टाटाले ल्यायो नेपाली बजारमा विंगर
PRAYASH
December 30, 2018

पौष १५, काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा टाटाको नयाँ उत्पादन विंगर मिनीबस ल्याएको छ । नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले एक समारोहकाबीच विंगर सार्वजनिक गरेको हो ।

कमर्सियल गाडी वितरणमा प्रतिष्ठित मानिने टाटाले पछिल्लो समय प्यासेन्जर सेग्मेन्टका कारहरु समेत प्रदान गर्दै आएको छ । त्यस्तैमा लामो तथा छोटो दुरीको टुर्स् तथा ट्राभललाई लक्षित गर्दै मध्यम रेन्जको विंगर मिनिबस ल्याएको छ । यसले नेपालीहरुको विंगर यात्रासँगै भरपुर मन जित्ने टाटाले विश्वास लिगेको छ ।

पहिलो चरणमा काठमाडौं, इटहरी र बुटवल गरी तीन शहरमा चरणवद्ध रूपमा सार्वजनिक गरिएको विंगरको बजार मूल्य ३० लाख ८० हजार रुपैयाँबाट प्रारम्भ हुने कम्पनीले जनाएको छ ।

समारोहमा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजनबाबु श्रेष्ठले सिप्रदीमा रहेर यी उत्पादनहरूलाई समृद्ध खरिद अनुभव र बिक्री पछिको उच्चस्तरीय सेवा सहायताको माध्यमबाट सहयोग जारी राख्ने बताए ।

रूट एप्लिकेसन तथा टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि अद्वितीय आराम र अपरेटरका लागि सुबिधा प्रदान हुने कम्पनीले जनाएको छ । यसको लम्बाई ५४५८ मिमी र उचाई १९०० मिमी रहेको छ । जसले यात्रुहरुलाई यात्रामा निकै सहज हुने बताइएको छ ।
विंगरमा १५ इन्चको ह्विल क्याप सहितको टायर प्रयोग गरिएको जसले बसलाई निकै आकर्षक र स्टाइलिस देखाएको छ ।

टुर एण्ड ट्राभलस्कै लागि भनेर निर्माण गरिएको विंगर आरामदायी रहनुका साथै सुरक्षित पनि रहेको कम्पनीले बताएको छ । १८० मिमीको ग्राउण्डक्लियरेन्सले अफरोडमा समेत सहजता प्रदान गर्ने कम्पनीको भनाई छ । गाडीमा प्रयोग गरिएको स्वतन्त्र अगाडिको सस्पेन्सन र हाइड्रोलिक शक एब्जर्वरसहितको एन्टिरोल बारले अझ थप कम्फर्टनेसको सुनिश्चितता गराएको छ । त्यस्तै, आरामदायी पछाडि धकेल्ने सिटहरू, व्यक्तिगत वातानुकुलीत भेन्टहरू, सिटको हरेक पंक्तिमा युएसबी चार्जिङ प्वाइन्ट लर्गातका अतिरिक्त फिचर्सहरु समेत प्रदान गरिएको छ ।

१५ सिट भएको यो सवारी साधनमा अगाडि स्वतन्त्र एमसी फेर्सन स्ट्रुट सस्पेन्सन सिस्टम छ जसले राम्रो गतिशीलता र उच्चतम आराम प्रदान गर्दछ ।

अधिकतम कार्यसम्पादन र इन्धनको किफायतीका लागि, विंगर मिनीबसमा टाटा मोटर्सको २.२ लिटरको डाइकर इन्जिन छ जसले १०० हर्सपावरको शक्ति र १९० एनएमको फ्ल्याट टर्क दिन्छ र कम आरपीएममा पनि धेरै तान्न शक्ति सुनिश्चित गर्छ ।