ट्याक्सीको विकल्प  खोज्न सकिन्छ  ?
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
March 17, 2019

ट्याक्सी एवं ट्याक्सी चालकमाथि समाजको सकारात्मक छाप छैन । ट्याक्सी चालक भन्नासाथ धेरैले उनीहरूलाई ठगको संज्ञा दिन्छन् । धेरैलाई लाग्छ, ट्याक्सीवालाले अनुचित ढंगले बढी भाडा असुल गर्छ ।
आफ्नै सवारी साधन नहुँदा, सार्वजनिक यातायातबाट लक्षित गन्तव्यसम्म पुग्न संभव नहुँदा हामीलाई ट्याक्सीको आवश्यकता पर्छ । अर्थात हामी त्यस्तो अवस्थामा छिटो र छरितो यात्राका लागि ट्याक्सीलाई गुहार्छौं ।
ट्याक्सी जुनसुकै रुटमा चल्न पाउने र जहाँ पनि जान संभव हुने भएकाले तुरुन्तै कतै पुग्नका लागि यो भरपर्दो साधन बन्दै आएको छ । ट्याक्सीमा चढेपछि के आधारमा भाडा लिने त ?
यसका निम्ती यातायात व्यवस्था विभागले एक मिटर जडान गराइदिएको छ, जसले ट्याक्सी स्टार्ट भएदेखि कुनै गन्तव्यमा पुग्दासम्म लाग्ने खर्चको आंकडा देखाइदिन्छ । त्यही आधारमा ट्याक्सी चढ्नुपर्ने हुन्छ । चढाउनुपर्ने हुन्छ । यो एक वैज्ञानिक पद्धती हो, भाडादर कायम गर्ने । उपकरणको माध्यम अपनाइने हुँदा यसबाट न सेवा प्रदायक घाटामा जान्छन्, न सेवाग्राहीलाई घाटा हुन्छ ।
तर तपाई जब कुनै ट्याक्सीमा चढेर यात्रा गर्नका लागि सोच्नुहुन्छ । साथसाथै तपाईको मनमा अर्को तनाव थपिन्छ, कतै ट्याक्सीले मलाई ठग्ने त होइन ?
किनभने ट्याक्सीमा कतै जानका लागि हामीले अनुरोध ग¥यौं भने चालकहरू सोझै भन्छन्, ‘कति दिने ?’
हामी भन्छौं, ‘मिटरमा जति उठ्छ, त्यती ।’
तर ट्याक्सी चालक मञ्जुर हुँदैनन् । उनीहरू आनाकानी गर्दै भन्छन्, ‘मिटरमा जाँदा घाटा लाग्छ ।’
हामीलाई उसको कुरा पत्यार लाग्दैन । अलि कडा आवाजमा भन्छौं, ‘कसरी मिटरमा जाँदा घाटा लाग्छ ? सरकारले घाटा लाग्ने गरी पनि कतै मिटर जडान गरिदिन्छ त ?’
चालक तर्क गर्छन्, ‘मिटर उहिल्यै जडान भएको हो । त्यसपछि ६ पटकभन्दा बढी पेट्रोलको भाउ नै बढिसक्यो ।’
हामीलाई उसको तर्कमाथि तर्क गर्नु छैन । एकातिर आफ्नो गन्तव्यमा पुग्ने हतारो हुन्छ । अर्कोतिर ट्याक्सी चालकले हाम्रो रिसको पारो बढाइरहेको हुन्छ । हामी दिक्क मान्दै भन्छौं, ‘ल हिंड्नुहोस्, कतिमा जाने हो ?’
हामीले हार खाएको बुझेपछि ट्याक्सी चालकले अनुमानित भन्दा दोब्बर वा तेब्बर बढी भाडा शुल्क भन्छन् । अर्थात ट्याक्सी चालकले जति भाडा असुल गर्ने बताउँछ, यदि मिटरमा जाने हो भने त्यसको एक तिहाई कम भाडा पनि उठ्दैन ।
यतिबेला हामीलाई ट्याक्सी चालकसँग रिस उठ्छ । रिस उठे पनि केही उपाय बाँकी हुँदैन । रिसले मुर्मुरिदै हामी ट्याक्सीमा चढेर गन्तव्यतर्फ जान्छौं । ट्याक्सी चालक भनिरहेका हुन्छन्, ‘ट्याक्सी चलाउनु फाइदा छैन । सरकारले पनि हेप्छ, यात्रुले पनि हेप्छ । सरकार भन्छ मिटरमा हिडाउनु । अब मिटरमा हिडाउँदा हामी मारमा पर्छौं । हाम्रो मर्का यात्रुले बुझ्दैनन् ।’
के यातायात व्यवस्था विभागले निर्धारण गरिदिएको मिटरले ट्याक्सी चालकहरू मर्कामा परेका होलान् ? या त उनीहरूले यात्रुलाई ठग्नका लागि यस्तो बाहाना बनाएका हुन् ? के उनीहरूलाई गन्तव्यमा पुगेर फर्कनका लागि अतिरिक्त इन्धन खर्च गनुपर्छ ? कि त्यसरी खपत हुने इन्धनको मापन मिटरले गरेर त्यसको शुल्क यात्रुबाट असुल गरिन्छ ?
यस्ता थुप्रै जिज्ञासा छ । काठमाडौं, पोखरा जस्ता शहरी क्षेत्रमा ट्याक्सी एक अपरिहार्य सवारी साधन हो । तर यसप्रति जनविश्वास छैन । ट्याक्सीले सर्वसाधरणको विश्वास गुमाएको छ । ट्याक्सीमा चढ्नु आफंैमा महंगो त हुन्छ नै त्यसमाथि ठगिने भय पनि रहन्छ । त्यसैले ट्याक्सी चढ्नु भनेको आपतमा मात्र हो भन्ने धारणा छ ।
यसरी ट्याक्सीप्रतिको विश्वास घट्दै गएपछि शहरमा त्यसको विकल्प खोजी भयो । यही खोजी स्वरुप मोटरसाइकलमा लिफ्ट दिने प्रणाली आयो । विनासकारी भुकम्पलगत्तै भारतले अघोषित नाकाबन्दी गरेको बेला देशमा इन्धन संकट छायो । त्यसबेला गाडीहरू चलेनन् । यात्रु बाटोमा बिचल्ली भए । त्यसरी समस्यामा परेका बटुवालाई मोटरसाइकल चालकले लिफ्ट दिने संस्कार सुरु भयो । त्यो पनि स्वतः स्फूर्त । यसरी लिफ्ट दिने क्रमलाई व्यवस्थित र विकसित गरेर यसलाई सशुल्क ट्याक्सी जस्तै बनाइयो । पठाओ र टुटल एप मार्फत यस्तो व्यवस्था गरियो । हात–हातमा स्मार्टफोन भएको यो अवस्थामा यसले चाडै लोकप्रियता पायो । ट्याक्सीमा भन्दा एकदमै कम शुल्कमा आफ्नो गन्तव्यसम्म यात्रा गर्न सकिने भएकाले टुटल र पठाओलाई सर्वसाधरणले रुचाए ।
तर, पछिल्लो समय यसलाई अबैधानिक भनेर रोकियो । एकातर्फ यसको वैधानिकता र सुरक्षामाथि प्रश्न गर्दै रोक लगाइयो भने प्रधानमन्त्री केपी शर्मा ओलीले यो आवश्यक र उपयोगी भएको भन्दै टुटल र पठाओलाई सुचारु गर्न आदेश दिए ।
यसले सामाजिक संजाल र संचार माध्यममा ठूलै तरंग पैदा ग¥यो । अधिकांशले टुटल र पठाओको पक्षमा वकालत गरे । तर ट्याक्सी चालक, यातायात व्यवसायी, ट्राफिक प्रहरी समेतले यसलाई गैरकानुनी भन्दै रोक्नुपर्ने बताए ।
यता सामाजिक संजाल प्रयोगकर्ताले भने सेवालाई प्रतिबन्ध लगाउने होइन बरु कानुनलाई खुकुलो बनउनुपर्ने भन्दै तर्क पेश गरे । वास्तवमा ट्याक्सी व्यवसायीहरूले भनेजस्तै मेरो गोरुको बाह्रै टक्का भन्ने कुरा आउँदैन । ट्याक्सी वा यातायात भनेको व्यवसायीको हितका लागि भन्दा पनि सेवाग्राहीका सुविधाका लागि हो । यात्रुको लागि हो । त्यसैले यात्रुले सहज र शुलभ रुपमा यात्रा गर्न पाउनुपर्छ । यसका लागि जे जति यातायातका साधनहरू उपलब्ध हुन्छन्, त्यसलाई थप विकासित र व्यवस्थित गर्दैै लानुपर्छ । त्यसै पनि राजधानी जस्ता शहरमा यात्रुको चाप बढी छ । सवारी साधनको उपलब्धता कम छ । यस्तो अवस्थामा थपिएका नयाँ सुविधालाई प्रोत्साहित गर्नुपर्छ । बरु यसका लागि उनीहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ । करको दायरामा ल्याउनुपर्छ । यसो गरिएमा त्यो बढी व्यवसायिक हुन्छ ।
त्यसो त मोटरसाइकलमा लिफ्ट दिने व्यवस्था कतिपय अवस्थामा असुरक्षित पनि हुनसक्छ । यसमा सेवाग्राही र चालक दुवैलाई असुरक्षाको अवस्था आउन सक्छ । त्यसैले यसलाई कसरी सुरक्षित र भरपर्दो बनाउने भन्नेमा धेरै अभ्यास गर्नुपर्ने आवश्यकता छ ।
अर्कोतिर ट्याक्सी व्यवसायीलाई पनि हामीले ठगको रुपमा पेश गरिरहनु हुँदैन । उनीहरूलाई पेशागत मर्यादामा रहन दिनुपर्छ र उनीहरूको पेशाप्रती हामीले सम्मानको वातावरण मिलाइदिनुपर्छ । कुनैपनि पेशा आफंैमा खराब हुँदैन । तर त्यो पेशा अपनाउने व्यक्तिले कस्तो व्यवहार गर्छन् भन्ने कुराले उसको समग्र पेशालाई असर गर्छ ।
ट्याक्सी व्यवसाय यातायात संघका महासचिव समेत रामेछाप खाँडादेवी गाउँपालिका–७, ताल्धुङका पुर्ण तामाङ विगत १२ वर्षदेखि ट्याक्सी चलाउँदैं आएका छन् । उनले आफ्नो पेशाको आधा समय त विदेशमा विताए । उनले करिब ६ वर्ष विदेशमा ट्याक्सी चलाए ।
नेपालमै केही गरौं, आफ्नो घरपरिवार, श्रीमती, छोराछोरीसँग बसेर एकै छाक भए पनि सुःख दुःख बाँडेर खाउँ भन्ने मनसायका साथ उनी नेपाल फकिए । घर परिवार तथा आफ्नो गुजारा चलाउन नेपाल फर्किएर पनि उनी आफ्नै पेशामा फर्किए । यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर ट्याक्सी चलाउँदैं आएका छन् ।
ट्याक्सी चालक उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा संघका महासचिव समेत रहेका तामाङ सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले विदेश अनुभवलाई एकदमै राम्रो मानेका छन् । विदेशमा ट्याक्सी चलाउँदा उनलाई एकदमै सजिलो भयो । निती नियम तथा सिस्टममा चल्दा एकदमै राम्रो लाग्थ्यो । तर नेपाल फर्किएपछि सानो केही हुँदा पनि ट्याक्सीकै दोष मानिन्छ, जुन कुराले उनलाई चित्त दुख्छ ।
नेपालमा निती नियम नै नभएको उनको दाबी छ । यहाँ कोही पनि जिम्मेवार नभएको उनको ठहर छ । ‘सरकार पनि जिम्मेवार छैन, ट्याक्सी चालक पनि जिम्मेवार छैनन् । सरोकारवाला निकाय गैरजिम्मेवार हुँदा सेवाग्राहीले दुःख पाईरहेका छन् उनी भन्छन् । ट्याक्सी चालकमाथि जुन ठग, लुटेरा जस्ता ट्याग भिराई दिइएको छ त्यो बाट उनलाई निकै दुःखी बनाएको छ । एक दुई चालक खराब हुँदैंमा सबैमाथी ठग, लुटेराको ट्याग लगाइनु गलत भएको उनको तर्क छ ।
आफूहरूको दुःख पिर मर्का कसैले पनि सुन्न नसकेको भन्दै सेवाग्राहीको भरमा आफूहरू बाँचिरहेको उनको भनाई छ । नेपालका आम जनता एकदमै राम्रा छन् । अझ भनौं भगवान नै भन्दा फरक पर्दैन । उहाँहरूले नै दिएको पैसाले हामीले हाम्रो घर परिवार पाल्दै आएका छौं । सरकारी नीतिअनुसार चल्ने हो भने त हामी आत्महत्या गर्नुको विकल्प नै छैन ।
वैज्ञानिक भाडादर लागू नहुँदा आफूहरू यात्रुको नै भर पर्नु परेको उनको भनाई छ । सरोकारवाला निकाय ट्याक्सी चालकलाई दोषी बनाएर उम्कन खोजिरहेको भन्दै यसले सम्मानित पेशा नै बदनाम बन्दै गएको उनको बुझाई छ ।

Email: info@eautonepal.com