हार्ले डेभिडसन बाइक नाडा अटो शोमा,  मुल्य ४५ लाख ८५ हजार तोकिएको छ ।
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 11, 2018

 

भाद्र २६ गते देखि भृकुटीमन्डपमा आयोजना हुने अटो शोमा पहिलो पटक नेपाली बजारमा हार्ले डेभिडसन बाइक ८८३ मोडल नाडा अटो शोमा प्रदर्शन हुने भएको छ ।

कम्पनीका अनुसार अटो शोलार्इ लक्षित गरेर हालको लागी एउटा मोडल प्रर्दशन तथा बिक्रि गर्ने भएको छ । ग्राहकको माग र छनोट अनुसार नयाँ मोडलका बाइकहरु ल्याउदै जाने कम्पनीले बताएको छ । नेपाली बजारमा आइरन ८८३ चारवटा कलरमा उपलब्ध रहेको छ । कम्पनीले नाडा अटो शोमा दुर्इवटा बाइक प्रर्दशनमा राख्ने भएको छ ।

हार्लेको आर्इरन ८८३ बाइकमा ८८३ सीसी क्षमताको एयर कुल्ड एफआइ डबल सिलिन्डर इन्जिन रहेको छ । यसले ५५०० आरपीएममा ५० बीएचपी पावर तथा ३५०० आरपीएममा ७० एनएम टर्क जेनेरेट गर्छ । फ्रन्ट तथा रियरमा  २९२ एमएमको डिस्क ब्रेक रहेको यो बाइकमा १९ इन्चको रेडियल अलोय ह्वील रहेको छ । १४० एमएमको ग्राउन्ड क्लियरेन्स रहेका आइरन ८८३ को २५६ केजी तौल रहेको छ ।

२० किलोमिटर प्रतिलिटर माइलेज दिने यो बाइकमा १२.५ लिटरको फ्युल ट्याङक रहेको छ भने रिर्जभमा २.६५ लिटर फ्युल रहने छ ।

आइएमई अटोमोटीभ्सले अमेरिकी बाइक हार्ले डेभिडसनको आधिकारिक वितरकको रुपमा यो बाइक नेपालमा भित्र्याएको हो । यो बाइकको मुल्य ४५ लाख ८५ हजार तोकिएको छ ।

आइएमर्इ अटोमोटीभ्स अन्तर्गतको हार्ले डेभिडसन युनिटका जनरल मेनेजर उज्वल जोशीका अनुशार नाडा अटो शोको अवसरमा यस बार्इकमा ८५ हजार छुटको अफर रहेको छ ।