लुम्बिनी बुद्ध सर्किटमा १० सुविधा सम्पन्न बस संचालनमा ल्याइदै
PRAYASH
May 17, 2019

काठमाडौं । रुपन्देही, लुम्बिनी बुद्ध सर्किटमा १० वटा सुविधा सम्पन्न सार्वजनिक बस संचालनमा ल्याइने भएको छ । पर्यटन वर्ष २०२० तथा लुम्बिनी  भ्रमण बर्ष २०७६ लाई लक्षित गर्दै सुविधा सम्पन्न आधुनिक बस संचालनमा ल्याउन लागिएको हो ।

यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले बुटवलमा रहेको भिजन लुम्बिनी लिमिटेडले वातावरण अनूकुलित एसी बसहरु संचालनमा ल्याउने तयारी गरेको हो । उक्त बस सेवा आगमी जेठ ४ गते बुद्ध पूर्णिमाका दिनदेखि शुभारम्भ हुने छ भने बसको उद्घाटन राष्ट्रपति विद्यादेबी भण्डारी र प्रधानमन्त्री केपी ओलीलेले गर्ने छन् ।

 

नयाँ आधुनिक बसमा एसी र वाइफाइ जडान गरिएको छ भने सबै बस अपाङ्गमैत्री छन् । ५२ सिटको क्षमताको यी बसमा सिसिटिभी क्यामेरा र एयर सस्पेन्सन समेत जडान गरिएका छन् ।

बस बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार,बर्दघाट रूटमा गुड्ने छन् । बुद्ध सर्किटमा पनि चल्ने गरी अनुमति लिइसकेको र बिस्तारै ति रुटमा पनि नयाँ गाडीहरूले सेवा दिने छन् ।

बस भिजन लुम्बिनीको १० करोड रूपैयाँ लगानीमा संचालनमा ल्याएको हो ।