इभिको विकासका लागि नाडा एक्स्पोले धेरै मद्दत गर्छ

ध्रुवबहादुर थापा

अध्यक्ष, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल

नाडाको आयोजनामा असोज ६ देखि ४ दिनसम्म इभी एक्स्पो हुँदैछ । कोभिडका कारण बिगत २ वर्षसम्म नाडा अटो शो हुन सकेन । यो वर्ष पनि सवारी साधन आयातमा गरिएको बन्देजका कारण पुरानै शैलीमा नाडा शो हुन सकेन । नाडाले विद्युतीय सवारी प्रवर्द्धनको लक्ष्यसहित यसपटक इभी एक्स्पो गर्दैछ । यसै सन्दर्भमा नाडाका अध्यक्ष ध्रुवबहादुर थापासँग गरिएको कुराकानी :

पछिल्लो समय नेपालमा इभिप्रतिको आकर्षण कस्तो छ ?
पछिल्लो समय इभिमा निकै आकर्षण बढेको छ । नेपालमा मात्र नभई विश्वव्यापी रुपमा नै यसको आकर्षण बढिरहेको छ । नेपालको लागि इभि धेरै उपयोगी छ । आफ्नै इन्धन (विद्युत) खपत हुन्छ । प्रदुषण कम गराउनुका साथै अन्य हिसावले पनि धेरै फाइदा छ । तथ्याङ्क हेर्ने हो भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिव ९ सय प्रतिशत यसको सेल्स देखिन्छ । युरोपियन देशपछि साउथ एसियन तथा अन्य देशको तुलनामा नेपालमा यसको रेसियो धेरै छ । एक्स्पोले नेपालमा इभीलाई अझै बढी प्रवर्द्धन गर्नेमा हामी विश्वस्त छौं ।

सरकारी क्षेत्रबाट कस्तो सहयोग पाउनुभएको छ ?

सरकार पनि यस विषयमा सकारात्मक नै छ । सरकारले पनि यसलाई प्रमोट गरिरहेको अवस्था छ । हामीले साथ पाएका छौं । इभिको विकासका लागि एक्स्पोले धेरै मद्दत गर्छ । सरकारी निजी सबै क्षेत्रबाट हामीले साथ पाएका छौं ।

तपाईं नाडा अध्यक्ष भएको पनि ६ महिना पुगिसकेको छ । यसबीच अटो व्यवसायमा देखिएको समस्यालाई कसरी हेर्नुभएको छ ?

अटोमोबाइल व्यवसायमा धेरै समस्याहरु सृजना भएका छन् । नेपालमा क्राइसिसको कारण भेहिकलमा बन्देज, अन्य कमर्सियल भेहिकल, मोटर साइकल लगायतमा फाइनान्सिङको समस्या छ । राष्ट्र बैंकले धेरै सीमाहरु तोकेको छ । फाइनान्स, एलसी मार्जिन लगायतमा सीमा तोकेको छ । यस कारण पनि कठिनाई भोग्नुपरेको छ । इलेक्ट्रिक बाहेक अन्य प्राइभेट भेहिकल पुरै व्याण्ड छ । कमर्सियल भेहिकल जुन खुलेका छन् त्यसलाई पनि फाइनान्सका कारण अप्ठेरो परिस्थिथि सृजना भएको छ । कतिपय डिलर पलायन भइसकेका छन् भने कतिपय पलायन हुने अवस्थामा छन् । कर्मचारी बेरोजगार भएका छन् । सरकारले अटो मोबाइल व्यवसायलाई लामो समयसम्म यस्तो परिस्थितिमा लैजानु हुँदैन भन्ने मलाई लाग्छ । अहिले क्रमशः सुधार आउँदै गएको पाइन्छ । अब सहज वातावरण बन्छ कि भन्ने हाम्रो अपेक्षा छ ।

दसैं तिहार अटो व्यवसायका लागि राम्रो समय मानिन्छ, अहिले कस्तो छ परिस्थिति ?
पहिलेको भन्दा अहिले परिस्थिति फरक छ । अहिलेको दसैं तिहारमा निराशाजनक अवस्था छ । पहिलाको तुलनामा अहिले व्यवसाय ५० प्रतिशत पनि छैन । कतिपयको भेहिकल स्टकमा नै छैन भने भएकाहरुको पनि बिक्री छैन ।

सरकारले सवारी साधन आयातमा लगाएको प्रतिवन्धले कस्तो असर पारेको छ ?
सवारी साधन आयातमा लगाइएको प्रतिवन्धले व्यवसायीलाई मात्र होइन देशलाई पनि अप्ठ्यारो बनाएको छ । राजश्वमा सबैभन्दा धेरै योगदान गर्ने क्षेत्र अटोमोबाइल हो । राजस्वमा पनि धेरै कमी आइसकेको विभिन्न तथ्याङले देखाएका छन् । विकास निर्माणका लागि, कर्मचारीलाई तलव खुवाउनका लागि पनि बजेट नपुग्ने अवस्था देशमा सृजना हुनसक्छ । राजस्वको योगदान हेरेर पनि देशले एलसी खोल्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *