रनरका ५ धमाकेदार स्पोर्टिज एण्ड डट्बाईक अटो शो मा
Auto Nepal
September 16, 2018

भाद्र ३१, काठमाडौं । बंगलादेशी मोटरसाईकल कम्पनी रनरको ५ धमाकेदार स्पोर्टिज तथा डट्बाईक नाडा अटो शोमा प्रदर्शन गरिएको छ । नेपालका लागि रनरको आधिकारीक वितरक रमन मोटर्स प्रा.लि.ले मंगलबार साझँ अटो शो माझँ यी नयाँ मोडलका बाईकहरु सार्वजनिक गरेको हो ।
कम्पनीले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, क्याफे रेसर, स्ट्रिट बाइक र प्युअर स्कुटर रेन्ज उपलब्ध गराएको छ । यसका साथै कम्पनीले अन्य पुराना मोडलहरु पनि प्रदर्शनीमा राखेको छ ।
‘नाडा अटो शो २०१८’ र आउँदै गरेको महानचाँड ‘दशैं–तिहार’लाई मध्यनजर गर्दै आकर्षक मूल्यमा विभिन्न स्किमका साथ यी बार्इक उपलब्ध गराएको कम्पनीका विजनेश डेप्लपमेन्ट म्यानेन्जर सन्तोष प्रसाद न्यौपानेले बताएका छन् ।
हालैमात्र नेपाल भित्र्याईएका यी बाईकहरु नेपाल र नेपालीमैत्री समेत रहेको कम्पनी हेड रमन महतोले बताएका छन् । उनले आफै कम्पनीमा गएर बाईकको मोडल र आवश्यक फिचर्स बारे सुल्झाएको बताए ।

यस्ता छन् रनरका ५ नयाँ मोडलहरु 

डोमिनेटर २५०
रनरले २५० सीसीमा ब्यालेन्स सिफ्ट सहितको इन्जिनयुक्त डोमिनेटर २५० उपलब्ध गराएको छ । जसले १६.५ किलोवाट पावर र २० एनएम टर्क उत्पादन गर्छ । यसमा भएको एग्रेसिभ स्पोर्टी लुक्स, स्टाइल र एरोडाइनामिक बडी स्ट्रक्चर र डुवल साइलेन्सरका कारण यही सेगेमेन्टका अन्य बार्इकहरु भन्दा यो फरक रहेको कम्पनीको भनाइ छ ।
यसमा भएका मोनो सस्पेन्सनका साथै फराकिलो र दुबैतर्फ डिस्क ब्रेक हुनाले सुरक्षा र गतिशीलतामा थप भूमिका खेल्ने कम्पनीको दाबी छ । यसको प्रारम्भिक मूल्य ३ लाख ८४ हजार तोकिएको छ । तर नाडाको अवसरमा खरिद गर्ने वा वुकिङ गर्नेले २० हजार नगद छुट पाउने कम्पनीले बताएको छ ।

हक २००
रनरले अफरोड विशेष बाईकको रुपमा हक २०० लाई नेपाली बजारमा उतारेको छ । यो बाईक नेपाली सडक सुहाउदो रहेको कम्पनीको भनाईछ । अफरोड विशेष हक २०० ले ९ किलोवाट पावर र १४ एनएम टर्क उत्पादन गर्छ । यसमा कम्पनीले चलाउन सहजतका लागि सीजी ब्यालेन्सर उपलब्ध गराएको छ । त्यसैगरी सुरक्षाका लागि दुवै पांग्रामा फराकिलो डिस्क ब्रेक रहेका छन् । यसको मूल्य ३ लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।

रोडियो क्याफे रेसर १६५
रनरले आफ्नो इतिहासमै पहिलो पटक ‘रनर रोडियो’ नाममा क्याफे रेसर स्टाइलको बाइक उत्पादन गरेको हो । यसमा भएको १६५ सीसी फोर स्ट्रोक इन्जिनले १०.५ किलोवाट पावर र १४.३ एनएम टर्क प्रदान गर्छ । यो एयरकुल, वाटर कुल र आयल कुल गरी ३ भेरिएन्टमा उपलब्ध छ । यसमा भएका अपसाइड डाउन सस्पेन्सन, वाइड फ्रन्ट र रियर डिस्क ब्रेक यो सेगमेन्टकै राम्रा भएको कम्पनीको दावी छ । यसको स्टाइल र लुक्सले नै बाइकलाई अन्य भन्दा फरक देखाउने कम्पनीको भनाइ छ । यसको मूल्य ४ लाख ६९ हजार रुपैयाँ कायम गरिएको छ ।

फायरब्लेड १२५
रनरको अर्को नयाँ मोडल हो फायरब्लेड १२५ । आकर्षक र आक्रामक स्पोर्टि लुक्सले सुसज्जित फायरब्लेड टीवाईएस इन्जिनमा उपलब्ध छ । जसले १० किलोवाट पावर र ११.५ एनएम टर्क प्रदान गर्छ । यसमा १५ लिटरको फ्यूँल ट्यांकी रहेको छ जसले लामो यात्राका लागि सहजता प्रदान गर्ने कम्पनीको भनाई छ ।
१७० एमएम ग्राउन्ड क्लियरेन्सयुक्त यो बाईक अफरोड मैत्री रहेको छ । नेपाली बजारमा यो बाईक ३ कलरमा उपलब्ध रहेको कम्पनीले बताएको छ । यसको मूल्य २ लाख ६५ हजार रुपैयाँ छ ।

मोटो ११० स्कुटर
रनरले पहिलो पटक नेपाली बजारका लागि विशुद्ध स्कुटर सेगमेन्ट उपलब्ध गराएको हो । यो स्टाइलिस युनिसेक्स स्कुटरमा ११० सीसीको फोर स्ट्रोक इन्जिन र भेरिएबल स्पिड गियरबक्स छ । यसमा भएको १४ इन्चको रेडियल टायरका कारण स्मुद तथा अफरोड राइडिङ दुवैमा सहजता हुन्छ । यो स्कुटर विभिन्न ७ कलरमा उपलब्ध छ । यसको मूल्य २ लाख ४५ हजार रुपैयाँ रहेको छ ।