विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि  ब्याट्री चार्जिङ्ग स्टेसनको महत्व
Auto Nepal - Nepal's No. 1 Auto Magazine
August 21, 2018

पूर्ण रंजितकार

विद्युतीय सवारी साधनका लागि चार्जिङ्ग स्टेसन एउटा आवश्यक पूर्वाधार हो । चार्जिङ्ग स्टेसनहरु धेरै संख्यामा र उपयुक्त स्थानहरुमा हुनु आवश्यक छ । यसबाट विद्युतीय सवारी साधनको प्रयोग बढ्नेछ भन्ने तर्क वास्तवमा बलियो छ । त्यसैले चार्जिङ्ग स्टेसन कहाँ हुनुपर्छ र कस्तो हुनुपर्छ भन्ने बारेमा पनि चर्चा गरिनु स्वाभाविक हो । चार्जिङ्ग स्टेसन स्थापना गर्ने व्यवसायबाट व्यवसायी र उपभोक्ता र नेपाल विद्युत प्राधिकरण तीनै थरिलाई फाइदा हुनुपर्दछ । नेपाल विद्युत प्राधिकरणा साथै विद्युतीय सवारी साधन आयात गरी विक्री वितरण गर्ने कम्पनीहरु पनि चार्जिङ्ग स्टेसन स्थापना गर्नका लागि सक्रिय भएका छन् । मूलतः विश्वभरि नै बढी क्षमताको ब्याट्रीको खोजी कार्य भैरहेको छ भने तीव्र गतिमा ब्याट्री चार्ज गर्नका लागि पनि अनुसन्धान भैरहेको छ ।
विद्युतीय सवारी साधन सञ्चालन गर्दै जाँदा सञ्चित विद्युत शक्ति सकिँदै जान्छ र पुनः चार्ज गर्नुपर्ने हुन्छ । जस्तो कि पेट्रोल वा डिजेलले चल्ने गाडीहरु चलाउँदै जाँदा इन्धन सकिँदै जान्छ र पुनः भर्नुपर्ने हुन्छ ।
विद्युतीय सवारी साधनले सवारी साधनको आफ्नो भार, यात्रुहरुको भार र ब्याट्रीको भारलाई बोकेर एक ठाउँबाट अर्को ठाउँमा जाने काम गर्छ । झण्डै एक दशक अघिसम्म लिड एसिड ब्याट्री मात्र निर्विकल्प रुपमा उपलव्ध थियो भने लिथियम आईयोन फोस्फेट ब्याट्री उपलव्ध भएपछि विद्युतीय सवारी साधनको प्रयोगले ठुलो फड्को मा¥यो । त्यसरी विद्युतीय सवारी साधनहरुमा महंगो भएपनि लिथियम आईयोन फोस्फेट ब्याट्री कम आयतन, कम वजन, बढी शक्तिशाली र धेरै लामो समय टिक्ने हुनाले लिड एसिड ब्याट्री भन्दा लिथियम लिथियम आईयोन फोस्फेट ब्याट्री प्रयोग गरिँदै आएको छ ।
विश्व बजारमा एक पटक पुरा चार्ज गर्दा ५०० किलोमिटर चल्ने गाडीहरु आईसकेका छन् र १ हजार किलोमिटरसम्म चलाउन सकिने ब्याट्रीको पनि सफल अनुसन्धान भैसकेको छ ।
नेपालमा भने एक पटक पुरा चार्ज गर्दा ४०० किलोमिटर चलाउन सकिनेसम्मका गाडीहरु बजारमा उपलव्ध भैसकेको छ । ती मध्ये महिन्द्रा रिभा ईटुओ १४० किलोमिटर, किया सउल १८० किलोमिटर र बीवाईडी ईसिक्स ४०० किलोमिटर एक पुरा चार्जमा चलाउन सकिन्छ भन्ने संवन्धित विक्रेताहरु र उपभोक्ताहरु भन्छन् । चीनमा बनेका जेस्टार र हावो यु ब्राण्डका गाडीहरु पनि नेपालको बजारमा आईसकेका छन् । यी दुई पनि एक पुरा चार्जबाट १८० किलो मिटर चलाउन सकिन्छ । यसैगरी पुराना रेभा करिब ७० किलोमिटर चलाउन सकिन्छ भने ईस्कुटरहरु र ईमोटरसाईकल सामान्यतः ६० किलोमिटर चलाउन सकिन्छ ।
ब्याट्री चार्जिङ्गको हिसाबले विद्युतीय सवारी साधनहरुलाई घरमा चार्ज गर्न सकिने र चार्जिङ्ग स्टेसनमा जानुपर्ने गरी फरक वर्गमा राख्न सकिन्छ । साथै घरमा चार्ज गर्न सकिने भएपनि लामो यात्रा गर्ने हो भने बाटोमा रिचार्जिङ्गको सुविधा हुनु आवश्यक हुन्छ ।
ईस्कुटर चढनेहरुका लागि दिनको ५० किलोमिटरसम्म चढने हो भने राती घरैमा चार्जिङ्ग गर्नु उपयुक्त हुन्छ । यसैगरी गाडी चढने उपभोक्ताहरु दिनको एक सय किलोमिटर यात्रा गर्ने हो भने घरैमा चार्जिङ्ग गर्नु सहज हुन्छ । नेपाल विद्युत प्राधिकरणबाट उपलव्ध विद्युत राती अन्य क्षेत्रमा कम खपत हुने भएकोले सवारी साधन चार्ज गर्नको लागि उपयुक्त समय हो । राती विद्युत खपत गर्दा कम महशुल लाग्ने गरी व्यवस्था गर्नका लागि गृहकार्य भैरहेको पनि छ । तर पनि लामो यात्रा गर्ने हो वा एकै दिनमा धेरै यात्रा गर्नुपर्ने भएमा चार्जको लागि भने बाटोमा चार्र्जिङ्ग स्टेसनको सेवा उपलव्ध हुनुपर्छ, जुन तिव्र गतिको हुनु आवश्यक छ । अर्थात घरमा राती ६ वा ७ घण्टा चार्ज गर्दा सामान्यतः असुविधा हुँदैन, तर बिच बाटोमा त्यति समय खर्च गर्नु उपयुक्त हुँदैन । बढीमा चिया, खाजा वा खाना खाने समय अर्थात एक घण्टा वा कम समयमा चार्ज प्रक्रिया सक्नुपर्छ । त्यसैगरी ठुलो प्रणालीयुक्त विद्युतीय सवारी साधनहरु घरमा चार्ज गर्दा बढी समय लाग्ने र विद्युत प्रवाह क्षमता पनि बढी हुनुपर्ने भएकोले चार्जिङ्ग स्टेसनको व्यवस्था हुनु आवश्यक हुन्छ ।
विद्युतीय बस सञ्चालन गर्नका लागि विभिन्न कम्पनीहरुले तयारी गरिँदै आएको छ । बसहरु निश्चित रुटहरुमा चल्ने भएकोले रिचार्जका लागि ठुलो समस्या ब्यहोर्नु नपर्ने हुन्छ । अर्थात् छोटो रुटमा चल्ने बसहरु गन्तव्य पुगेपछि वा चार्ज सकिनु भन्दा अघि (रिजर्भ लिमिट अघि) ग्यारेजमा चार्ज गर्ने व्यवस्था गर्न सकिन्छ भने लामो रुटमा चलाउन ९० किलोमिटर वा सहज र उपयुक्त दूरीमा चिया, खाजा वा खानाको लागि विश्राम गर्दा चार्ज गर्न सकिने गरी चार्जिङ्ग स्टेसन बनाउनु उपयुक्त हुन्छ । चार्जिङ्ग स्टेसनका लागि उपयुक्त स्थानमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली आपूर्ति नहुने वा प्रयाप्त आपूर्ति नहुने भएमा सौर्य पीभी प्रणालीबाट विद्युत उत्पादन गरी चार्जिङ्ग स्टेसन चलाउन सकिने भएकोले विकल्प पनि रहेको छ ।
चार्जिङ्ग स्टेसनको लागि धेरै सवारी साधनहरु एकै पटक पार्किङ्ग गर्न सकिने ठुलो ठाउँ आवश्यकता पर्छ र प्रत्येक गाडीको लागि एक वटा चार्जिङ्ग उपकरण उपलव्ध हुनु आवश्यक हुन्छ । साथै सबै प्रकारको गाडीहरुको लागि मिल्ने चार्जिङ्ग उपकरण हुनु पनि आवश्यक हुन्छ ।
विभिन्न कम्पनीले उत्पादन गर्ने गाडीहरु फरक फरक विद्युतीय क्षमता अनुसारका ब्याट्री, मोटर आदी उपकरण वा सामग्रीहरु प्रयोग गरिएको हुन्छ र रिचार्जको लागि सकेट र पिनहरु पनि फरक हुने भएकोले केही समस्या रहेको पाइन्छ । त्यो समस्या समाधान गर्न चीनमा बनेका विद्युतीय सवारी साधनहरुका लागि एकै प्रकारका सकेट र पिन प्रयोग गर्ने नीति लागू गरेको छ र विश्वका अन्य विद्युतीय सवारी साधन निर्माताहरु यसरी नै सहज तुल्याउने उपाय खोजीमा लागेका छन् ।
नेपालमा बिजुलीको लोड शेडिङ्ग नहुने भएपछि विद्युतीय सवारी साधन रातीको समयमा घरैमा चार्ज गर्न सहज भएको छ र यसबाट उपभोक्ताहरुको ध्यान विद्युतीय सवारी साधनमा बढेको छ । तर पनि चार्जिङ्ग स्टेसनको महत्वलाई उच्च मूल्यांकन गर्दै चार्जिङ्ग स्टेसनको आवश्यकतामाथि बहस भै आएको छ भने चार्जिङ्ग स्टेसनको पर्याप्त व्यवस्था गरिएमा विद्युतीय सवारी साधनको प्रयोग व्यापक रुपमा वृद्धि हुने तर्कले महत्व पाएको छ । व्यवसायिक दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने पूर्वाधारको रुपमा पायक पर्ने विभिन्न स्थानहरुमा यथेष्ठ संख्यामा चार्जिङ्ग स्टेसनहरु हुनुपर्छ भन्नेमा दुई मत हुन सक्दैन ।
हाल विद्युतीय सवारी साधन विक्री वितरण गर्दै आएका कम्पनीहरुले आ–आफ्नो व्यापार वृद्धि गर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा र काठमाडौँ भन्दा टाढाका मुख्य शहरहरुमा चार्जिङ्ग स्टेसनहरु स्थापना गर्ने बारे तयारी गरिँदै आएको भन्ने पनि उल्लेखनीय छ ।
चार्जिङ्ग स्टेसनलाई पूर्वाधारको रुपमा विकास गर्नको लागि नेपाल सरकारले केही नीति निर्धारण गरेको छ । वातावरणमैत्री सवारी तथा यातायात नीति, २०७१ ले ‘सरकारी, निजी तथा साझेदारी, सहकारी आदिको लगानीमा सरकारले उपयुक्त स्थानहरुमा रज्जुमार्ग र चार्जिङ्ग स्टेसनको प्रयोजनको लागि आवश्यक पर्ने जग्गा लगायतका भौतिक पूर्वाधारको व्यवस्था गरी रज्जुमार्ग तथा चार्जिङ्ग स्टेसनको सञ्चालन गर्न प्रोत्साहन गरिनेछ’, भनिएकोछ । त्यसैगरी, ‘वातावरणमैत्री सवारी तथा यातायातका साधनको उत्पादन तथा रुपान्तरण र सञ्चालन गर्ने उद्योग, रज्जुमार्ग, चार्जिङ्ग स्टेसनमा नियमित विद्युत उपलव्ध गराउन सम्भव भएको क्षेत्रमा दोहरो फिडरको व्यवस्था मिलाई विद्युत पिकलोडको समयमा बाहेक राती खेर जाने बिजुलीको उपयोग बढने हुँदा यस्ता उद्योग तथा चार्जिङ्ग स्टेसनहरुलाई सहुलियत दरमा विद्युत उपलव्ध गराउने व्यवस्था मिलाइनेछ’, भन्ने उल्लेख छ ।
यसै संवन्धमा, ‘विद्युतीय सवारी साधनको पार्किङ्ग तथा मर्मत सम्भार केन्द्रको उचित व्यवस्थापनको लागि निजी लगानी आकर्षित गर्न प्रोत्साहन गर्ने व्यवस्था गरिनेछ । साथै सौर्य उर्जा समेतबाट चार्जिङ्गको पूर्वाधार सहित पार्किङ्ग स्थानको निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ, भनिएकोछ भने ‘काठमाडौं उपत्यकामा रिङरोड वरिपरि नमुना योजना (पाइलट प्रोजेक्ट) को रुपमा कम्तिमा १० वटा स्थानमा नेपाल सरकारले उपयुक्त क्षेत्र सहुलियत रुपमा लिजमा उपलव्ध गराई चार्जिङ्ग स्टेसनको अवधारणालाई प्रोत्साहन गर्ने व्यवस्था मिलाइनेछ । शपिङ्ग सेन्टर, शपिङ्ग मल, होटल तथा ठुला पार्किङ्ग क्षेत्रमा पार्किङ्ग शुल्कमा सहुलियत एवं चार्जिङ्ग गर्न पाउने व्यवस्था मिलाइनेछ । चार्जिङ्ग स्टेसनको विद्युत खपतको मिटर जाँचलाई व्यवहारिक र प्रभावकारी बनाई सवारी साधन चार्ज गर्दा लागेको विद्युत शुल्क र सेवा शुल्क सहुलियत दरमा उपलव्ध गराउने व्यवस्था गरिनेछ’, भन्ने स्पष्ट पारिएको छ ।
विद्युतीय सवारी साधनहरुका लागि हाल लिथियम आयोन फस्फेट ब्याट्री नै अत्यधिक चलन चल्तीमा रहेको छ भने अझ शक्तिशाली, कम वजन र कम आयतनको ब्याट्री आविष्कार गर्न वैज्ञानिकहरु र व्यापारिक प्रतिष्ठानहरुको प्रयास जारी छ । अनुन्धाताहरु यसलाई कम समयमा रिचार्ज गर्न सकिने प्रविधि विकासका लागि पनि काम गर्दै आइरहेका छन् । अर्थात् विद्यमान अवस्थामा चार्जिङ्गको समय कम गर्नुपर्ने चुनौती रहेको छ । अनुसन्धान र प्रयासहरु सफल भएका उदहारणहरु मध्ये स्विट्जल्र्याण्डमा सञ्चालन गरिएको एक बस सेवाले एक स्टपमा बस रोक्दा १५ सेकेण्ड चार्ज गरेर अगाडी बढ्ने प्रविधि प्रयोगमा ल्याइसकेको छ ।
यसै गरी सुपर क्यापासिटर वा अल्ट्रा क्यापासिटर प्रयोग गरेर थोरै समयमा ब्याट्री चार्ज गर्न सकिने र ब्याट्रीले गर्ने काम क्यापासिटरबाट लिनका लागि पनि वैज्ञानिकहरु प्रयासरत छन् । त्यसकारण आगामी दिनहरुमा चार्जिङ्ग स्टेसनको काम सहज हुने लक्षण प्रवल छ ।
नेपालमा उपलव्ध ज्ञान, सीप र साधनलाई आधार मानेर भन्ने हो भने वातावरणमैत्री सवारी तथा यातायात नीति २०७१ मा उल्लेख गरिए अनुसार चार्जिङ्ग स्टेसनहरु काठामाडौं उपत्यकाका विभिन्न उपयुक्त स्थानहरुमा सञ्चालन गरिनु पर्छ । त्यसैगरी लामो बाटो यात्रा गर्नेहरुका लागि हरेक ७० देखि ९० किलोमिटरमा चार्जिङ्ग स्टेसनहरु सञ्चालन गरिनु विद्यमान अवस्थामा अत्यावश्यक छ । चार्जिङ्ग स्टेसन सञ्चालनका लागि निजी क्षेत्रलाई उत्साहित गर्न पनि सरकारको प्रभावकारी भूमिका हुनु आवश्यक छ ।