्ता हुन् ।
जनताले आफूसँग भएको पैसाले भन्दा पनि बैंक तथा वित्तीय संस्थासँग कर्जा लिएरै घर बनाउँछन् । विगत ७–८ महिनादेखि कुनै पनि बैंकले यस्तो कर्जा प्रवाह गर्न सकेका छैनन् । आमजनताले पनि घर बनाउन सकेका छैनन् । यसर्थ, निर्माणजन्य सामग्रीको माग नै छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले माग घटेको छ । माग नभएपछि सिमेन्ट, डन्डी बनाएर राख्ने कुरा भएन । अहिलेको अवस्था यही हो ।
मैले समग्र उद्योगको कुरा गरेको हुँ । अहिले निजी क्षेत्रमा १५ ओटा क्लिंकरसमेत उत्पादन गर्ने सिमेन्ट उद्योग छन् । असार मसान्तपछि आजको दिनसम्म हेर्दा यसबीचमा १५ ओटा उद्योग एकैपटक चलेका छैनन् । औसत तीनओटा उद्योगजति मात्रै चलेका छन् । स्टिल उद्योगको पनि अवस्था उस्तै हो ।