विद्युतीय कार विश्व अटोमोवाइल बजारमा सर्वाधिक चासो र चर्चामा रहेको छ । हरेक किसिमका सवारीसाधन उत्पादन गर्ने कम्पनीहरुले विद्युतीय साधन विकासमा लगानी गरिरहेका छन् । सन २०१० सम्म निकै सुस्त गतिमा अगाडि बढेको विद्युतीय साधनको खोज अहिले व्यापक विस्तार भएको छ । चिनियाँ अटोमोवाइल बजारमा सर्वाधिक खोजी र अन्भेषण भएको विद्युतीय सवारीसाधनमा अहिले पुरै एशियाली, यूरोपेली र अमेरिकी निर्माताहरु लागि परेका छन् ।
पछिल्ला दिनमा एकपछि अर्को नयाँ कम्पनीले ईभी बजारमा ल्याइरहेका छन् भने स्थापित पुराना कम्पनीहरुले पनि ईभी उत्पादनमा आफुलाई केन्द्रित गरेका छन् । स्थापित कम्पनीहरुले भने उत्पादन नै धेरै बजारमा ल्याउनु भन्दा पनि कन्सेप्टहरु बाहिर ल्याइरहेका छन् ।
धेरै नयाँ कन्सेप्ट र डिजाइनको बीचमा आफ्नो लागि कुन उपयुक्त विद्युतीय गाडी होला भन्ने विषयमा ग्राहकले छुट्टाउन सकिरहेका छैनन । तपाईको अवश्यकता अनुसारको गाडी छनोट गर्न निम्न ४ कुरामा ध्यान दिनु पर्ने हुन्छ ।
बडी डिजाइन
अहिले नेपालमा विद्युतीय गाडीमा धेरै छनोट पाउन सक्ने अवस्था छैन । नेपालमा हुन्डाई, टाटा, बीवाइडी, एमजी, निसान, किया, महिन्द्रा, नेटा, हेनरी लगायत ब्राण्डले ईभी विक्री गरिरहेका छन् । तर, पनि ग्राहकले धेरै छनोट पाउन सक्ने अवस्था छैन ।
साना ह्याचव्याक, क्रसओभर, सेडान र एसयूभी डिजाइनमा उपलब्ध विद्युतीय गाडी मध्ये तपाईले आफुलाई मन पर्ने डिजाइन छनोट गर्नु पर्छ । नेपालमा गाडी किन्दा ठूलो धनराशी खर्च गर्नु पर्ने भएको कारण लामो समयको सोचेरै गाडी लिँदा राम्रो हुन्छ । अर्को महत्वपूर्ण विषय विद्युतीय गाडी आफ्नै घरको ग्यारेजमा पार्किङ गर्न पाएको खण्डमा चार्ज गर्न सहज हुन्छ । त्यसैले आफ्नो पार्किङको साइज अनुसार गाडी छनोट गर्नु पर्छ ।
ब्याट्री साइज र रेन्ज
विद्युतीय गाडीको सबैभन्दा महत्वपूर्ण विषय यसमा रहेको ब्याट्री हो । ब्याट्री साइज ठूलो हुँदा रेन्ज धेरै आउँछ । साथै ठूलो ब्याट्री दिएपछि मूल्य पनि धेरै पर्ने हुन्छ । त्यसैले आफ्नो दैनिक यात्रा हेरेर आफ्नो आवश्यकता अनुसारको गाडी छान्नु पर्छ ।
यदि तपाई आफ्नो स्थानिय बजारमा मात्रै यात्रा गर्नु हुन्छ भने तपाईलाई २० देखि ४० किलोवाट आवरका ब्याट्री भएका गाडी उपयुक्त हुन्छ । होइन, तपाई धेरै लामो हाइवे यात्रामा जानु हुन्छ भने तपाईले ठूला ब्याट्री भएका गाडी छनोट गर्दा राम्रो हुन्छ ।
चार्जर
ईभी चलाएर हिड्दा मानिसमा चार्ज सकिन्छ कि भन्ने डर सबैभन्दा धेरै हुन्छ । साथै, नेपालको विद्युत सप्लाई समस्याको चाङमा रहेको छ । भनेको समयमा विद्युत सप्लाई नपाउँदा बीच बाटोमा गाडी अड्कने समस्या हुन सक्छ ।
घरमा चार्ज गरेर चलाउने हो भने ३।३ र ७ किलोवाट मध्ये कुनै एक चार्जरको प्रयोग गर्नु पर्ने हुन्छ । यदि घरमा ३२ एम्पीयरसम्मको मिटर र थ्रि फेज लाइन छ भने ११ किलोवाटसम्मको एसी चार्जर लगाउन सकिन्छ । यी मध्ये कुन चार्जर तपाईलाई ठिक हुन्छ भन्ने विषय तपाईको घरमा रहेको विद्युत मिटरको क्षमतामा भर पर्छ । त्यसैगरी, हाइवे यात्रामा निस्कदा कति किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ भन्ने विषय एकिन गर्नुपर्छ । अहिले निजी क्षेत्रले जोडेका डिसी चार्जर ३० किलोवाट क्षमताका छन् भने सरकारले जोडेको चार्जर ६० किलोवाट क्षमताका छन् ।
पावर र पर्फमेन्स
तपाईले किन्न खोजेको गाडीको मूल्य पावर र पर्फमेन्ससँग पनि जोडिएको हुन्छ । नेपाल सरकारले मोटरको पीक पावर क्षमताको आधारमा कर निर्धारण गरेको कारण सरकारी राजस्वको आधारमा गाडीको मूल्य तय हुन्छ । नेपाल सरकारले पीक पावर १०० किलोवाटसम्मका गाडीमा १० प्रतिशत भन्सार लगाएको छ भने अन्तःशुल्क लगाएको छैन । १०० देखि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत नै अन्तः शुल्क लगाएको छ । त्यस्तै २०० देखि ३०० किलोवाट क्षमताको मोटर रहेको साधनलाई ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत नै अन्तः शुल्क लगाईएको छ । त्यसैले पावरसँग मुल्यको सिधा सम्बन्ध हुने भएकोले आफ्नो बजेट अनुसारको पावर खोज्नुपर्छ ।