गाडी आपूर्ति र बिक्री वितरण गर्ने कम्पनीहरुले कर्मचारी र सञ्चालन खर्च कटौती गर्न थालेका छन् । सरकारले निजी प्रयोजनका चारपाङ्ग्रे कार जीप, भ्यान आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याएपछि गाडी शोरुम (डिलर)हरुले खर्च कटौती थालेका हुन् ।
नाडा अटोमोबिल्स एसोसियसन अफ नेपालका अनुसार उपत्यका बाहिरमा केही चारपाङ्ग्रे सवारीका शोरुमहरुले सटर ‘डाउन’ गरेका छन् । सवारी आयात खुलेर सहज अवस्था नभइन्जेल खर्च मात्रै गरेर शोरुम नखोल्ने गरी डिलरहरुले निर्णय गरिरहेको नाडाका अध्यक्ष ध्रुब थापाले बताए ।
‘दशैंदेखि नै केही डिलरहरुले ढोका लगाएका छन् । पछिल्ला दिनमा त्यो क्रम बढेको छ,’ उनले भने, ‘गाडी नभएपछि किन शोरुम खोलेर खर्च मात्रै बढाउने भन्ने मत डिलरहरुमा देखिएको छ ।’
कति डिलरहरु अहिले बन्द छन् भन्नेबारे नाडाले अध्ययन थालेको उनले बताए । नाडाका अनुसार शोरुम बन्द गरेपछि कार्यरत कर्मचारीलाई अनपेड–लिभ (बेतलबी विदा) दिइँदैछ ।
शोरुम खुला राख्दा कर्मचारी, दैनिक कार्यालय सञ्चालन, पानी, बत्ती, बिजुली र अन्य विविध खर्च हुने भएकाले यस्ता खर्च कटौती गर्न डिलर बन्द्य गर्ने सोच बनाएको चितवनका एक अटो डिलर व्यवसायीले बताए । ‘सँधैका लागि बन्द भयो भन्ने हल्ला हुन्छ कि भनेर बन्द गर्ने निर्णय गरेको छैन,’ नाम उल्लेख नगर्ने शर्तले उनले भने,‘केही कर्मचारीलाई अवस्था सहज भएपछि बोलाउँछौं भनेर बेतलबी विदा दिएका छौं ।’
गाडीको अभावमा दशैंमा गाडी किन्न आएका धेरै ग्राहकलाई फिर्ता पठाउन बाध्य भएको उनको गुनासो छ । यसले कम्पनीको आफ्नो कम्पनीको छवीमा समेत असर पारेको उनले बताए । व्यापार नभएपछि बैंकको ब्याज तिर्न समेत समस्या भएको भन्दै उनले जग्गा बेचेर भएपनि ऋणको व्यवस्थापन गर्ने निर्णय लिएको सुनाए ।
‘बैंकले सजिलोसँग फाइनान्स नगर्दा व्यापार यसै पनि राम्रो थिएन, झन कम्पनीले थप गाडी दिन सकिंदैन भनेपछि त थाल नै परियो’ उनी भन्छन् ।
अब के हुन्छ ?
नाडाका अध्यक्ष थापाका अनुसार आयात खुलेको ३ महिनापछि मात्रै गाडीको आयात नियमित अवस्थामा फर्किन सक्छ । नेपालबाट पटक–पटक बुकिङ क्यान्सिल भएकाले गाडी निर्माता कम्पनीले अब एलसी नखोली ‘अर्डर’ समेत लिन छोडेको उनको दाबी छ ।
‘प्रतिबन्ध थप भएन भने पनि कम्तिमा ५ महिना अब गाडीको बिक्री वितरण सामान्य अवस्थामा फर्किंदैन,’ उनले भने, ‘यो वर्ष चारपाङ्ग्रे सवारीको आयात र बिक्री पूर्णतः प्रभावित हुने देखियो ।’
उनका अनुसार यो प्रतिबन्धले ‘स्टक’ रहेका गाडी पनि बिकिरहेका छन् । तर, अब धेरैजसो कम्पनीको स्टक गाडी समेत सकिन लागेको भन्दै उनले अब धेरै डिलररु बन्द गर्ने अवस्था आएको दाबी गरे ।
गत आर्थिक वर्ष २०७८/७९ मा १७ अर्ब रुपैयाँबराबरको चारपाङ्ग्रे सवारी आयात भएको थियो । जसबाट सरकारले ४० अर्ब रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो ।
१३ वैशाख २०७९ देखि भने सरकारले विदेशी मुद्राको घट्दो सञ्चितिलाई ध्यान दिंदै प्रतिबन्ध लगाएको थियो । त्यसयाता सरकारले दुई पटक प्रतिबन्धको म्याद थपेको छ ।
व्यवसायीले प्रतिबन्ध हटाउन माग गरेपनि सरकारले अर्थतन्त्रको अवस्थालाई हेरेर मंसिरसम्म चारपाङ्ग्रे सवारीको आयात रोक्ने निर्णय गरेको हो । तर, यसले गाडी आयातकर्ता र डिलरहरु समस्या परेका छन् ।