चितवन अटो मेकानिकल व्यवसायी संघद्धारा चालकको स्वास्थ्य परीक्षण
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 8, 2018

चितवन अटो मेकानिकल व्यवसायी संघको २२ औं दिवसको अवसरमा भरतपुर १ रामनगरमा आयोजित सवारी साधनको यान्त्रिक परीक्षण तथा चितवन मेडिकल कलेजको सहकार्यमा चालकको मानव स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भयो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवनमा अटोमेकानिक व्यवसायी संघले महत्वपूर्ण काम गरेको बताउनुभयो । सडक, सवारी साधन र सवारीचालक स्वस्थ हुनुपर्ने भन्दै दुर्घटना न्यूनीकरणमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रदेश नं २ का ट्राफिक प्रमुख प्रहरी उपरीक्षक नबीनराज राईले ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको लागि वैज्ञानिक सडक पूर्वाधार, गुणस्तरीय सवारी साधन र सचेत सवारीचालक र सचेत नागरिक हुनुपर्ने भएको भन्दै यस्ता कार्यक्रमले यस सम्बन्धी सचेतना जगाउन सहयोगी हुने विश्वास ब्यक्त गरेका थिए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले रचनात्मक कार्यक्रमलाई निरन्तरता दिएर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिकाले अटो ब्यवसायलाई व्यवस्थित ढंगले संचालन गर्न चाहेको भन्दै अत्याधुनिक अटोल्यान्ड निर्माणको काम छिट्टै थालनी हुने बताउनुभयो ।
पछिल्लो समयमा सवारी दुर्घटना समस्याको रूपमा रहेको भन्दै यसको न्यूनीकरणका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरू आपसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने प्रमुख दाहालले बताउनुभयो ।
‘ठूला पूर्वाधार विकासका कामहरू रिंङरोड, लिंकरोड, सिटीहल, अटोल्यान्ड, देवघाटमा विद्युतीय शवदाह गृह निर्माण फलफूल तरकारी बजारको व्यवस्थापन लगायतका कामहरू भईरहेको बताउनुभयो ।
प्रमुख दाहालले फुटपाथ ब्यवस्थापन, तीन पाड्ग्रे सवारीसाधनको व्यवस्थापनले बजार क्षेत्र सुन्दर व्यवस्थित र दुर्घटना न्यूनीकरणमा सहयोगी भएको बताउनुभयो । प्रमुख दाहालले आम नागरिकको सवारी सुरक्षामा महानगरपालिकाको तीब्र चासो हुने भन्दै यसका लागि सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
भरतपुर १ वडाध्यक्ष जयराम श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शनिबार नारायणगढ–मुग्लिन सडकको रामनगरमा चितवन अटो मेकानिकल ब्यवसायी संघ र चितवन मेडिकल कलेजसँगको सहकार्यमा गाडीको यान्त्रिक परीक्षण र चालकको स्वास्थ्य परीक्षण गरेको हो ।

चालकको स्वास्थ्य परीक्षण 
चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष राम लोहनीको अध्यक्षतामा  १ सय ३२ गाडीको यान्त्रिक परीक्षण र ती गाडीका चालकको स्वास्थ्य परीक्षण गरिएको छ ।
कार्यक्रममा चालकका आँखा परीक्षण गर्दा १५ जना चालकको आँखा कमजोर भेटिएको हुनाले उनीहरुले चस्मा लगाउनुपर्ने अवस्था रहेको अध्यक्ष लोहनीले जानकारी दिनुभयो । कार्यक्रममा हाम्रो घरका अध्यक्ष रामहरि श्रेष्ठलाई अटो मेकानिकल व्यवसायी संघले एक छाक खानाको लागि ७ हजार ५०० नगद हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

(PHOTO: Narayanionline.com)