तास र मदिराको प्रतिबन्ध हट्दा पनि हटेन मोटरको प्रतिबन्ध

सरकारले पाँच महिना लामो प्रतिबन्धपछि ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध भदौको दोस्रो साताबाट हटायो । तर कार, जिप र भ्यान तथा १५० सीसीभन्दा माथिका बाइकहरुको प्रतिबन्ध भने सरकारले खोलेन । दोस्रो साता कुुरकुरे, हीरा, सबै प्रकारका खेलौना, तास, चुरोट र सुर्तीजन्य वस्तु तथा ३२ इन्चभन्दा माथिका टिभीमाथिको प्रतिबन्ध हट्दा पनि प्रमुख चार प्रकारका विलासी भनिएका वस्तुको आयात प्रतिबन्ध भने कायम नै रह्यो ।
दसैंअघि नै खोल्न प्रयास भएको मदिरा, ३ सय डलरभन्दा महँगा स्मार्टफोेन, कार, जिप, भ्यान र १५० सीसीभन्दा माथिका मोटरसाइकलको प्रतिबन्ध सरकारले मंसिरसम्म लम्ब्याएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा आज बसेको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइललगायतका विलासी वस्तुको आयात प्रतिबन्ध मंसिरसम्म कायमै राख्ने निर्णय गरेको हो।

प्रतिबन्ध कायमै राखिएपछि अटोमोबाइल, मोबाइल, मदिराका आपूर्तिकर्ता र व्यवसायी सरकारसँग रुष्ट बनेका छन् ।

गाडीबाहेक अन्य विलासी वस्तुको आयात खोल्नु गलत हुने कुरा आफूहरुले गम्भीर रुपमा उठाएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । कुल आयातको १ प्रतिशत मात्रै हिस्सा गाडीको भए पनि कुल राजस्वमा ९ प्रतिशत योगदान हुने क्षेत्रलाई प्रतिबन्ध लगाउनु उचित नभएको नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताएका छन् । अन्य वस्तुको आयात खुलाएर अटोको रोक्नु निकै गलत काम भएको उनको भनाइ छ ।
सरकार धेरै डलर बाहिरिने वस्तुको आयातलाई केही समय रोक्ने निष्कर्षमा पुगेको पाइएको छ । नेपालमा असारसम्म विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर थियो । उक्त सञ्चिति ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पुग्छ । त्यसैले पनि आयात प्रतिबन्धपछि सञ्चितिमा सुधार देखिएको छ । रेमिट्यान्सको आप्रवाह पनि सुस्त रुपमा बढिरहेकाले दसैंअघि आयात खोल्दा अर्थतन्त्रको बाह्य क्षेत्रको दबाब नघट्ने निष्कर्ष निकालेर सरकारले यस्तो कदम चालेको अधिकारीहरु बताउँछन् ।
सबै व्यवसायीहरुको दबाबका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि आयात प्रतिबन्धको आवश्यकताबारे वस्तुगत अध्ययन गरेको थियो । एक अधिकारीका अनुसार मन्त्रालयले गाडी र १५० सीसीसम्मको मोटरसाइकलबाहेकका वस्तुको आयात खोल्नुपर्ने निष्कर्ष निकालेको थियो ।
तर, व्यवसायीहरु नै आयात प्रतिबन्धको निर्णय प्रभावित गर्ने दाउमा लाग्दा मन्त्रालयको अध्ययनको निष्कर्षअनुसार निर्णय हुने अवस्था बनेन ।
स्रोतका अनुसार केही अटोमोबाइल व्यवसायीहरुले राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र राष्ट्र बैंकमार्फत गाडी र मोटरसाइकलको पनि प्रतिबन्ध खोल्न दबाब दिएका थिए । प्रतिबन्ध खुल्दा सबै वस्तुको खुल्नुपर्ने उनीहरुको माग थियो । यो दबाब थेग्न नसकेपछि मन्त्रालयले अध्ययनका आधारमा दसैंअघि कुनै पनि वस्तुको आयात नखोल्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । मदिरा र मोबाइलको आयात खुलाउन सकिने आधार भए पनि अटोमोबाइलका कारण ती वस्तुको पनि आयात खुल्न सकेन ।

नाडा चिन्तित
सरकारको गाडी आयातको प्रतिबन्ध २८ असोजसम्म लम्ब्याउने निर्णयले चाडबाडमा डिजेल र पेट्रोलबाट चल्ने चारपांग्रे नयाँ गाडी अभाव हुने व्यवसायीले बताएका छन् । गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले सरकारको कदमले अधिकांश उपभोक्ताले यो दसैंमा नयाँ गाडी नपाउने निश्चित भएको जनाएको छ ।
पाँच महिनादेखिको प्रतिबन्धका कारण बजारमा गाडी अभाव भइरहेको र यो दसैंसम्म लम्बिने एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताए । सरकारले गरेको निर्णय मुलुकका लागि ठीकै भए पनि गाडीका पारखी र व्यवसायीलाई यो निर्णयले आहत पुगेको र यो दीर्घकालसम्म रहने थापाले बताए ।
कुल आयातको १ प्रतिशत मात्रै हिस्सा कार, जिप र भ्यानको हो । तर, यसले राजस्वमा ९ प्रतिशत योगदान गर्छ । सरकारले प्रतिबन्ध खुलाएको भए केही मात्रामा नयाँ गाडी भित्रिन सक्ने अवस्था थियो । कार, जिप र भ्यानले कुल भन्सार राजस्वमा ३० अर्ब योगदान गर्छ । सरकारले प्रतिबन्ध खुलाउने वा नखुलाउनेबारे बेलैमा व्यापारीलाई स्पष्ट जानकारी नदिंदा नेपाली आयातकर्ताले गाडी कम्पनीसँग विश्वास गुमाएको छ । यसमा नाडाले चिन्ता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *