इम्बोस्ड नम्बर प्लेटबारे जानकारी

के हो इम्बोस्ड नम्बर प्लेट ?
खासगरी सवारीसाधनलाई व्यवस्थित गर्न अत्याधुनिक प्रविधिको प्रयोग मार्फत नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट हो । धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रक्रियालाई पनि इम्बोस्ड नम्बर प्लेट भनिन्छ ।
हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।

इम्बोस्ड नम्बर प्लेट राख्दा हुने फाइदा
हाल नेपालमा सवारीसाधन चोरी अत्याधिक बढेको छ । दिनहुँ जसो मोटरसाइकल चोरी भएकै हुन्छन् । प्रहरीका अनुसार सवारीसाधन चोरीको घटनामा कमी आएको छैन । अब इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपाल भित्र हुने सवारीसाधन चोरीमा नियन्त्रण आउने छ । यो प्लेट एक पटक राखिसकेपछि १ दशक फिक्स्ड जस्तै हुन्छ जसले गर्दा प्लेट झिक्न मिल्दैन ।
कतिपय सवारीसाधन वर्षौसम्म कर नतिरी सञ्चालन भइरहेका छन । इम्बोस्ड नम्बर राखेपछि कर नतिरी सवारी सञ्चालन गरेमा तुरुन्तै नियन्त्रणमा लिन सकिन्छ । जुन रेकर्ड उक्त इम्बोस्ड नम्बर प्लेटमै रहेको हुन्छ ।
इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन नम्बर’ रहन्छ । यसले कति नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा छ भन्ने पत्ता लगाउन सहजै सकिन्छ ।
इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपाली सवारीसाधन पनि विश्वस्तरीय मापदण्ड अनुसारका हुने बताइएको छ । संसारभर नै सवारीसाधनको नम्बरमा एकरूपता आउनेछ ।
नेपालमा हाल धेरै प्रकारका नम्बर प्लेट छन । इम्बोस्ड प्रक्रिया कार्यान्वयनमा आएपछि राष्ट्रपति, सरकारी, कूटनीतिक, निजी र व्यावसायिक (भाडा) गरी पाँचवटामा सीमित हुने छन् ।

त्यसैगरी ‘गेट वे’ स्थापना हुने छन् । ‘गेट वे’ले कति सवारीसाधन कता गए भन्ने तथ्यांकलाई ‘रिड’ गर्छ । यसले ट्राफिक व्यवस्थापनदेखि सवारीसाधनको विस्तृत जानकारीसमेत सहजै पत्ता लगाउन सकिन्छ ।

कसरी जोड्न सकिन्छ इम्बोस्ड नम्बर प्लेट ?
यातायात व्यवस्था विभागका अनुसार इम्बोस्ड नम्बरप्लेट आवेदन दिनुपूर्व सवारीको सम्पूर्ण राजस्व चुक्ता भएको हुनु पर्नेछ। राजश्व चुक्ता छ भने विभागको वेवसाइट मा गई प्रथम पृष्ठमा रहेको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ बटन थिची सवारीको सम्पूर्ण विवरण भरी अनलाइन आवेदन फाराम बुझाई आफूले बुझाएको फाराम प्रिन्ट गर्नु पर्नेछ ।
त्यसपछि साउन १ गतेदेखि दुई पांग्रे सवारीको लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारामा रहेको ग्लोबल आईएमई बैंकको शाखा तथा अन्य सवारीको हकमा यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुना, ललितपुरमा इम्बोस्ड नम्बर प्लेट शुल्क वापतको राजस्व जम्मा गर्नु पर्नेछ।
सवारीको कर चुक्ता सम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेट वापतको शुल्क जम्मा गरेको बैंक भौचरको सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजात सहित अनलाइन आवेदनको प्रिन्ट यातायात कार्यालयमा प्रमाणीकरणका लागि बुझाउनु पर्नेछ।
इम्बोस्ड नम्बर प्लेटका लागि दिइएको आवेदन सम्बन्धित कार्यालय मार्फत प्रमाणीकरण भए पश्चात मात्र इम्बोस्ड प्लेट छाप्ने प्रकृया शुरु हुनेछ र प्लेट तयार भएको जानकारी सम्बन्धित आवेदकलाई एसएमएस मार्फत गराइने विभागले जनाएको छ ।
इम्बोस्ड प्लेट जडान गर्न आफूलाई उपयुक्त हुने मिति आवेदकले एसएमएस मार्फत नै रोज्न सक्नेछन् ।
प्रणालीबाट निर्धारित भई एसएमएसमार्फत आवेदकलाई जानकारी गराइएअनुसारको मितिमा निजी सवारीको हकमा सवारी धनि स्वयं उपस्थित भई आफ्नो बायोमेट्रिक विवरण उपलब्ध गराई तथा सरकारी वा संस्थानको स्वामित्वमा रहेका सवारीको हकमा आधिकारिक प्रतिनिधि उपस्थित भई सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *