नागढुंगा–सिस्नेखोला निर्माण कार्य सुरू
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
March 19, 2020

सुरुङमार्ग निर्माण गर्ने जग्गाको मुआब्जाका विषयमा सहमति जुटेपछि धादिङ तर्फबाट नागढुंगा सुरुङमार्ग निर्माण कार्य सुरू भएको छ । जग्गा अधिकरण विवादले विगत दुई महिनादेखि रोकिन पुगेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गअन्तर्गत धादिङतर्फको निर्माण कार्य गत शुक्रबारबाट सुरू भएको हो ।

जापानी कम्पनी हाज्मा एन्डो र नेपाल सरकारबीच भएको निर्माण सम्झौताअनुसार गएको तिहारलगत्तै सुरू हुनुपर्ने सुरुङमार्गको निर्माण कार्य धादिङतर्फ पर्ने जग्गाको मुआब्जा विवादले रोकिन पुगेको थियो ।

सुरुङमार्गको प्रस्थान विन्दुमा पर्ने धादिङको धुनीबेँसी नगरपालिकामा पर्ने ४४ रोपनी जग्गा श्री ५ को वायुगुठीको नाममा रहेको भए पनि सो जग्गाको वर्षौंदेखि व्यक्तिको भोगचलनमा रहेकाले अधिग्रहणका लागि मूल्य निर्धारणमा समस्या आएको हो । आयोजनाले अधिकरण गर्ने वायुगुठीको जग्गामा विवाद मिलेपछि सिस्नेखोलाबाट निर्माण कार्य सुरू भएको हो ।

जग्गा अधिकरण विवादले विगत दुई महिनादेखि सुरू हुन नसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गअन्तर्गत धादिङतर्फको निर्माण कार्य शुक्रबारबाट नै सुचारु भएको हो । निर्माण कार्यमा अवरोध गरे निर्माण आयोजनाले बल प्रयोगगरी काम सुरू गर्ने तयारी गरेपछि सरोकारवालाहरुबीच सहमति जुटेर निर्माण कार्य अघि बढेको धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार धादिङ क्षेत्र नं १ का संघीय सांसद् भूमि त्रिपाठी, धुनीबेँसी नगरप्रमुख आचार्य, वायुगुठीका सरोकारवाला स्थानीयलगायतको छलफलले काम सुरू गर्न दिन सहमति दिएको हो ।

मुआब्जाको विवाद नटुंगिदा दुई महिनायता उक्त सुरुङमार्गअन्तर्गत धादिङतर्फको निर्माण कार्य अघि बढ्न सकेको थिएन । निर्माण कार्य सुरू गर्न तत्कालीन श्री ५ को वायुगुठीमा रहेका स्थानीय ४१ घरधुरीले अवरोध गरेपछि ठेकेदार कम्पनीले साइट क्लियरको माग राख्दै आयोजना कार्यालयलाई पटकपटक पत्राचार गरेको थियो ।

स्थानीयको विरोधका कारण आयोजनाले मुआब्जा वितरण गरिसकेको १७ रोपनी जमिनमा समेत निर्माण कार्य सुरू हुन सकेको थिएन । सरोकारवालाबीच छलफल भएपछि १७ रोपनी जग्गाबाट माटो लिएर सिस्नेखोलाको खाल्डो भाग पुुर्ने काम भइरहेको छ । दैनिक २४० खेप माटो टिप्परले खाल्डोमा हालिरहेको छ । आयोजनाले सुरुङमार्गका लागि धादिङतर्फ ४४ र काठमाडौँतर्फ २६६ रोपनी जमिन अधिग्रहण गर्ने निर्णय गरेको छ । सुरुङमार्ग निर्माणका लागि धादिङतर्फ कुल १०९ रोपनी अधिग्रहण गर्नुपर्नेमा आयोजनाले ४४ रोपनी जग्गाको मुआब्जा दिनुपर्ने देखिएको छ ।

मुआब्जा दिनुपर्ने ४४ रोपनीमध्ये २६ रोपनी श्री ५ को वायुगुठीको नाममा रहेको आयोजनाले जनाएको छ । निर्माण क्षेत्रमा पर्ने जग्गा श्री ५ को वायुगुठीअन्तर्गत रहेको हुनाले यस क्षेत्रका वासिन्दाले व्यक्तिगत अथवा रैकर जग्गाको तुलनामा कम मुआब्जा तोकिएको भन्दै विरोध जनाएका छन् ।

अधिग्रहण गर्ने भनिएको जमिनमा बसोबास गरिरहेका स्थानीयले सरकारले दिने भनेको मुआब्जाको पूरै रकम पाउनुपर्ने माग गरिरहेका छन् तर कानुनले गुठीको जमिन उपभोग गरिरहेकालाई मुआब्जा दिँदा कुल रकमको ३३ प्रतिशत दिने व्यवस्था गरेको छ । विद्यमान कानुनले व्यवस्था गरेकोभन्दा बढी रकम स्थानीयलाई दिन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । जमिन उपभोग गरेर बसेका स्थानीयको समस्यालाई मन्त्रिपरिषद्सम्म पु¥याएर निकास खोज्न सांसद् त्रिपाठीले सहयोग गर्ने बताएका छन् ।

बूढीगण्डकी आयोजना स्थलमा रहेका गुठीहरुको मुआब्जाबारे २०७४ वैशाख १ गते नेपाल सरकारले गरेको निर्णयले शत्प्रतिशत रकम मुआब्जा मोहीहरुलाई नै दिने गुठी संस्थानलाई क्षतिपूर्ति नेपाल सरकारले दिने नजिर भएकोले यसैअनुसार गर्न हामीले माग गरेका छौँ । जिल्लाबाट पनि गत साउन २० गते नै यहीअनुसार सिफारिस पत्र लेखिएको सांसद् त्रिपाठीले जानकारी दिए ।

अधिग्रहण गर्ने जमिन उपभोग गरिरहेकालाई ३३ प्रतिशतभन्दा बढी रकम दिन चाहे पनि कानुन बाधक रहेको छ । यस्का लागि सरकारले निर्णय गरेर बाटो खोलिदिनुपर्ने आयोजना प्रमुख खरेलले बताए । काम ढिलो हुँदै जाने हो भने एकातिर आयोजना समयमा सक्न समस्या हुने र अर्कोतर्फ ठेकेदार कम्पनीलाई दैनिक ७० लाख रकम क्षतिपूर्ति दिनुपर्ने छ ।

ठेकेदार कम्पनीलाई क्षतिपूर्ति दिनुपरेमा आयोजनाको लागतसमेत बढ्ने छ । धादिङतर्फको जग्गाका लागि प्रतिआना सात लाख ७० हजारदेखि नौ लाख ९० हजार रुपैयाँसम्म मुआब्जा तोकिएको छ भने काठमाडौँतर्फको जग्गाको मुआब्जा प्रतिआना नौ लाखदेखि ४२ लाख रुपैयाँसम्म दिइएको छ ।

धादिङतर्फको १७ रोपनीसहित काठमाडौँतर्फको घर, जग्गालाई समेत गरी अहिलेसम्म पाँच अर्ब रुपैयाँ मुआब्जा दिइसकेको आयोजना प्रमुख खरेलले बताए । काठमाडौँतर्फ १३ पक्की घर ४० वटा टहरा भत्काउन मुआब्जा दिइएको थियो । आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । उक्त सुरुङमार्ग सडकतर्फ नेपालकै पहिलो हो । जसलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै आएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको ऋण सहयोगमा उक्त आयोजना गत नोभेम्बर १४ देखि सुरू भएको हो । सुरुङमार्ग निर्माणका लागि जाइकाले सहुलियत ब्याजमा १६ अर्ब रुपैया ऋण उपलब्ध गराउने सम्झौता छ । सुरुङमार्गको लम्बाई २.७ किलोमिटर हुनेछ । साढे नौ र चार मिटरका दुईवटा सुरुङको निर्माण गर्ने आयोजनाको लक्ष्य छ । धादिङ र काठमाडौँतर्फ पाँच–पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब २३ अर्ब रुपैयाँ खर्च हुनेछ ।