काभ्रे धुलिखेलका ट्याक्सी चालक सुरेश तामाङले छुटेको रकम र सामान बुझाए
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
October 7, 2018

गत अक्टोबर ३ मा हिले केही समयको लागि नेपाल आएका अमेरिकी नागरिक प्याट्रिक हिले शनिबार स्वयम्भुबाट बा२ ज ५१४२ नम्बरको ट्याक्सी चढेर सिभिलमल पुगे । उनि ट्याक्सीबाट ओर्लिए, त्यत्तिकैमा ट्याक्सी हिँड्यो । त्यसपछि हिलेले आफूसँग भएको पैसालगायत अन्य सामानहरु ट्याक्सीमा नै छुटेको थाहा पाए । ट्याक्सी चालकले विदेशी नागरिकको ट्याक्सीमा छुटेको रकम र सामान बुझाएका छन् ।

हिलेले २ हजार २ सय १९ अमेरिकी डलर सहित युएस पासपोर्ट, नागरिकता, ट्राभल डकुमेन्ट, फ्लाई टिकट, निकोनको एक थान क्यामेरा, एक थान मोबाइल रहेको झोला ट्याक्सीमा छोडेका थिए । त्यसपछि हतासिएका हेलिले महानगरीय ट्राफिक प्रहरी विभाग दरबारमार्गमा खबर गरे । उनले ट्याक्सी नम्बर समेत याद गरेका थिएनन् । उनको बयानको आधारमा दरबारमार्ग ट्राफिक प्रहरीले ट्याक्सीको खोजीकार्य सुरु ग¥यो ।

हिलेलाई सिभिलमहल छाडेर अगाडि बढेका काभ्रे धुलिखेलका ट्याक्सी चालक सुरेश तामाङ ले जमल पुगेपछि ट्राफिक प्रहरीलाई बाटोमा देखे । प्रहरीलाई देखेपछि ट्याक्सी चालक तामाङले ट्याक्सीको पछाडी एउटा झोला छुटेको जानकारी दिए । त्यसपछि हराएको सामान प्याट्रिकलाई महानगरीय ट्राफिक प्रहरी विभाग दरबारमार्गबाट एक घण्टा भित्रै फिर्ता गरियो । हिलेको भनाइमा उनले स्वयम्भु गुम्बामा रहेका १४ नेपाली बालबालिकाको पठनपाठन लगायतका जिम्मेवारी लिँदै आएका छन् । त्यसैको सिलसिलामा उनी बर्षमा २ पटक नेपाल आउने गरेका छन् ।