मेक्सिकन राष्ट्रपति लोपेद्धारा राष्ट्रपतिले चढ्ने विमान बेच्ने घोषणा, भ्रष्टाचार विरूद्ध लड्ने नारा
Auto Nepal
December 6, 2018

हालै मात्र मेक्सिकोको राष्ट्रपतिका पदमा नियुक्त भएका मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिको नीजि प्रयोजनमा प्रयोग हुने जहाज बेचेर सार्वजनिक हवाई जहाजमा यात्रा गर्ने घोषणा गरेका छन् । गत आइतबार मात्र राष्ट्रपतिको पदमा नियुक्त भएका ओब्राडोरले राष्ट्रपतिले चढ्दै आएको हवाइजहाज बेचेर व्यापारिक उडानमा यात्रा गर्ने घोषणा गरेका हुन् । सन् २०१२ मा झन्डै २३ अर्ब रूपैयाँ खर्चेर राष्ट्रपतिका लागि उक्त जहाज किनिएको थियो ।

‘म राष्ट्रपतिको जहाज चढ्ने छैन । त्यो जहाज चढ्नु मेरो लागि जनतामाथि अन्याय हुनेछ । यति धेरै गरिबी भएको देशमा यदि म त्यस्तो सुविधासम्पन्न जहाजमा उडें भने मेरो अनुहार लाजले भरिनेछ’ गत सेप्टेम्बरमा एक कार्यक्रमकामाझ ओब्राडोर भनेका थिए । डिसेम्बर २ मा राष्ट्रपतिको पदमा नियुक्त भएपछि उनले आफ्नो त्यो बचन पूरा गरेका छन् ।

 

बेच्न लागिएको राष्ट्रपतिले चढ्ने विमान

आइतबार राष्ट्रपतिको सपथ लिएपछि उनी मेक्सिको सिटी इन्टरनेसनल विमानस्थलमा अन्य सर्वसाधारण यात्रुजस्तै भेराक्रुज जान जहाज चढे र सर्वसाधारण जनता सँगै यात्रा गरि फर्किए । राष्ट्रपतिको जहाजसँगै संघीय सरकारका नाममा भएका ६० जहाज र ७० वटा हेलिकप्टर पनि बेच्न लागिएको मेक्सिकोका अधिकारीहरूले जानकारी दिएका छन् ।

भ्रष्टाचार विरूद्ध लड्ने नारा दिएका ओब्राडोरले गत जुलाईमा भएको राष्ट्रपतीय चुनावमा भारी मत पाएका थिए । सपथ समारोहमा उनले आफू राष्ट्रपतिको दरबारमा नबस्ने र तलबको पनि ४० प्रतिशतमात्र लिने बताएका थिए ।

आफ्नो यात्राका दौरान लाखौं जनतालाई मारमा पारी बाटो बन्द गरेर हिँड्ने तथा मन्त्रीका नीजि यातायातमा खर्बौंको बिल भुक्तानी गरी विलासी गाडीमा सवार गर्ने नेपाल सरकारले पनि यो समाचारबाट केही सिक्ने कि !