चार्जिङ स्टेशन पनि बन्न थालेका छन्

उमेश श्रेष्ठ, पूर्वअध्यक्ष
नेपाल विद्युतीय परिवहन संघ

पेट्रोलियम पदार्थको मूल्य बढेकै कारण विद्युतीय सवारीसाधनमा आकर्षण बढेको बताए । ‘विद्युतीय सवारी साधनको सञ्चालन खर्च पेट्रोलियम सवारी साधनको भन्दा धेरै कम हुन्छ । त्यसमाथि पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्दा सञ्चालन खर्च झन् बढेको छ,’ उनले भने, ‘त्यसपछि पेट्रोलिय सवारी साधनभन्दा कम लागतमा सञ्चालन गर्न सकिने विद्युतीय सवारी साधनमा सर्वसाधारणको आकर्षण बढेको छ ।’

यस्तै, पछिल्लो समय नेपालमा विद्युत्को आपूर्ति बढ्दै गएको छ । विद्युतीय सवारी साधनलाई आवश्यक पर्ने चार्जिङ स्टेसन पनि बन्न थालेका छन् । यसका साथै नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले पनि विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिँदै आएका छन् । सरकारले ०२५ सम्ममा २५ प्रतिशतको अनुपातमा निजी र २० प्रतिशतको अनुपातमा पब्लिक विद्युतीय सवारी साधन सञ्चालन गर्ने लक्ष्य लिएको छ । यस्ता कारण पछिल्लो समय विद्युतीय सवारी साधनमा आकर्षण बढेको श्रेष्ठको भनाइ छ ।

यद्यपि, सार्वजनिक यातायातमा अझै विद्युतीय सवारी साधनको आकर्षण नभएको उनले बताए । ‘निजीभन्दा पनि पब्लिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढाउँदा अर्थतन्त्र, विद्युत् खपत र प्रदूषण रोक्नमा बढी फाइदा पुग्छ । तर, तरलता अभाव, महँगो भन्सार शुल्क लगायतका कारण त्यसमा अझै विकास हुन सकेको छैन,’ उनले भने, ‘लगानी तथा भन्सार शुल्कमा सरकारले सहुलियत दिएमा सार्वजनिक यातायातमा पनि तत्काल विद्युतीय सवारी साधन प्रयोगमा ल्याउन सकिन्छ ।’ अहिले तरलता अभाव र बैंकहरूको कडा मापदण्डका कारण सार्वजनिक विद्युतीय गाडीका लागि कर्जा पाउन गाह्रो भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *