भारत नेपाललाई लिजमा रेल दिने
Auto Nepal
November 14, 2018

नवनिर्माणित जनकपुर–जयनगरस्थित ब्रोडगेज रेलमार्गका लागि आवश्यक रेल लिजमा दिन भारत सहमत भएको छ । ३५ किलोमिटरको बाटो रहेको उक्त रेलमार्गमा पहिले रेल सञ्चालनमा आइसकेतापनि पछि विविध कारणले उक्त रेल सेवा रोकिएको थियो । रेल विभागले बताएअनुसार भारतले आफ्नो विदेश मन्त्रालयमार्फत केही दिनअघि नेपाललाई पत्राचार गरी लिजमा रेल दिन आफूहरु सहमत रहेको पत्र पठाएको हो ।

नेपालले लिजमा लिने रेल भारतीय सार्वजनिक संस्थानअन्र्तगतको रेल हुनेछ । यसका लागि दुईवटा सार्वजनिक कम्पनीसँग अनौपचारिक छलफल भइसकेतापनि सबैभन्दा सस्तो दरमा नेपाललाई रेल उपलब्ध गराउने कम्पनीसँग नै लिज सम्झौता गरिनेछ ।

रेल विभागले अबको एक महिनाभित्रमा सबै प्रक्रिया पूरा गरी अर्को महिनाभित्र रेल सेवा सञ्चालनमा ल्याउने आफ्नो लक्ष्य रहेको जानकारी दिएको छ । भारतकै रेल लिजमा चलाउँने तयारी रहेको उक्त रेलमार्ग भारतकै ७ अर्व अनुदानमा निर्माण गरिएको थियो । उक्त रेल मार्गमा प्रत्येक ५ किलोमिटरको दूरीमा पर्ने गरी ७ वटा स्टेसन रहेका छन् । विभागले तत्काल लिजमा रेल सञ्चालनमा ल्याएपनि भावी दिनमा नेपालकै रेल सञ्चालनमा ल्याउने आफ्नो तयारी रहेको जनाएको छ ।