कसरी खोज्ने र कसरी रोज्ने ?
आजभोली नयाँ कार जस्तै पुराना कारहरुको पनि खरिदबिक्री बढिरहेको छ । कार चढ्ने सपना कस्को पो नहोला र? रकम कम हुने, कार चलाउन राम्रोसँग हात नबसेकाहरु वा पुन बिक्रीमा खासै घाटा नभएकाले पनि पुराना कारहरुको माग बढ्दै गईरहेको पाईन्छ । तर यस्ता पुराना कार खरिद गर्दा भने निक्कै चनाखो हुनु जरुरी हुन्छ । कतिपय पुराना कारहरु ठुला दुर्घटनामा परेका, ईन्जिनमा खराबी भएका वा अन्य ठुला खर्च लाग्ने गरि बिग्रिएका पनि हुन सक्छन् । अथवा तपाईमा कार सम्बन्धि ज्ञानको कमिका कारण महंगोमा पनि पर्न सक्नुहुन्छ । त्यसैले पुराना कारहरु किन्दै हुनुहुन्छ भने निम्न वमोजिमका उपायहरु अपनाउन सकिन्छ । जसका कारण पुरानो भए पनि राम्रो र सस्तो कार पाउन सकिन्छ ।
कस्तो कार लिने ?
सबैभन्दा पहिले तपाईले यो निक्र्योल गर्नुस कि तपाईको आवश्यकता कस्तो कारको हो ? साना ह्याचव्याक कार, केहि ठुला फ्यामिली कार (एसयुभी) वा अन्य लग्जरीयस प्रिमियम कार मध्ये तपाईको आवश्यकता वा रोजाई कुन हो त्यो निर्णय पहिला गर्नुस् ।
कति बजेटको लिने ?
पुरानो कार किन्दा तपाईसँग कति बजेट छ सोहि अनुसारका कारहरु पाउन सक्नुहुन्छ । जस्तो कि तपाईसँग १५ लाख रुपैंया बजेट छ भने त्यहि बजेटमा सबै प्रकारका कारहरु पाउन सक्नुहुन्छ । तर फरक के हुन्छ भने साना ह्याचब्याक कारहरु केहि बर्ष मात्र पुराना पाउनुहुन्छ भने प्रिमियम कारहरु धेरै नै पुराना स्तरका पाउनुहुनेछ ।
खोजी कार्य
तपाईले कस्तो कार र कति बजेटको कार चाहनुभएको भन्ने कुरा निक्र्यौल गरिसकेपछि अब पुराना कारहरुको खोजी गर्नुपर्ने महत्वपुर्ण काम हुन्छ ।
आजभोलीको सबैभन्दा सहज माध्यम भनेको सामाजिक संजाल नै हो । त्यसमा पनि फेसबुकबाटै तपाईले आफ्नो रोजाईको कार खोज्न सक्नुहुन्छ । फेसबुकमा पुराना कारहरु खरिदबिक्री गर्ने गरी खोलिएका थुप्रै ग्रुुपहरु छन् । त्यहाँबाट सजिलै खोज्न सक्नुहुन्छ ।
कार खोज्दा यो पनि ख्याल गर्नुहोस कि तपाई रिसेल भ्यालु भएको कार चाहनुहुन्छ कि आरामदायि र किफायती कार चाहनुहुन्छ भन्ने कुरा पनि ध्यान दिनुहोला । रिसेल भ्यालु भएका वा भनौं अत्याधिक माग भएका कार भन्दैमा ती सबै कारहरु सुविधा वा प्राविधिक हिसाबले राम्रै हुन्छन् भन्ने हुन्नन् । टेन्ड (लहड) को कारणले पनि कुनै कुनै कारहरुको अत्याधिक माग भएको देखिन्छ । एउटा सामान्य कारमा हुनुपर्ने फिचरहरु नहुन पनि सक्छन् त्यस्ता कारहरुमा ।
तपाईंमा कार सम्बन्धि ज्ञान कम छ भने पहिला थुप्रै ग्रुप र पोस्टहरुको अध्ययन गर्नुहोस् । कारको बनेको साल (जसलाई सामान्य बोलीचालीको भाषामा मोडेल पनि भनिन्छ), त्यसको ब्राण्ड, बनाउने कम्पनी वा गुडेको दुरी आदि कुराहरुको आधारमा तपाईले कारको मुल्याँकनको भेउ पाईहाल्नुहुन्छ ।
लिस्ट बनाउनुहोस्
थुप्रै पोस्टहरुको अध्ययन गरिकेपछि त्यसमध्ये तुलनात्मक रुपमा आफुलाई मन पर्ने केहि कारहरुको लिस्ट तयार पार्नुहोस् ।
सम्पर्क गर्नुहोस्
तपाईंले बनाएको लिस्ट अनुसारका कार मालिकहरुलाई म्यासेन्जर, वाट्सएप, भाईवर वा फोन गरेर सम्पर्क गर्नुहोस् । सम्पर्क गर्दा केहि हदसम्म उनिहरुको व्यक्तिगत प्रोफाईलको पनि जानकारी लिनुहोला । किनकि कार चलाउने व्यक्तिको पेशा, व्यवसाय र उसको गतिविधि अनुसार कारको प्रयोग र रखरखाव भएको पनि हुन्छ । जस्तो कि डाक्टरले चलाएको कारको कण्डिसन प्राय राम्रो हुन्छ भने ईन्जिनियरले चलाएको कारको कण्डिसन केहि नराम्रो पनि हुन सक्छ । व्यवसायमा पनि पसल सँचालकले चलाएको कार केहि राम्रो हुनसक्छ भने निर्माण व्यवसायीले चलाएको कार केहि नराम्रो हुनसक्छ । यो समान रुपमा सबैमा लागु हुने कुरा त होईन तथापी अधिकाँशमा लागु हुनसक्दछ ।
साथसाथै कार बेच्नुपर्नाको कारण पनि जान्ने प्रयास गर्नुहोस् । कसैकसैलाई बैंकको ऋणको कारणले पनि कार बेच्नुपरेको हुन सक्छ । कसैलाई अन्य व्यावहारिक समस्याले कार बेच्नुपरेको हुनसक्छ भने कसैकसैलाई सोखको कारणले नयाँ कार किन्नको लागि पनि पुरानो कार बेच्न लागेको हुन सक्छ । जसलाई जति धेरै समस्या छ उसले अरुले भन्दा सस्तोमा कार बेच्न सक्नेतर्फ तपाईंको ध्यान जानुपर्दछ ।
कार हेर्नुहोस्
कारमालिकहरुलाई सम्पर्क गरिसकेपछि अब कार हेर्न जानुस् । सकेसम्म कार सम्बन्धि ज्ञान भएको आफ्नो विश्वासिलो साथी, आफन्त वा नजिकको मान्छेलाई लिएर जानुहोला । धेरैजसोले कारको वर्कशपको मेकानिकलाई लिएर पनि गएका हुन्छन् । तपाई पनि कोहि विश्वासिलो मेकानिक भए लिएर जान सक्नुहुन्छ । तर कतिपय मेकानिकले कारमालिकसँग कमिशन खाने लोभमा तपाईलाई फसाउन पनि सक्छन् भन्ने तर्फ भने होसियार हुनुपर्दछ ।
कार हेर्दा ध्यान दिनुपर्ने कुराहरु
कार हेर्न जाँदा सबैभन्दा पहिला कारको बाहिरी बनावटमा ध्यान दिनुहोला । पेन्ट ओरिजिनल हो वा पछि पेन्ट गरेको भन्ने कुरा हेर्नुहोला । पछि पेन्ट गरेको पाउनुभयो भने किन पेन्ट गरेको भन्ने जानकारी लिनुहोला । किनकी कतिपयले सामान्य स्त्र्रmयाचमा पनि पेन्ट गरेका हुन्छन् भने कतिपयले कुनै ठुलै दुर्घटना भएकोले मर्मट पछि पेन्ट गरेको हुनसक्छन् । मुल्य मिल्छ भने दुर्घटना भएको भन्दैमा पनि कार किन्नै हुन्न भन्ने हुँदैन । किनकी त्यसको राम्रो वर्कशप वा सर्भिस सेन्टरमा राम्रोसँग मर्मत गरेको भएमा खासै फरक पर्दैन । तर धेरैले पछि गराईने मर्मतमा खर्च कम लाग्ने गरी कमसल रुपमा काम गराउने भएकाले यसमा ख्याल गर्नुपर्ने देखिन्छ ।
बाहिरी बनावट हेर्दा कारको शिशा पनि हेर्नुहोला । किनकी शिशामा शिशा बनेको साल लेखिएको हुन्छ । शिशा बनेको साल र कार बनेको साल समान छ भने केहि फरक परेन । तर कार बनेको साल भन्दा शिशा बनेको साल पछि छ भने त्यो शिशा चेन्ज गरिएको हो भन्ने बुझिन्छ । शिशा किन चेन्ज गरियो भन्ने कुराको जानकारी लिनुहोला ।
कारको टायर र व्हिलको अवस्था पनि हेर्नुहोला ।
कारको अगाडिको भागमा रहेको बोनट कभर खोलेर हेर्नुहोला । यदि त्यो बोनट कभरको छेउमा टिनको पाता फोल्ड गरेको ठाउँमा खोलिएको देखेमा बोनट मर्मत गरेको बुझिन्छ । प्राय दुर्घटना भएका कारहरुको बोनट कभर मर्मत गरिएको हुनसक्छ ।
बोनट खोलेको बेलामा ईन्जिन स्टार्ट गरेर आवाज र कण्डिसन चेक गर्नुहोला । त्यहाँ भएको बेटीको पनि चेक गर्नुहोला ।
कारको भित्री भागको अवस्था पनि राम्रोसँग हेर्नुहोला । कारको सिट र सिटकभर कस्तो छ, कारको फर्समा रहेको सिन्थेटिकको अवस्था कस्तो छ, ड्यासबोर्ड, ओडोेमिटर, स्टेरिंग, गियर लिभर, ढोकाहरुको अवस्था सबै चेक गर्नुहोला ।
खरिद गर्नुहोस्
कारको भित्री बाहिरी सबै अवस्था हेरिसकेपछि अब खरिददारीको काम गर्नुपर्ने हुन्छ । यसमा पनि केहि सावधानी अपनाउनुहोला । ब्लुबुक नविकरण गरेको र ईन्स्योरेन्स गरेको कार मात्र खरिद गर्नुहोला । यदि त्यसो नगरिएको कार भए त्यसको हिसाब गरेर मात्र खरिददारी गर्नुहोला । पुराना कारको खरिददारी गर्दा सकेसम्म सिधै यातायातमा कारोबार गरेको राम्रो हुन्छ । तरपनि यदि एडभान्स दिनुपरेमा सकेसम्म नगदमा काम नगर्नुहोला । बैंक टान्स्फर, ईसेवा वा यस्तै अन्य डिजिटल माध्यम अपनाउनु उत्तम हुनेछ ।
Post Views: 122