हाम्रो व्यवसाय ओझेलमा परेको छ ।

प्रेमलाल श्रेष्ठ, अध्यक्ष

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ

 

नेपाल हेभी इक्विपमेन्ट व्यवासायी महासंघको नेतृत्व गरिरहनुभएको छ, व्यवसायको अवस्था कस्तो छ ?

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको महाधिवेसन पछि अध्यक्षको पदमा रहेर मैले जिम्मेवारीे सम्हालेको छु । हामी पनि निर्माण व्यवसायीअन्तर्गत नै पर्छौ । निर्माण व्यवसायी बाहेक पनि देशको पुर्वाधार विकासका लागि हेभी उपकरणहरुको भूमिका महत्वपूर्ण हुन्छ । सबैले यस्ता सामान राख्न सक्ने अवस्था छैन । आवश्यक परेमा हाम्रा हेभी इक्विपमेन्ट भाडामा दिने व्यवसायका रुपमा हामीले यसको शुरुवात गरेका हौं । यस्ता व्यवसायीलाई समेटेर हामीले संगठन निर्माण गरेका हौं ।

संगठन विस्तार कसरी गरिरहनुभएको छ ?

देशभरका करिब १० हजार व्यवसायी यस संस्थामा आबद्ध हुनुहुन्छ । कतिपय आबद्ध हुने तयारीमा हुनुहुन्छ । ५५ जनाको कार्यसमिति छ । ३२ जिल्लामा जिल्ला कार्यसमिति पनि छन् । कतिपय जिल्लामा गठन गर्ने तयारीमा छौं ।

महासंघले के-कस्ता काम गरिरहेको छ ?

व्यवसायीका जल्दोबल्दो समस्या समाधानका लागि विभिन्न निकायसँग पहल गर्ने काम भइरहेको छ । जिल्ला संगठन तथा साथीभाइहरुसँग कसरी समस्या समाधान गर्न सकिन्छ, भन्ने प्रयासमा महासंघ लागिरहेको छ । कोभिडका कारण विभिन्न समस्या उत्पन्न भएर आर्थिक मन्दीका कारण समस्यामाथि समस्या थपिँदै गएका छन् ।

समस्या कसरी निराकरण गर्न सकिन्छ, भन्नेतर्फ हामी लागिरहेका छौं । व्यवसायीलाई संस्थागत गर्ने काम भइरहेको छ । जिल्ला संघहरुलाई सक्रिय बनाउने काम गरिरहेका छौं । बाँकी जिल्लामा संगठन विस्तार गर्ने तयारीमा पनि छौं । उपकरण नाफामुलक हिसाबले मात्र लिनु गलत छ । विकास निर्माणमा नभई नहुने साधन हो । बाढी, पहिरो, आगलागी, भूकम्प जस्ता घटनामा उद्धारको लागि पनि हेभी इक्विपमेन्टको आवश्यकता धेरै महत्वपूर्ण बन्ने गरेका छन् । जिल्ला–जिल्लामा आर्थिक तथा प्राविधिक तालिम दिने काम भइरहेका छन् ।

व्यवसायीले भोग्नुपरेका समस्या कस्ता छन् ?

यस क्षेत्रका व्यवसायीका धेरै समस्या छन् । लगानी पनि धेरै भएको छ । यस व्यवसायलाई सरकारी तथा कुनै निकायले पनि प्राथमिकतामा राखेका छैनन् । हामीले धेरै ठाउँ धायौं । यस व्यवसायलाई राज्यले पनि सम्बोधन गर्नु आवश्यक छ । व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्ने हिसाबले यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालयलगायतका विभिन्न निकायमा हामी पुग्यौं । अस्वस्थ प्रतिस्पर्धा पनि यस व्यवसायमा छ । पैसा उठाउन पनि गाह्रो छ । व्यवसाय सम्बन्धी ज्ञान नभएका तर राजनीतिक पहुँच भएकाहरुले मेसिन किन्ने प्रवृत्तिका कारण पनि हाम्रो व्यवसाय ओझेलमा परेको छ । हरेक मेसिनको हामी बीमा गर्छौ । रेटको बार्गेनिङ गरेर जुन कम्पनी मन पर्छ, त्यसमा नै बीमा गर्छौ । अहिले बीमा कम्पनी र बीमा समितिको साटगाँठमा निश्चित भाउभन्दा घटाएर बीमा गर्न नपाउने भन्ने जुन नियम निकालेको छ, त्यसले हामी मारमा परेका छौं । व्यवसाय धरासायी भएको छ । हामीले पाएका छुट पनि खोस्ने काम भएको छ ।

निर्माण व्यवसायी महासंघ, हाइड्रो व्यवसायी संघ, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ मिलेर संयुक्त रुपमा यसको विरोध गरेका छौं । हाम्रो आवाज सुनुवाइ भएन भने केही समयमा विरोधको रुप चर्को हुन्छ, भन्ने लाग्छ । हाम्रा अन्य समस्या पनि छन् । जस्तो, बैंकिङ क्षेत्रका समस्या, प्राविधिक समस्या, तालिम प्राप्त अपरेटरको अभाव पनि छ । ।

विकास निर्माणमा हेभी इक्विपमेन्टको महत्व कस्तो छ ?

अहिलेको समयमा हेभी इक्विपमेन्टका साधन बिना कुनै विकासका काम हुँदैनन् । हेभी इक्युमेन्ट बिना विकासका काम असम्भव नै छ । विकासको चरम गतिमा पुगेका कुनैपनि राष्ट्रको विकास हेभी इक्विपमेन्ट बिना सम्भव छैन् । हाम्रो देश पनि विकासको सुरुवाती चरणमा छ । यस्ता उपकरणको काम तथा महत्व धेरै छ । यस व्यवसायलाई अझ व्यवस्थित र प्राविधिकरुपमा दक्ष जनशक्ती तयार पारी अत्याधुनिक उपकरणहरु ल्याए मात्र देश विकास गर्न सम्भव छ, जस्तो मलाई लाग्छ । २०७२ सालको भूकम्पमा आर्मी र पुलिसभन्दा पहिले हेभी इक्विपमेन्ट पुगेका थिए । संघ पनि निकै सक्रिय भएर उद्धारमा लागेका थियो ।

सरकारबाट कस्तो सहयोग पाउनुभएको छ ?

हेभी इक्विपमेन्टलाई व्यवस्थितरुपमा शहरको बीचमा राख्नको लागि सरकारसँग ठाँउको माग गरेका छौं । कुनै स्थानीय तहले त उपलब्ध गराइसकेको अवस्था छ । काठमाडौंमा पनि यसको तयारी भइरहेको छ । सरकारबाट पनि अपेक्षा गरेअनुरुप सहयोग भने पाएका छैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *