पेइङ लिफ्ट कल्चरः  कति सुरक्षित, कति भरपर्दो ?
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
January 18, 2019

 

काठमाडौंमा यात्रा गर्ने केही विकल्प छन् । साइकल, मोटरसाइकल, कार, सार्वजनिक यातायात, ट्याक्सी । कति साइकलमा आउजाउ गर्छन् । कति मोटरसाइकलमा । कति निजी कारमा । कति सार्वजनिक यातायातमा । ट्याक्सी भने भैपरी आउने कुरा हुन् ।
ट्याक्सी चढ्नका लागि कुनै स्टेसन पुग्नु पर्दैन वा पालो कुर्नु पर्दैन । जहाँ पनि उपलब्ध हुन्छ । तर, यसका लागि खल्ती अलि गह्रौं हुनुपर्छ । किनभने ट्याक्सीमा छोटो दूरी पार गर्दा पनि सयौं रुपैयाँ लाग्न सक्छ । जबकि सार्वजनिक यातायातमा उत्तिनै दूरी पार गर्न १५, २० वा २५ रुपैयाँ भए काफी हुन्छ । तर, आफ्नो कार वा मोटरसाइकल नभएको अवस्थामा, सार्वजनिक यातायातको भर नभएको बेला, आपत्कालिन अवस्थामा ट्याक्सी चढ्नैपर्छ । ट्याक्सी चढेपछि मन खोलेर शुल्क पनि तिर्नुपर्छ ।
हुन त ट्याक्सीमा चढेपछि त्यो कति गुढ्छ भनेर दूरीका आधारमा त्यसका लागि लाग्ने शुल्क निर्धारण गरिएको छ । तर, ट्याक्सीवालाले यस्तो नियम मान्दैन । उनीहरू मिटरमा उठ्नेभन्दा बढी भाडा असुल्छन् । उस्तै मौका परे दोब्बर, तेब्बर पनि असुल्छन् । त्यही कारण राजधानीको ट्याक्सी चढ्नु भनेको पैसा उडाउनु पनि हो । मिटर जति घुम्छ, खल्ती पनि उत्तिकै रित्तिन्छ ।
तर, कहिलेकाहीँ यस्ता साधनमा यात्रा गर्नैपर्ने बाध्यता हुन्छ । कतै अपर्झट पुग्नुपर्ने हुन्छ । कुनै ठाउँबाट घर फर्कनुपर्ने हुन्छ । यस्तो अवस्थामा आफूसँग सवारी साधन हुँदैन । सार्वजनिक यातायातमा चढ्दा यात्रा पट्यारलाग्दो हुन्छ । वा कतिपय ठाउँमा सार्वजनिक यातायात नै उपलब्ध हुँदैन । यस्तो अवस्थामा ट्याक्सी नचढे भो त ?
ट्याक्सी चढ्नैपर्छ । पैसा रित्याउनैपर्छ ।
तर, खुसीको कुरा अब यसको पनि विकल्प आएको छ । विकल्प हो, ट्याक्सी मोटरसाइकल । सहरका लागि यो नौलो त होइन, तर अहिले यसले व्यापकता पाउँदैछ । विश्वास पनि जित्दैछ । केही वर्षयता नै राजधानीमा मोटरसाइकल ट्याक्सीको प्रचलन सुरु भएको छ । अहिले चाहिँ यसले आमउपभोक्तको विश्वास जितिरहेको छ ।
के हो मोटरसाइकल ट्याक्सी ?
मोटरसाइकल ट्याक्सी भनेको सामान्य ट्याक्सीजस्तै हो । यसको प्रयोग विधि पनि उस्तै हो । तर, मोटरसाइकल चढेर आफ्नो गन्तव्यसम्मको यात्रा तय गरेबापत अर्को ट्याक्सीमा जस्तो खर्च लाग्दैन । यो निकै सस्तो, छरितो र सुलभ ट्याक्सी हो । त्यही कारण अहिले मोटरसाइकल ट्याक्सीले व्यापकता पाउँदै गएको पनि हो ।


कसरी सुरु भयो ?
नेपालले केही वर्षयता ठूला प्राकृतिक तथा मानवीय विपत्ति सहनुप¥यो । माओवादी द्वन्द्व मत्थर भएपछिका राजनीतिक परिवर्तनसँगै देशले महाविनाशकारी भूकम्प सामना गर्नुप¥यो । भूकम्पले देशको आर्थिक, सामाजिक, भौतिक कुरामा उथलपुथल ल्याइदियो । त्यसलगत्तै भारतले अघोषित नाकाबन्दी ग¥यो । दैनिक उपभोग्य वस्तुदेखि पेट्रोलियम पदार्थसमेत रोक लगाइएपछि नेपालमा हाहाकार मच्चियो । ग्यास, पेट्रोल, डिजेलको पनि चरम अभाव भयो । सडकमा गाडीहरू गुड्न छाडे ।
यस्तो अवस्थामा पैदल हिँड्नुको विकल्प रहेन । यद्यपि यही संकटले एउटा राम्रो संस्कारको विकास गरिदियो । त्यो संस्कार हो, सहयोगको । बाटोमा गाडी, मोटरसाइकलले अरु बटुवालाई लिफ्ट दिन थाल्यो । गाडी रोकेर, बटुवालाई सोधेर लिफ्ट दिने यो संस्कार निकै अनुकरणीय थियो । यसले आपसमा आत्मीयता बढाइदियो । साथसाथै एक्ला–एक्लै कुदाइने मोटरसाइकलमा अरुलाई पनि लिफ्ट दिएर उनको गन्तव्यसम्म छाडिदिन सकिने रहेछ भन्ने कुराको बोध भयो ।
हो, यसपछि नै हामीकहाँ मोटरसाइकल ट्याक्सीको अवधारणा भिœयाइयो । खासमा यो लिफ्ट कल्चरकै व्यावसायिक रुप थियो । लिफ्ट कल्चरलाई व्यावसायिक रुप दिन केही उत्साही युवाहरूले टुटल एप्स बनाए । उक्त एप्स डाउनलोड गरेपछि प्रयोगकर्ताले मोटरसाइकलमा शुल्क तिरेर लिफ्ट पाउने भए । यसको अवधारणा शिक्षिट भट्टले तयार गरेका हुन् । लामो समय दूरसंचार र बैंकमा काम गरेका इन्जिनियर हुन् उनी । उनैले फरक काम गरौं भन्ने धारणाले टुटल एप्स निर्माण गरेका हुन् ।
जनवरी २०१७ बाट टुटल एप्सको सुरु भयो । सस्तो र छिटो हुने भएपछि हिजोआज टुटलको प्रयोग गरेर दैनिक दुई हजार यात्रुले सेवा लिइरहेका छन् ।
कसरी प्रयोग गर्ने ?
टुटल एप्स भएपछि मोटरसाइकलमा आफ्नो गन्तव्यसम्मको यात्रा गर्न गाह्रो छैन । त्यही एप्सको माध्यमबाट मोटरसाइकल मगाउने र गन्तव्यसम्म पु¥याइमाग्ने । यसका लागि निर्धारित शुल्क भने तिर्नुपर्छ । आफ्नो मोटरसाइकलमा यो सुविधा दिन चाहने र सेवा लिन चाहने दुवैले एप्स डाउनलोड गर्नुपर्छ । टुटल एप्सबाट सेवा लिन चाहेका बेला इन्टरनेटसँग जोडिएर आफू जाने रुटका मोटसाइकल चालकसँग सम्पर्क गराइदिन्छ ।
ट्याक्सीभन्दा यो सस्तो भयो । छरितो पनि । अन्य सवारी साधन जान नसक्ने ठाउँमा पनि मोटरसाइकल जाने भयो । यसको धेरै राम्रो उपयोगिता र सहुलियत छ ।
यसले दोहोरो काम गरेको छ । एकातिर सेवाग्राहीलाई सस्तो, छिटो र छरितो सेवा दिएको छ भने मोटरसाइकल धनीलाई आर्जन गर्ने अतिरिक्त मेलोमेसो पनि मिलाइदिएको छ । अहिले थुप्रै मोटरसाइकल धनी टुटुलमा जोडिएका छन् । यसैगरी यसको प्रयोग गर्ने सेवाग्राहीको संख्या पनि निरन्तर बढ्दो छ ।
कति लाग्छ खर्च ?
यो सेवा दिने–लिने दुवैले टुटल एप्समा दर्ता हुनुपर्छ । एकपटक दर्ता भएपछि चाहेको बेला सेवा लिन र दिन सकिन्छ । ‘टुटल’ ले आफू ‘राइड सेयरिङ प्ल्याटफर्म’ को रुपमा प्रस्तुत गरेको छ । एप्समार्फत पैसा तिरेर ट्याक्सीजस्तै गाडी र मोटरसाइकल भाडामा पाइन्छ । भाडाको मोटरसाइकल चढ्न चाहनेले ३ किलोमिटरको ६० रुपैयाँ र बाँकी प्रतिकिलोमिटर १८ रुपैयाँको दरले भाडा लाग्छ ।
उपत्यकामा सञ्चालित यो सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्छ । यो सेवा दिएबापत चालकले ८० प्रतिशत रकम लिन्छ भने टुटलले २० प्रतिशत लिने गरेको छ । चालक र यात्रुले मोबाइल एप्समार्फत नै खाता खोलेर वालेट वा क्यास पेमेन्टबाटै कारोबार गर्न पनि सकिन्छ । भाडाको २० प्रतिशत रकम टुटल एप्सलाई तिर्नुपर्छ ।
प्राविधिक समस्या
कुनै पनि कुराको दुईवटा पाटो हुन्छ । मोटरसाइकल ट्याक्सीको पनि फाइदा मात्र छैन वा यसको गुणगान मात्र गाउन सकिने अवस्था छैन । केही प्राविधिक र व्यावहारिक समस्या छ ।
मोटरसाइकलमा शुल्क तिरेर यात्रा गर्नुपर्ने बाध्यता भएकाहरू यसमा पूर्णतः विश्वस्त हुन सक्ने अवस्था छैन । खासगरी युवा वा पुरुषहरूले यसमा सुरक्षित अनुभव गरे पनि महिला वा युवतीहरूलाई यसमा अलि गाह्रो हुन सक्छ । त्यसै त महिला हिंसा बढिरहेको अवस्थामा यस्तै विधि अपनाएर अपराधीहरू सलबलाउन सक्छन् । त्यही कारण मोटरसाइकल ट्याक्सी प्रयोग गर्ने महिलाहरू ढुक्क हुन सक्दैनन् । साथै मोटरसाइकल ट्याक्सी रातको समयमा उपलब्ध नहुन सक्छ । सुरक्षित पनि नहुन सक्छ । यसमा सेवाग्राही मात्र होइन, सेवा प्रदायक वा मोटरसाइकल धनी पनि ठगिन वा दुव्र्यवहारका सिकार हुन सक्ने सम्भावना रहन्छ ।
यद्यपि विश्वासको वातावरण र सोही अनुसारको संयन्त्र विकास गर्न सकिए यस्ता भय र त्रास हट्न सक्छ ।
कानुनी अवरोध
कानुनी हिसाबले मोटरसाइकल ट्याक्सी वैधानिक मानिएको छैन । यसलाई यातायात व्यवस्था विभागले पनि आफ्नो नियन्त्रणमा राख्ने व्यवस्था गरिसकेको छैन । त्यसैले मोटरसाइकलमै ‘पेइङ लिफ्ट’ कल्चर विकास गर्न लाग्दा कानुन नै बाधक देखिएको बताइन्छ । यातायात व्यवस्था विभागले भने निजी सवारीले भाडा लिएर यात्रु बोक्नु अवैधानिक भनेको छ । यातायात व्यवस्था ऐनले एउटा प्रयोजनमा दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन नपाउने स्पष्ट व्यवस्था गरिएको छ ।
यस्तो पनि ?
त्यसो त मोटरसाइकलमा शुल्क तिरेर यात्रा गर्नु त्यति ढुक्क हुन सकिने अवस्था छैन । केही समयअघि एक युवती यस्तै मोटरसाइकलमा यात्रा गर्दा दुव्र्यवहारमा परेको घटना सार्वजनिक भएको थियो ।
समाचारमा उल्लेख भए अनुसार स. ७ प. ७३५५ नम्बरको मोटरसाइकलमा पेइङ लिफ्ट लिएकी उनले केही समयमै चालकको दुव्र्यवहार झेल्नुप¥यो । ती युवतीका अनुसार चालकले ‘तिमी लड्छौ, मलाई च्याप्प समात’ भन्दै मोटरसाइकल दौडाएका थिए । त्यसपछि एकान्तकुना पुगेपछि युवतीको संवेदनशील अंगमा हात लम्काउँदै सेक्स प्रस्ताव राखेका थिए ।