बजाजले बनायो सबभन्दा सस्तो कार
Auto Nepal
December 9, 2018

चर्चित भारतीय अटोमोबाइल कम्पनी बजाजले संसारकै सबैभन्दा सस्तो ‘क्यूट’ कारको निर्माण गरेको छ । कम्पनीले आगामी डिसेम्बरमा उक्त कार लन्च गर्ने बताएको छ । मोटरसाइकल, स्कुटर तथा अटो रिक्सा उत्पादनमा लोकप्रियता कमाएको बजाजले प्रथम पटक कार सेग्मेन्टमा पनि आफ्नो उपस्थिति जनाएको हो ।

डिसेम्बरमा भारतीय अटो बजारमा सार्वजनिक गर्न लागिएको ‘क्युट’को इन्डोनोसियामा भने बिक्री वितरण सुरु भइसकेको छ । इन्डोनेसियामा यसको मूल्य १ लाख २८ हजार भारतीय रुपैयाँ रहेको छ ।

२७५२ मिलिमिटर लम्बाई, १३१२ मिलिमिटर चौडाई, १६५२ मिलिमिटर उचाईं र १९२४ मिलिमिटर ह्विलबेस रहेको यो कार आजसम्म बनेका कारहरुमध्ये सबैभन्दा कम प्रदुषण गर्ने कार भएको कम्पनीले दाबी गरेको छ भने यसमा २१६ सिसिको इन्जिन फिट गरिएको छ ।

कारले ३६ किलोमिटर माइलेज दिने र अहिलेसम्म बनेका कारहरु मध्ये सबैभन्दा कम प्रदुषण गर्ने कम्पनीको दाबी रहेको छ ।

डिजिटल ट्राइस्पार्क फोर भल्व इन्जिन राखिएको कारमा ०.२ लिटरको वाटरकुल्ड इन्जिन राखिएको छ । विभिन्न ६ रङमा उपलब्ध रहेको यो कारको अधिकतम स्पिड क्षमता ७० किलोमिटर प्रतिघण्टा र तौल ४५० केजी रहेको छ ।

यस अघि भारतीय अटोमोबाइल कम्पनी टाटाले सन् २००९ मा विश्वकै सबैभन्दा सस्तो कार भनेर नानो कार ल्याएको थियो ।