पहिलो गाडी टोयोटा कोरोल्ला गायक, आनन्द कार्की
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
October 3, 2018

तपाईंले कहिलेदेखी गाडी चढ्न लाग्नुभयो र पहिलो गाडी कुन चढ्नुभयो ?
मैले २०४३ सालदेखि गाडी चढ्न लागेको हुँ, पहिलो गाडी टोयोटा कोरोल्ला चढेको थिएँ ।

त्यो बेला गाडी चढ्ने कलाकारहरु को–को थिए ?
कलाक्षेत्रको कमाईले गाडी चढ्ने त म नै पहिलो हुनुपर्छ । त्यो बेला अरु गाडी चढ्ने भनेको भुवन केसी, निर शाहलगायतका केही हुनुपर्छ । सबै भन्न सकिने अवस्था छैन, तर जतिले चढ्नुहुन्थ्यो मेरो विचारमा उहाँहरु मजस्तो सामान्य परिवारको मान्छे अनि कलाक्षेत्रको कमाइले गाडी चढ्नुहुनेमा पर्नु हुन्नथ्यो ।
तपाईंले त्यो बेला गीत गाएरै कमाएको पैसाले गाडी किन्नुभएको हो ?
हो, मेरो बाल्यकाल इन्डियामै बित्यो । मेरो बाबा इन्डियन आर्मी भएकाले मैले पढाइ सोलुखुम्बुमा नगरेर लखनउमा गरेको थिएँ । मैले त्यहीं संगीत सिक्ने गाउने पनि गरे अनि नेपालमा २०४० सालमा आएर गीत गाउन थाले । मैले सुरुमा होटल सेराटनमा गजल गाएँ । अन्य स्टेजमा पनि हिन्दी गजल गाउँथे । त्यो बेला थोरै समयमा राम्रो पैसा कमाए र गाडी किने ।

पहिलो नेपाली गीतचाहिँ कहिले गाउनुभयो ?
मैले पहिलो गीत २०४२ सालमा रेडियो नेपालमा भोकल टेस्ट पास गरेको ‘जिन्दगीमा धेरै खोला तर्नु छ’ बोलको गीत गाएको थिएँ । त्यो बेला रेडियो नेपालमा र विनोद चौधरीको स्टुडियोमा मात्रै रेकर्डिङ हुन्थ्यो । विनोद चौधरीको ग्रुप थ्री भन्ने स्टुडियो थियो ।

नेपाली गीतसँग चाहिँ कहिले परिचित हुनुभयो ?
म २०४० सालमा नेपालमा आएपछि रेडियो नेपालमार्फत नारायण गोपालका गीत सुनें । अनि सुरुमा मैले नारायण गोपाल, गोपाल योञ्जन, दीपक जंगमलाई चिन्ने मौका पाएको थिएँ, अनि नेपाल टेलिभिजको स्थापना भएपछि हामीले उभिएर गाएका गीतहरु देखाइन्थ्यो । त्यहाँ गएर म उभिएर गीत गाउँथे । आज कसले गाएको गीत आउँछ भनेर गोरखापत्रमा छापिन्थ्यो ।

अहिले चाहिँ कुन गाडी चढिरहनुभएको छ ?
मैले अहिले लामो समयदेखि चौथो गाडीका रुपमा निसानको सन्नी चढिरहेको छु ।