मोटरसाइकल यात्रामा चाहिने अनिवार्य सेफ्टी गियर

सेफ्टी गियरको कुरा गर्दा मानिसहरुले रेसिङ या स्टन्ट भनेर बुझ्छन् । तर, यात्रा सुरक्षित बनाउनका लागि केही खालको सेफ्टी गियर जुनसुकै राइडरले प्रयोग गर्नु उपयुक्त हुन्छ । तथापि लामो यात्रामा जाँदा, टुर गर्दा, रेसिङमा जाँदा र स्टन्ट गर्दा उचित सेफ्टी गियर अपनाउनुपर्ने हुन्छ । हामीले मोटरसाइकलमा यात्रा गर्दा कम्तीमा पनि डिओटी (DOT) सर्टिफाई हेलमेट लगाउनुपर्छ । यसमा एफएमभिएसएस २१८ (FMVSS 218) को स्टिकर लगाएको हुन्छ । यो अमेरिकाको रोडमा बाइक चलाउँदा र बेच्दा अनिवार्य रुपमा हुनुपर्ने सर्टिफिकेसन हो । सुरक्षाका लागि स्नेल (SNELL) सर्टिफिकेसन भएको हेलमेट पनि प्रयोग गर्न सकिन्छ । जुन डिओटीभन्दा कम मान्यताको मापदण्ड हो । अर्को विशेष सेफ्टी मापदण्ड इसिई (ECE) हो । यो युरोपियन मापदण्डको सेफ्टी भेरिफिकेसन हो । नेपालमा अहिले हेलमेट बिक्री गर्नका लागि कुनै पनि मापदण्ड कायम गरिएको छैन । यदि नेपालको मोटरसाइकल यात्रालाई सुरक्षित बनाउने हो भने नेपाल सरकारले न्यूनतम डिओटी अथावा इसिई मापदण्डको हेलमेट प्रयोग गर्नुपर्ने नियम बनाउनुपर्छ ।
मोटरसाइकल वा स्कुटर चलाउँदा लेदर ग्लोब्स वा फूल ग्लोब्स लगाउनुपर्छ । लेदरको ग्लोब्स लगाउँदा नेपालमा गोट वा बफेलोको लेदर ग्लोब्सलाई प्रयोग गर्न सकिन्छ । यो बजेटमैत्री हुन्छ । यसले दुर्घटनामा पर्दा पनि घिस्रिएर हातमा घाउ हुन दिँदैन र अन्य चोटबाट पनि बचाउँछ । ग्लोब्सले हातलाई घाम र धूलोबाट पनि जोगाउँछ ।
सुरक्षाका लागि राइडिङ सेट अर्थात् ज्याकेट र प्यान्ट पनि अति अनिवार्य सेफ्टी गियर हो । यसभित्र हार्ड थर्मोप्लास्टिक, फर्मलाइनर्सजस्ता आर्मर जडान गरिएको हुन्छ । यसले दुर्घटनामा हुने शारीरिक क्षतिलाई धेरै हदसम्म नियन्त्रण गर्छ । यो ज्याकेटमा हुने आर्मर पनि सर्टिफाई हुन्छ । सामान्यतया यसको आर्मर कुम, छाती, कुइनो, मेरुदण्ड, हिप्स र घुँडामा हुन्छ । यो ज्याकेट र प्यान्ट वाटर प्रुफ तथा विन्ड प्रुफ हुन्छ । यो फुल सेट लेदरमा पनि उपलब्ध हुन्छ । यसले राइडिङ फिल र कम्फोर्ट पनि दिन्छ । साथै यसको प्रयोगले हामी सुरक्षित हुन्छौं ।
सुरक्षित यात्राका लागि हामीले विभिन्न खालको राइडिङ बुटको पनि प्रयोग गर्नुपर्छ । यसले खुट्टाको गोलीगाँठालगायतका सम्पूर्ण भागको सुरक्षा गर्छ । यो बुट फुल र हाफ दुवै खालको हुन्छ । सकेसम्म हामीले फुल बुट लगाउनु राम्रो हुन्छ । यो बुट हेभी प्याडिङ, इन्सोल प्रोटेक्सन, हिल र टो स्लाइडर, मेटल बडी आदि जडान भएर आएको हुन्छ ।
सुरक्षाका क्रममा यति विषयलाई समेट्न सकेको खण्डमा हामी दुर्घटनामा परिहालेको खण्डमा पनि ज्यान जोगाउन सक्षम हुन्छांै । नेपाल सरकार र ट्राफिक पुलिसले डिओटी र इसिई हेलमेट र ग्लब्स अनिवार्य प्रयोगको नियम बनाउनुपर्छ जस्तो मलाई लाग्छ । यात्रालाई सुरक्षित बनाउँदै लानका लागि सुरक्षाका यी विषयलाई राज्य र मोटरसाइकल चालकले पनि विशेष ध्यान दिँदै जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *