राष्ट्रपति भण्डारीलाई १८ करोडको विलासी गाडी
Auto Nepal
November 18, 2018

मंसिर २ काठमाडौं । मुलुकको सामान्य खर्च समेत आफ्नै अर्थतन्त्रले धान्न नसक्ने गरिब देशका राष्ट्रपति विद्यादेवी भण्डारीले १८ करोडको विलासी गाडी चढ्ने भएकी छिन् । यस अघि उनले चढ्दै आएको गाडी पुरानो हुनुका साथै विविध समस्याहरु देखिएको र प्राविधिक समस्या समेत आएकाले तत्काल नयाँ गाडी खरिद गर्नु परेको बताईएको छ । सरकारले सेनामार्फत राष्ट्रपति भण्डारीका लागि ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ।

अब राष्ट्रपति भण्डारीले औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्ने छुट्टाछुट्टै गाडी हुने छन् । यसका लागि सरकारले आठ ओटा लगजरी गाडी किन्ने तयारी गरेको छ।
यो तयारी अहिलेको नभएर २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए। उनका अनुसार राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो।

सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो।
सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने बताएको थियो। यसका लागि कम्तिमा पनि १६ करोड आवश्यक पर्ने भन्दै सेनाले सो रकम माग गरेको थियो। सरकारले सेनाको माग अध्ययन गरेर अहिले थप १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो।
सरकारको यस्तो रबैया देखेर आजभोली जनस्तरबाट चौतर्फी आलोचना शुरु भएको छ । गरिब मुलुको राष्ट्रपतिलाई १८ १८ करोडको विलासी गाडी आवश्यक नरहेको जनपक्षको आवाज छ ।