<h5>विगत केही महिनादेखि तरलताको संकट भोगिरहेको नेपाली अटो क्षेत्र अहिले त्योभन्दा पनि जटिल संकटमा फसेको छ । हुन त यो संकट क्षणिक हो । सरकारले सधैंका लागि विलासी सामानको आयातमा प्रतिबन्ध लगाएको पनि होइन । विदेशी मुद्राको सञ्चिति निकै कम भएकाले केही समयका लागि सरकारले यो प्रतिबन्ध लगाएको छ ।
यो प्रतिबन्ध लगाउँदै गर्दा सरकारले व्यापारघाटा कम गर्न र विदेशी मुद्राको सञ्चिति बढाउनका लागि उचित कदम चाल्नेछ भन्ने पनि हामीले विश्वास गर्नुपर्छ वा त्यसका लागि दबाब दिनुपर्छ । अहिले सरकारले विलासिताका धेरै वस्तुको आयात गर्नका लागि एलसीमार्फत रोक लगाएको छ ।
एलसी खोल्न प्रतिबन्ध लगाउनु भनेको अटोलगायतका अनगिन्ती विलासिता भनेर सरकारले तोकेका सामग्रीहरुको आयातमा प्रतिबन्ध लगाउनु हो । विदेशबाट जुनसुकै सामान ल्याउन पनि नेपालले डलरमा भुक्तानी गर्नुपर्छ । नेपालमा डलर आउने भनेको अन्तर्राष्ट्रिय व्यापार, रेमिट्यान्स र पर्यटकमार्फत हो ।
बढ्दो व्यापारघाटा, कोरोनाका कारण घट्दो रेमिट्यान्स, घट्दो वैदेशिक सहायता र घट्दो लगानी, पर्यटन व्यवसायमा विदेशी पाहुनाको अभावलगायतका विभिन्न विषयले नेपालमा डलरको सञ्चिति घट्दै गएको र आजको अवस्था आएको हो । त्यस्तै अहिले धेरै रेमिट्यान्स हुन्डीमार्फत आउने गरेका कारण पनि अहिले नेपालमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको छ ।
नेपालको व्यापारघाटा हुनाका धेरै कारणहरु छन् । त्योमध्येको प्रमुख कारण हो, नेपालको विकास । नेपालमा सडकको राम्रो विकास हुन सकेको छैन । सडकको भरपर्दो विकास समयमा नभएपछि मानिसहरु सहरमा थुप्रिन बाध्य हुन्छन् । त्यसो हुँदा दुर्गम बस्तीमा भएका स्रोत र साधनको उचित परिचालन हुँदैन ।
दूरदराजमा भएका स्रोत र साधनको उचित परिचालन नभएपछि ती स्रोतसाधन विदेशबाट आउँछन् अनि नेपालमा व्यापारघाटा बढ्दै जान्छ । देशको दुर्गम क्षेत्रमा एउटा राम्रो सडकको विकास हुने हो भने भारतबाट आउने सयांै चिजको विस्थापन हुन्छ । नेपाल सिमेन्टमा लगभग आत्मनिर्भर छ । त्यस्तै अहिलेको यो संकटमा देशले खोजी गर्ने हो भने भोलिका दिनमा सयौं वस्तुमा नेपाल आत्मनिर्भर हुन सक्छ र नेपालको व्यापारघाटा कम हुँदै जान्छ ।
नेपालमा भएको खनिजको आधारमा नेपालमा विद्युतीय ब्याट्री बनाउन सकिन्छ । पर्यटकीय गन्तव्यमा यदि सडक र होटलको उचित सुविधा हुने हो र वर्षौं हजारौं पर्यटकले नेपालको भ्रमण गर्ने हो भने त्यसबाट डलरको सञ्चिति गर्न सकिन्छ ।
त्यस्तै नेपालले गत भूकम्पदेखि विभिन्न खालको समस्या भोग्दै आएको छ; भूकम्प, बाढीपहिरो, भारतीय नाकाबन्दी, कोरोना र अहिलेको प्रतिबन्ध । यी सबै घटनाले नेपाल धेरै कुरामा आत्मनिर्भर हुनुपर्छ भने विषयको सबैलाई ज्ञान भएको हुनुपर्छ । यसो भन्दै गर्दा नेपालमा गाडीको उत्पादन गर्न त सकिँदैन, तर इभीलाई प्राथमिकतामा राखेर पेट्रोलियम पदार्थको निर्यात घटाउन सकिन्छ ।
त्यस्तै नेपालमा विभिन्न खालका अटो भेइकलहरुको एसेम्बल गर्न सकिन्छ । हो, नेपालमा कुनै पनि अटोको एसेम्बल गर्दा पनि धेरै कुरा भारतबाट ल्याउनुपर्छ, तर त्यसमा नेपालको एउटा फलामको कुनै न कुनै सामान त प्रयोग हुन्छ । त्यसमा नेपाली कामदार तथा इन्जिनियरको प्रयोग गर्न त सकिन्छ । उदाहरणका लागि नेपालमा टायरको उत्पादन सुरु भएको छ । त्यसमा पनि आवश्यक पर्ने धेरै कच्चा पदार्थ भारतबाट तथा चीनबाट ल्याउनुपर्छ ।
तर, नेपालमा यी सामानको उत्पादन हुँदा त्यसमा प्रयोग भएको श्रमको लागत, जमिनको रेन्टलगायतका धेरै विषयको मूल्य डलरमा गर्नु पर्दैन र नेपालको व्यापारघाटा कम गर्न सकिन्छ । त्यस्तै नेपालमा पनि धेरै खालका सामानको उत्पादन भइरहेको छ । त्यसमा नेपालकै मेटेरियल र श्रमको प्रयोग हुन्छ । यदि त्यस्ता वस्तुको पहिचान गरेर तिनीहरुको आयातलाई कडाइ गर्न सकेको खण्डमा पनि हामीले अहिलेको जस्तो विषम परिस्थितिको सामना गर्नु पर्दैन ।
हुन त नेपालीले भविष्य देखेका हुँदैनन् । नपरीकन चेत्दैनन् । अहिलेको यो संकटको कारण नेपाली राजनीतिज्ञमा सद्बुद्धि आउने हो भने पनि निकट भविष्यमा नेपालले यस्ता खालका समस्या भोग्नु पर्दैन । अहिले नेपालमा भ्रष्टाचार बढेको छ । पुँजीगत खर्च पनि खासै हुन सकेको छैन । यसले पनि तरलताको समस्या ल्याएको छ र उचित क्षेत्रमा उचित विकास नभएका कारण व्यापारघाटा बढेको छ ।
त्यस्तै संघीयताका कारण अहिले कृषि गरेर बस्नुपर्ने मान्छे प्रदेशसभाका सभासद भएर पजेरो चढेर हिँड्छन् । उत्पादन गर्नुपर्ने मान्छे विलासिताका वस्तुमा सवार भएपछि व्यापारघाटा नबढेर निर्यात बढ्दैन । त्यसैले आजको संकटको अर्को कारण भनेको संघीयता पनि हो । यसले उत्पादन घटाएको छ भने स्थानीय र प्रदेश सरकारका निकायले पनि धेरै विलासिताका सामान प्रयोग गर्दा आजको यो विषम परिस्थिति आएको छ । तथापि, जुनसुकै निकाय र राज्यले पनि यो संकटलाई अवसरमा बदल्नका लागि सिर्जनात्मक भूमिका खेल्नुपर्छ ।