सवारीसाधनको स्वास्थ्य तथा प्राविधिक जाँच एक अत्यावश्यक काम हो । विश्वलाई प्रदुषणले चरम असर पारिरहेको अवस्थामा सवारीसाधनले निकाल्ने कार्वनडाइअक्साइड पनि एक प्रमुख कारण हो ।
यसको साथसाथै सवारीसाधनको दुर्घटना पनि विश्वको एक प्रमुख समस्या हो ।
प्राविधिक रुपमा सवारीसाधनको अवस्था ठीक नभएमा दुर्घटना हुने सम्भावना अत्याधिक हुन्छ । यो समस्यामा कमि ल्याउनका लागि सवारीसाधनको प्राविधिक अवस्था चुस्तदुरुष्त हुनु जरुरी छ ।
त्यसैले यसका लागि विश्वका प्रायः सबै मुलुकहरुले सवारीसाधन चेकचाँज गर्ने थलो बनाएका हुन्छन् ।
नेपालमा पनि काठमाण्डौंको टेकुमा ९ बर्ष अघि यातायात व्यवस्था विभागले सवारीसाधनको फिटनेस सेन्टर स्थापना गरेर मेसिन ल्याइसकेता पनि प्राविधिकको अभावले सँचालन हुन सकेको छैन ।
नयाँ तथा पुराना सवारीसाधनको प्राविधिक चेकजाँज गरी त्यसको प्रमाणिकरण गर्ने काम त्यस कार्यालयले गर्ने गर्दछ ।
पुराना सार्वजनिक सवारीसाधनको लागि अनिवार्य गरिएको त्यस्ता चेकजाँचहरुमा सवारीसाधनको प्रदुषण चेक, पाँग्राको अलाइनमेन्ट चेक, लाइटहरुको चेक, बे्रकको चेक लगायतका चेकजाँचहरु गरिने कार्यालयका प्रमुख मनिराम भुसालले बताए ।
पटक पटक कार्यालयले सरकारसँग दक्ष प्राविधिको माग गरेता पनि हालसम्म आवश्य सुनुवाई नभएको कार्यालय प्रमुख भुसालले अटोनेपाललाई जानकारी गराए ।
नयाँ सवारीसाधनहरु आयात गर्ने आयातकर्ताहरुले पनि हरेक सवारीसाधनहरुको प्राविधिक चेकजाँच गरेर मात्र बिक्रि वितरण गर्न पाउने व्यवस्था छ । जसका लागि त्यसको सबै चेकजाँच पनि त्यसै कार्यालयले गर्नुपर्नेमा प्राविधिक कर्मचारीको अभावले काम हुन नसकेको कार्यालय प्रमुख भुसालले बताए ।
दुइपाँग्रे र चारपाँग्रे सवारीसाधनको पावर, पिकअप, स्पिड लगायतको चेकजाँच गर्ने दुइवटा छुट्टाछुट्टै मेसिन राखिएको छ ।