– विनोद तन्डुकार
कोअर्डिनेटर, टु ह्विलर (इभेन्ट)
विनोद तन्डुकार मोटर स्पोटर््स नेपालको प्रेसिडेन्ट तथा नेपाल अटोमोबाइल एसोसिएसनको बोर्ड मेम्बर हुन् । प्रेसिडेन्टका अतिरिक्त उनी टु ह्विलरका इभेन्टहरुको कोअर्डिनेटर पनि हुन् ।
नेपालमा टु ह्विलर र फोर ह्विलरको इभेन्ट प्रशस्त भइरहेको हुन्छ, जसमा क्रसमाण्डु, रेसमाण्डु, रेस नारी, नेपाल रोड रेसिङ च्याम्पेनसिप, नेपाल ट्यालेन्ट कप, नेपाल रेसर कपलगायतका इभेन्ट उनकै संस्थाले गरिरहेको छ । पछिल्लो रेसर कम हालै धुलिखेलमा भएको थियो, जुन १ सय ५० सीसी र २ सय सीसी सेगमेन्टको दुईवटा क्याटागोरीमा भएको थियो । यो संस्थाको स्थापना २०७२ सालमा भएको थियो । विनोद लामो समय विदेश बसाइपछि २०१३ मा नेपाल आउँदा रेसमाण्डु–टु भएको थियो । त्यो इभेन्ट हेर्दा उनले इभेन्टमा धेरै कुरा सुधार गर्नुपर्ने देखे । त्यसैका लागि विनोदले आफ्नै क्लब खोलेर इभेन्ट गर्ने योजनामुताबिक एउटा टिम फर्म गरेर इभेन्ट सुरु गरेका थिए । उनले हालसम्म लगभग ९ वटाजति इभेन्ट गरे । पहिलो इभेन्ट मोटर ट्र्याक ७३ मा डर्ट रेस गरेका थिए ।
उनका अनुसार नेपालमा टु ह्विलरको इभेन्ट सामान्य खालको हुन्छ । बल्ल अहिले इभेन्ट धुलिखेलको ट्र्याकमा हुन थालेको छ । धुलिखेलको हिमालयन मोटर ल्यान्डबाहेक अन्य ट्र्याक नभएकाले डर्ट रेसिङको स्कोप नै बढी देखिएको छ । रोडमा हुने रेसिङ खासै प्रोफेसनल हुँदैन । तथापि अहिले हुने रेसिङ नियमपूर्वक भइरहेको छ । विनोद भन्छन्, ‘हामीले रोड सेफ्टीलाई ध्यान दिएका छौं भने अन्य खालका सेफ्टी गियर पनि राइडर आफैं लाउन थालेका छन् । यो अत्यावश्यक विषय पनि हो । सुट, बुट, जुत्ता, हेलमेट तथा अन्य सेफ्टी गियर्सबिनाको राइडिङ निकै खतरनाक हुन्छ । तर, नेपालमा राइडर्सहरुका लागि कम्पनीलगायतका सपोटर्सको अभाव भएकाले यो निकै महँगो विषय भएको छ ।’
नासा नेपालले राइडर्सको लाइसेन्सका लागि नियमहरु निकै टाइट गर्दै लगेका कारण अहिले राइडरहरु नियममा बाधिँदै गएका छन् । यसले भोलिका दिनमा राइडरले केही सुविधा पनि पाउने विनोदले अनुमान गरेका छन् । त्यस्तै यो क्षेत्रका क्लब र नासा नेपाललगायतका संस्थाको सहयोगमा अब रेसिङहरु बिस्तारै अन्तर्राष्ट्रिय स्तरको हुने उनको अनुमान छ । तर, त्यसका लागि सरकारले नै पहल गर्नुको अर्को विकल्प छैन । कतिले देखावटी र जोखिमपूर्ण रेसिङ पनि गरिरहेका छन् । यो वर्ष भर्खरै केही इभेन्ट भएका छन् र अब नियमित सबै इभेन्ट हुनेछन् ।