सरकारले चार्जिङ सेन्टरहरु बनाइदिनुपर्यो
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
December 24, 2018

मोहन प्रसाद चापागाईं

सूचना अधिकारी, यातायात व्यवस्था कार्यलय

 

 

देशका ठूला शहरलाई प्रदुषणमुक्त बनाउने लक्ष्यका साथ पछिल्लो समय सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेको छ । तर, कतिपय विद्युतीय सवारी व्यवसायी कम्पनीहरुले बिनादर्ता सवारी बिक्री गरिराखेका छन् भने केही कम्पनीले दर्ता गरेर । किन यस्तो भएको हो र विद्युतीय सवारी दर्ता प्रक्रिया कस्तो रहेको छ भनी यातायात व्यवस्था कार्यलयका शाखा अधिकृत एवम् सुचना अधिकारी मोहन प्रसाद चापागाईंसँग अटो नेपालका संवाददाता बेदनाथ ढकालले गरेको कुराकानीको सम्पादीत अंश ः

सरकारले पछिल्लो समय इलेक्ट्रिक सवारीलाई प्रमोट गरिराखेको छ । शहर बजारलाई प्रदुषणमुक्त ग्रीनसिटी बनाउने तथा बढ्दो सवारी चापलाई ब्यवस्थापन गर्ने उद्देश्यले सरकारले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेको हो । जहाँसम्म विद्युतीय सवारी दर्ता प्रक्रियाको कुरा छ त्यो पेट्रोलीयम सवारीकै जस्तो समान हो । फरक के हो भन,े पेट्रोलीयमलाई सीसीका आधारमा दर्ता गरिन्छ भने विद्युतीयलाई वाटका आधारमा । सवारी दर्ताका लागि भन्सार बिन्दुमा भन्सार कर तिरेको प्रज्ञापन पत्र अनिवार्य हुनुपर्छ । त्यो भयो भने वाटका आधारमा विद्युतीय सवारी दर्ता हुन्छ । दुई पाङ्ग्रे विद्युतीय सवारीमा १५ सय वाटसम्मकोलाई १२५ सीसी मानिन्छ । अझ विद्युतीय सवारी दर्ता गर्दा त पुरै कर छुट पाइन्छ । नवीकरणको लागि १०० रुपैँया तिरे पुग्छ । त्यस्तै सडक सुधार तथा निर्माण दस्तुरमा पनि ५० प्रतिशत छुट पाइन्छ । यसो हुँदा विद्युतीय सवारी दर्ता प्रक्रिया पनि अन्यजस्तै हो, अझ यसमा त थप सुविधा र फाइदा छ ।

विभाग र मन्त्रालयले बनाएको नीतिअनुरुप हामीले कार्यान्वयन पक्षलाई जोड दिने हो । भन्सारदेखि नै इलेक्ट्रिक सवारीलाई प्रमोट गर्नुपर्यो । सरकारले चार्जिङ सेन्टरहरु बनाइदिनुपर्यो । विद्युतीय सवारीको महत्व र फाइदा सम्बन्धमा जनतामा चेतना फैलाउनुपर्यो । हामीले त पुरै कर छुट दिएर, सडक सुधार निर्माण दस्तुरमा ५० प्रतिशत छुट दिएर, नवीकरण शुल्क कम गराएर आफ्नो भूमिका निभाएका छौँ नि ! यो सुविधा धेरै लामो समयको होइन इलेक्ट्रिक सवारीलाई प्रमोट गर्न ल्याइएको नीति मात्र हो । त्यसैले म सम्पूर्ण विद्युतीय सवारी व्यवसायी कम्पनीहरुलाई सवारी दर्ता गर्नको लागि समेत आह्वान गर्छु ।

Email: info@eautonepal.com