बाइक र स्कुटरको कारोबार ६५ प्रतिशतले घट्यो

यो दसैंमा सवारी साधनका बिक्रेताले पनि उपभोक्ताको ‘खल्ती’ हेरेर आकर्षक छुट योजना ल्याउने गर्छन्।  नगद, साप्ताहिक र बम्पर योजना ल्याएका व्यवसायी आश्चर्यमा परेका छन्।

दुई पांग्रे सवारी साधन दसैंमा व्यापारको ग्राफ ६० प्रतिशतसम्म घटेको छ, चार पांग्रे सवारीमा सरकारले आयात प्रतिबन्ध लगाएका कारण कारोबार धेरै छैन । शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले बाइक र स्कुटरको कारोबार ६५ प्रतिशतले घटेको बताए ।

‘चार पांग्रे होइन दुई पांग्रेको व्यापार ६५ प्रतिशतसम्म घटेको छ। मेरो करिअरमा यस्तो मन्दी देखेको नै थिइन्,’ उनले बिजमाण्डूसँग भने, ‘यसले जनतासँग पैसा नभएको स्पष्ट हुन्छ।’ शंकर समूह अन्तर्गतको जगदम्बा मोटर्स टीभीएसका बाइक र स्कुटरको नेपालका लागि अधिकृत बिक्रेता हो। यो समूहले लिएपछि टीभीएसका बाइक र स्कुटर बिक्रीको ग्रोथ उत्साहजनक छ। अग्रवालले दिएको तथ्यांकलाई आयातसँग जोडेर हेर्दा प्रष्ट हुन्छ।

आर्थिक वर्ष २०७७/७८ मा दुई पांग्रे सवारीको आयात १ लाख ४५ हजार युनिट भएको थियो। तर गत वर्ष भने जम्मा ८७ हजार युनिटको आयात भएको छ। एक वर्ष अघिको तुलनामा यो लगभग ५० हजार युनिट कम हो। युक्रेन र रुसको युद्धले गर्दा इन्धनको मूल्यवृद्धि र तरलताका कारण दुई पांग्रे सवारीको कारोबार अझै प्रभावित भएको जगदम्बा मोटर्सका महाप्रबन्धक दीपक रौनियार बताउँछन्। ‘बैंकसँग पैसा छैन। पेट्रोलियम पदार्थदेखि खाद्यान्नको मूल्य आकासिएकाले उपभोक्ताले बचत गर्न नसकेर समस्या आएको देखिन्छ,’ उनले भने। उनका अनुसार २० प्रतिशत बाइक र स्कुटर बिक्री नगदमा हुने गर्छ भने ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाको फाइनान्सिङबाट हुन्छ।

हाल नेपालमा रहेका ठुला ब्रान्डहरुलाई ब्रेक इभनमा जान पनि मासिक तीन हजार युनिट बिक्री गर्नुपर्छ। हाल कम्पनीहरुले १५ सयदेखि दुई हजारको हाराहारीमा पनि बिक्री गर्न नसकिरहेको उनले बताए। उनले टीभीएसले पनि उक्त ब्रेकइभन गर्न नसकिरहेको बताए। ‘अहिले बाइकहरु स्टोरमा थन्किएका छन्। डिलरहरुको पैसा मार्केटबाट उठ्न सकिरहेको छैन,’ उनले भने, ‘मार्केट रिकभरी हुन सकिरहेको छैन। जसले समान लग्यो उसैले पैसा तर्न कठिन भएको छ।’

रौनियारका अनुसार अटो व्यवसायमा घरजग्गाको कारोबारले पनि केही हदसम्म असर गरेको छ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं बजाज बाइकको अधिकृत बिक्रेता एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले दुई पांग्रे सवारीको बिक्रीमा ठूलो गिरावट आएको बताए। ‘मुलुकको आर्थिक अवस्था राम्रो छैन। त्यसको प्रभाव सवारी साधनमा परेको छ,’ उनले भने।

यामाहाको पनि बाइक तथा स्कुटरको बिक्री घटेको कम्पनीले जनाएको छ। सो बाइकलाई यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रतिनिधि तथा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लका अनुसार यामाहाको व्यापार पहिलेको तुलनामा ५० प्रतिशतले घटेको छ। ‘हामी अहिलेको अवस्थामा सबैभन्दा कमजोर व्यापारको स्थितिबाट गुज्रिएका छौं,’ उनले भने।

मल्लका अनुसार गत वर्ष यामाहाले ५० हजार युनिट बिक्री गरेको थियो। ‘गत वर्ष मासिक ४ हजारको हाराहारीमा बिक्री हुने गर्थ्यो तर भदौमा २ हजार मात्र बिक्री भयो। अहिले मुस्किलले ७ सय मात्रै बिक्री भएको छ’ उनले भने, ‘ यस्तै रहे यो वर्ष २५ हजार युनिट बिक्री गर्न पनि नसकिने अवस्था छ। कोरोनाको असर बल्ल देखिन थालेको छ। कम्पनीले आफ्नो संचालन खर्चहरु सबै व्यवस्था गर्न पनि कम्पनीले ४ हजार युनिटको ब्रेक इभन गर्नुपर्छ।’

मल्लले मानिसहरु अहिले दैनिक जीवनमा हुने खर्चमा धेरै ध्यान दिन थालेको बताए। ‘पहिला मानिसहरु बचतमा जोड दिन्थे र त्यही अनुसार बाइक तथा स्कुटर किन्ने योजना बनाउँथे,’ उनले भने, ‘ यसपालि इन्धनदेखि खाद्यान्न तथा अन्य सबै कुराको मूल्यले आकाश छोएको छ। उनीहरुले बाइक तथा स्कुटरहरु किन्ने तर्फभन्दा अबको दिनमा कसरी दैनिक खर्च चलाउने भन्नेमा धेरै फोकस भएका छन्। मानिसहरुसँग पैसा नै छैन।’

उनका अनुसार मानिसहरुको यो वर्ष बचत गर्ने वातावरण भएन। ‘डाउन पेमेन्टमा किन्नलाई पनि बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिएका छैनन्,’ उनले भने, ‘तर पैसा बैंकमा ल्याउन ब्याज बढाएका छन्। यसले पनि मानिसहरु तत्काल सवारी साधनहरु किन्ने सोचमा कमै छन्। बैंकले व्यवसायलाई सहयोग गर्ने भन्दा डिपोजिटमा धेरै ध्यान दिएको छ।’

यस्तै सुजुकी मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सका जनरल म्यानेजर धीरज भट्टराईले पनि दुई पांग्रे सवारीको बिक्री ४५ प्रतिशतसम्म कमी आएको बताए। गत वर्षमा मासिक ७०० युनिट बिक्री हुने गरेकोमा हाल साढे चार सयको हाराहारीमा मात्र बिक्री हुने गरेको उनको भनाइ छ । उनका अनुसार १५० सीसीभन्दा माथिको बाइकमा लगाइएको आयात प्रतिबन्धले व्यापारमा असर गरेको छ। सुजुकीका १५० सीसीभन्दा माथिका बाइकहरु मात्र ३० प्रतिशत बिक्री हुने गरेको भट्टराईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *